Home निर्वाचन ताथलीमा चुनावी भेला : मादल चिह्नमा छाप लगाउन अनुरोध
भक्तपुर । निर्वाचन परिचालन समिति ताथलीको आयोजनामा शुक्रबार ताथलीमा चुनावी भेला भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको तल्लो राउत टोलमा सो चुनावी भेला भएको हो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव एवं भक्तपुर क्षेत्र नं. १ प्रतिनीधिसभाका उम्मेदवार प्रेम सुवालले सम्बोधन गर्दै जनताको पक्षमा काम गर्ने उम्मेदवारहरुलाई मत दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा उहाँले नेपाल मजदुर किसान पार्टीले स्थापनाकालदेखि न्र देश र जनताको पक्षमा काम गरिरहेको आगामी दिनमा पनि देश हितको लागि काम गर्न आफूहरु प्रतिवद्ध भएको चर्चा गर्नुभयो । ‘ नेपाल मजदुर किसान पार्टी सँधै प्रतिपक्षमा रहे पनि देश र जनताको हितका लागि काम गर्न तत्पर छ, त्यही तत्परताले भक्तपुरको समृद्धि भएको हो ।’ उहाँले भन्नुभयो ।
सो क्रममा उहाँले नेपाली काँग्रेस र राप्रपाबीच भएको लोकतान्त्रिक गठबन्धन र नेकपा एमाले र माओवादी केन्द्रबीचको गठबन्धनले देशलाई उँभोगतिमा नलग्ने बताउँदै ती दलहरुलाई हराउनका लागि नेपाल मजदुर किसान पार्टीको चुनाव चिह्न मादलमा छाप लगाउनु जरुरी रहेकोमा जोड दिनुभयो । ‘बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनजस्ता ठूला दलको गठबन्धन देशको आवश्यकतामा नभइकन भारतीय विस्तारवादको स्वार्थमा भएका गठबन्धन हुन्, यी दुबै गठनबन्धन देशहित विपरीत छ ।’ उहाँले भन्नुभयो ।
ठूला दल भए पनि विचारले निर्देशित नहुँदा देशमा गुण्डागर्दी बढेको, अराजनीतिक गतिविधिले तीब्रता पाएको र देशलाई नै भड्खालोमा पुर्याएको सन्दर्भ उल्लेख गर्दै उहाँले ठूला दललाई पाखा लगाउने अवसरका रुपमा चुनावलाई उपयोग गर्न मतदातासँग अनुरोध गर्नुभयो ।
कार्यक्रममा चाँगुनारायण नपा ९ ताथलीका वडाध्यक्ष गणेश त्यातले चाँगुनारायण नपामा एमालेबाट मेयर र उपमेयर बनेका जनप्रतिनीधिहरुले डाडुपन्यू आफ्नै हातमा भएको मौका छोपी ऐनविपरीत काम गरेको जानकारी दिनुभयो ।
‘जनप्रतिनीधिहरुले आफ्नो तलब आफै निर्धारण गरेका छन्, सेवा र सुविधा आफै तोकेका छन्, पर्यटक शुल्कमा पनि नगरपालिकाको स्वार्थभन्दा जनप्रतिनीधिको स्वार्थ हावी भएको छ ।’ चाँगुनारायण नगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउने वडाध्यक्षको प्रस्तावलाई मेयरले अस्वीकार गरेको जनाउँदै उहाँले भन्नुभयो ।
उहाँले चुनावलाई जनताको सेवा गर्ने व्यक्ति र दल चिन्ने अवसरका रुपमा लिनु जरुरी रहेको उल्लेख गर्दै मादल चिह्नमा छाप लगाउन राउत टोलका स्थानीयसँग आग्रह गर्नुभयो ।
वडा सदस्य कमला गिरीले एमालेले भ्रम छरेर जनता भड्काउने काम गरिरहेकोले जनता सचेत हुनुपर्ने बताउनुभएको सो कार्यक्रम भेला आयोजक समितिका संयोजक नारायणभक्त न्हेमाफूकीको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा तत्कालिन ताथली गाविसका उपाध्यक्ष एवं पूर्व जनप्रतिनीधि एकबहादुर खत्री र स्थानीय हरिसुन्दर छुकांले पनि बोल्नुभएको थियो ।
Related