काठमाडौं – साहित्यकार जितेन्द्र रसिक को १८औँ कृति बाल विज्ञान उपन्यास “साइबोर्ग” सार्वजनिक भएको छ।
उपन्यासको लोकार्पण कार्यक्रममा इर्टनल पब्लिकेसन का प्रकाशक यमुना पराजुली तथा एजुकेशन पब्लिसिङ बुक हाउस, जमल काठमाडौंका प्रतिनिधि तथा व्यवस्थापकहरू शीतल सुकुभटु, रमण राउट र भजन राउट लगायतले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभयो।
“साइबोर्ग” विज्ञान कथामा आधारित बाल उपन्यास हो। प्रकाशक यमुना पराजुलीका अनुसार, उपन्यासमा विज्ञानको तीव्र उन्नतिले भविष्यमा कस्तो अवस्था सिर्जना गर्न सक्छ भन्ने सुन्दर परिकल्पना प्रस्तुत गरिएको छ।
विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स (AI) को चरम विकासले भविष्यमा मानव समुदायमाथि नै चुनौती खडा गर्ने सम्भावनालाई उपन्यासले रोचक ढंगले उठाएको छ। “के विज्ञानले मानिसलाई कहिल्यै नमर्ने बनाउन सक्छ?” भन्ने जिज्ञासापूर्ण प्रश्नलाई पनि पुस्तकले तर्कसंगत ढंगले प्रस्तुत गरेको बताइएको छ।
लेखक रसिकका अनुसार, बालबालिका तथा किशोरकिशोरीमा कल्पनाशक्ति, जिज्ञासा र तर्कशीलता अभिवृद्धि गर्न यो पुस्तक प्रभावकारी हुनेछ।
बाल उपन्यास “साइबोर्ग” को मूल्य २५० रुपैयाँ निर्धारण गरिएको छ। लोकार्पणसँगै पुस्तक एजुकेशनल पब्लिसिङ बुक हाउस, रत्नपुस्तक भण्डार लगायतका पुस्तक पसलमार्फत बिक्री सुरु भएको छ। इर्टनल पब्लिकेसन्स र एजुकेशनल पब्लिसिङ बुक हाउसले सहकार्यमा पुस्तक प्रकाशन गरेका हुन्।
जितेन्द्र रसिकका यसअघि बाल साहित्यतर्फ “एलियनको पृथ्वी भ्रमण” (बालकथासङ्ग्रह), “हावा फल्ने रूख” (सचित्र बालकथा), “एङ्ग्री बर्ड” (बालकथा सङ्ग्रह), “बेलबहादुरसँग बिहे” (सचित्र बालकथा, तीन संस्करण), “गुलेली” (बालकथासङ्ग्रह), “हनुमानको करामत” (सचित्र बालकथा) र “जादुगर एआई” (सचित्र बालकथा) प्रकाशित भइसकेका छन्।
उपन्यास, गजल, संस्कृति र जीवनी विधामा उनका ११ कृति प्रकाशित छन् भने करिब एक दर्जन गीत–गजल रेकर्ड भइसकेका छन्। उनी नेपालभाषा, संस्कृति र साहित्य क्षेत्रमा पनि सक्रिय रहँदै आएका छन्।







































