झलनाथलाई मतदाताको आरोप : भारतले भूमि मिच्दा चुँइक्क पनि बोल्न नसक्ने !

432

फिक्कल – इलामको सूर्योदय नगरपालिकाका बुद्धिकाजी लेप्चाले केही दिन अगाडि फेसबुकमा एउटा स्टाटस लेखे, एमाले नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई लक्षित गरी ।

स्टाटसमा उनले इलामको छब्बीसे बजारमा नेपाली भूमि भारतीय पक्षले मिचेको विषय उठाएका छन् । उनले भारतीय पक्षले विद्यालय र घर मिचेको विषय उठाएका छन् । र सँगै भनेका छन्, इलाम क्षेत्र नम्बर १ बाट पटक पटक निर्वाचित भइ देशकै कार्यकारी प्रमुख (प्रधानमन्त्री) बन्दा समेत झलनाथ खनालले सो विषयमा मुख पनि खोल्न सकेनन् ।

एमाले नेता खना यसपटक पनि इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । उनीसँग नेपाली कांग्रेसबाट भुपेन्द्र कट्टेल चुनावी प्रतिस्पर्धामा छन् ।

राजनीतिक प्रभावका हिसावले कांग्रेसका कट्टेललाई मतदाताले झलनाथ खनालभन्दा निकै कमजोर उम्मेदवारका रुपमा हेरिरहेका छन् । मतदाता स्वयं नै कट्टेल कमजोर मान्छन् । नेपाली कांग्रेसमा देउवा पक्षकै भएकाले टिकट पाएको भन्दै पार्टी भित्रैबाट पनि कट्टेललाई अप्ठेरो रहेको त्यहाँका मतदाता बताउँछन् ।

त्यसैले होला एमाले र माओवादीको वाम गठवन्धनका संयुक्त उम्मेदवार खनाल इलाम–१ मा आफ्नो प्रतिस्पर्धी नै नभएको बताउँदै आएका छन् । तर मतदाताको बुझाइमा खनाल पनि ‘बलिया’ उम्मेदवार भने होइनन् ।

इलामको सूर्योदय नगरपालिका–४ को छब्बीसे बजारमा भारतीय पक्षले सीमा मिचेर निर्माण गरेको भवन । तस्बिरः बुद्धिकाजी लेप्चा

इलामको फिक्कल बजारमा भेटिएका बाबुकाजी राईले एमाले नेता खनालले सीमा मिचिँदा केही नबोलेको गुनासो गरे । पशुपतिनगरका बासिन्दा उनी वर्षौंदेखि भारतीय पक्षले सीमा मिचेको पीडा हेरेर बस्न बाध्य छन् । तर सबभन्दा धेरै पीडा उनलाई तब हुन्छ, जब उनले मत हालेर चुनिएका नेताले सीमा मिचिएको बारे केही बोल्दैनन् ।

‘भारतीय पक्षले दशगजा मितेर गुम्बा, स्कूल बनाइरहेको छ,’ उनले भने, ‘हामीले नेताहरुलाई भन्यौं पनि । तर उहाँहरुले चुँसम्म पनि बोल्नु भएन ।’

करिब ७ वर्ष अगाडि इलामको छब्बिसे बजारमा भारतीय पक्षले सीमा मिचेर विद्यालय र केही घर बनायो । स्थनीयले केही समय विरोध पनि गरे । तर नेताहरुले केही नबोल्दा स्थानीय विरोधले कुनै अर्थ राखेन । अहिले पनि भारतीय पक्षले सीमा मिचेर निर्माण गरेका संरचनाहरु त्यहिँ छन् ।

झलनाथ खनाल प्रधानमन्त्री हुँदा नै भारतीय पक्षले सीमा मिचेको विषयमा स्थानीयबाट धेरै डेलिगेसन गए । तर त्यसको सुनुवाइ नभएको उनीहरु बताउँछन् ।

आश्वासन दिने काम नगर्ने

झलनाथ खनालले २०७० सालको चुनावमा भोट माग्दा पशुपतिनगरमा अध्यागमन कार्यालय खोल्ने आश्वासन दिएका थिए । तर अहिलेसम्म त्यसको सामान्य प्रक्रिया समेत अगाडि बढेको छैन ।

माइजोगमाई र सन्दकपुर गाउँपालिकामा यातायातको समस्या छ । आफूले निर्वाचित भएमा सबै ठाउँमा सडकले जोड्ने भन्दै खनालले यसअघि भोट मागेका थिए । तर ती आश्वासन पनि पूरा भएनन् ।
खनालको निर्वाचन क्षेत्रमा अर्को समस्या हो चिया मजदुरको । मजदुरले काम गरेअनुसार ज्याला नपाएको, साना चिया किसानले उत्पादन गरेको सामग्री बिक्री गर्न नपाएको समस्या सुनाउँछन् ।

खनालले यसअघि चिया मजदुरलाई दैनिक न्यूनतम ६ सय रुपैयाँ ज्यालाको व्यवस्था गर्ने भनेर आश्वासन बाँडेका थिए । तर अहिले मजदुरहरु दैनिक २४१ रुपैयाँमा काम गर्न बाध्य छन् ।

यस्तै आफ्नै सानो चिया बगान भएको र १ करोडसम्म लगानी गरेर चिया उद्योग खोलेका किसान बजार नपाएर मर्कामा परेका छन् । यहाँका साना किसानले उत्पादन गर्ने चियाको मुख्य बजार भनेको भारत हो । तर उत्पादित चिया भारतसम्म निर्यात गर्न धेरै समस्या छ ।

इलाम क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार भुपेन्द्र कट्टेल

भारतीय व्यापारीले भारतको केन्द्रीय खाध्य प्रयोगशाला (सीएफएल)मा परीक्षण नगरी चिया किन्दैनन् । एकपटक सो ल्यावमा परीक्षण गराउँदा किसानले ८० हजार रुपैयाँ तिर्नुपर्छ । र, परीक्षणका लागि मात्रै भनेर करिब ९० किलो चिया भारत सरकारलाई बुझाउनु पर्छ । जसकारण उनीहरु मर्कामा परेका छन् ।

नेपालमै परीक्षण ल्याव खोल्नुपर्ने तथा भारतीय पक्षसँग वार्ता गरी चिया निर्यातलाई सहज बनाइदिनुपर्ने साना किसानका माग छन् । नेताहरुले चुनावका बेला सबै माग पूरा हुने आश्वासन दिन्छन् । तर चुनाव जितेर गएपछि कुरा नै नसुन्ने उनीहरुले बताए ।

भारतीय बजारमा निर्यात गर्न असहज भएपछि यहाँका साना किसानहरु सस्तो मुल्यमा आन्तरिक उद्योगलाई नै चिया बेच्न बाध्य छन् । जसबाट उनीहरु मेहनत र लगानी गरेको प्रतिफल समेत पाउँदैनन् ।