डा.देवकोटालाई जन्मथलोको मायाँ

353

काठमाडौं ।
‘जननी जन्मभूश्चि स्वर्गादपि गरियसी’
स्वदेश या विदेशमा जहाँ रहेपनि सकभर मानिसले आफु जन्मेको घर र वाल्यकाल विताएको आँगनलाई कदापि विर्सिन सक्दैन भन्ने कुराको पछिल्लो उदाहरण डा.उपेन्द्र देवकोटाले सिद्ध गरेका छन् । दुःख पर्दा आमा गुहार्नु र जन्मथलोको स्मरण गर्नु प्रायः सबैको जीवनमा घटने घटना हुन ।
आफैंले स्थापना गरेको न्युरो अस्पताल बाँसबारीमा गत बैशाखदेखि क्यान्सरको उपचार गराइराखेका डा.देवकोटालाई उनकै चाहना बमोजिम उनकोे जन्मस्थल गोरखाको पालुंगटार नगरपालिका ४ स्थित बोहोरा गाउँ लगिएको थियो ।
अन्तिम समयमा आफु जन्मेको गोरखाको घर र वाल्यकाल वितेको ठाउँ गएर हेर्ने धोको पुरा गर्ने र पण्डीतगाउँमा रहेको सिस्ने धाराको पानी पिउने इच्छा राखेपछि डा.देवकोटालाई शनिबार विहान हेलिकोप्टर चार्टर गरि बाँसबारीस्थित अस्पतालबाट अक्सिजन लगाएरै उनको जन्मथलो पुर्याइएको थियो । डा.देवकोटाको साथमा उनकी धर्मपत्नि मधु र तीनैजना छोरीहरु संगै गएका थिए ।
आफ्नो जन्मघरको पींढीमा करीव पौने घण्टा विताएर सिस्नेधाराको पानी पिएपछि उनलाई सोही हेलिकोप्टरबाट पुनः बाँसबारीस्थित अस्पतालमा ल्याएर सिधै सघन उपचार कक्षमा लगिएको थियो ।
घरभन्दा करीव एकसय मिटर पर हेलिप्याड बनाइएको थियो । उनको घरबाट ५ मिनेटको दुरीमा रहेको सिस्ने धाराबाट ल्याएको पानी डा.देवकोटाकी छोरी सिलुले पियाएकी थिइन ।
क्यान्सरको उपचार गराईराखेका वरिष्ठ नशारोग विशेषज्ञ÷शल्यचिकित्सक डा.उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था शनिबार साँझसम्म स्थीर रहेको अस्पतालले जनाएको छ ।
सामाजिक सञ्जालमा शुक्रबार रातीदेखि नै उनको निधनको अफवाह फैलाइएकोप्रति अस्पताल र डा.देवकोटाको परिवारले दुख व्यक्त गर्दै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भइरहेको जनाएको थियो ।

 

अस्पतालको शय्यामै डा.देवकोटालाई उपाधि
काठमाडौं
नेपालका नशा शल्यचिकित्सकहरुको संस्था ‘नेप्लिज न्युरो सर्जन सोसाइटीले वरिष्ठ नशारोग विशेषज्ञ डा.उपेन्द्र देवकोटालाई संस्थाको मानार्थ अध्यक्ष उपाधि प्रदान गरेको छ ।
डा.देवकोटाकै अस्पताल नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एप्लाइड साइन्सेस (न्युरो अस्पताल) बाँसबारीस्थित सघन उपचारकक्षमा उपचाररत उनलाई अस्पतालमा गई सोसाइटीले शनिबार मानार्थ अध्यक्षको उपाधिको प्रमाणपत्र प्रदान गरेको हो ।
सोसाइटीका अध्यक्ष प्रा.डा.मोहनराज शर्माले डा.देवकोटालाई मानार्थ अध्यक्षको उपाधि सहितको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । त्यतिखेर डा.देवकोटाले दोहोरो संवाद गरेको अध्यक्ष डा. शर्माले बताए ।
सोसाइटीका उपाध्यक्ष डा.कृष्ण शर्मा, सचिव डा.प्रवीण श्रेष्ठ, डा गोपाल सेढाईंलगायतका नशा शल्यचिकित्सक सहितको टोली उपाधि हस्तान्तरण गर्न अस्पताल गएका थिए ।