तीन पुस्ताका फोटो भक्तपुरको एकै स्थानमा प्रर्दशनी हुँदै

99

भक्तपुर । भक्तपुरमा एउटै परिवारको तीन पुस्ताले खिचेका तस्बिर प्रदर्शनी हुने भएकाे छ । भक्तपुरको दरबार क्षेत्रमा फागुन १८ र १९ गते साे तस्बिर प्रदर्शनी हुने भएको हाे । साे प्रदर्शनीकाे नाम व्रिलियन्त भक्तपुर फाेटाे प्रदर्शनी राखिएको छ ।
भक्तपुर पर्यटनको विकास समितिले गर्न लागेकाे उक्त प्रदर्शनीमा भक्तपुरका पायाेनियर फाेटाेग्राफर स्व. बद्रीप्रसाद बनेपाली, उनका छाेरा केदार बनेपाली र नाति किसन तथा नातिनी सुनी बनेपाली गरि तीन पुस्ताले खिचेका तस्वीरहरू रहने आयाेजक समितिले जनाएकाे छ ।
८० वर्षअघिकाे भक्तपुर चिनाउने प्रयास गरेकाे बताउँदै फाेटाेग्राफर केदार बनेपालीले आफू १२ वर्षदेखि नै फाेटाेग्राफीमा लागेकाे बताए । दत्तात्रय स्टुडियाेका सञ्चालक समेत रहेका उनले प्रदर्शनीमा तीन पुस्ताले खिचेका ६ दर्जन तस्वीर रहने जानकारी दिए ।
आयाेजक समितिका अध्यक्ष दीपेशराज शर्माले बनेपाली परिवारको तीन पुस्ताले खिचेका फरकफरक कालखण्डकाे भक्तपुरको फाेटाेहरूले भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेका ऐतिहासिक तथा पुरातात्त्विक महत्वका सम्पदा सँगसँगै यहाँकाे परिवर्तित जीवनशैलीमा आएको परिवर्तनलाई देखाउन खाेजेकाे बताए ।
उनले प्रदर्शनीमा केही अहिले अस्तित्वमा समेत नरहेका सम्पदाको तस्बिर समेत समावेश हुने जानकारी दिँदै प्रदर्शनीमा राखिएका सम्पदाको परिवर्तित स्वरूपबारे नयाँ पुस्तालाई जानकारी मिल्ने उनले बताए ।
प्रदर्शनीमा स्व. बनेपालीले खिचेका ८० वर्षअघिकाे, केदारप्रसाद बनेपालीले खिचेका ५० वर्षअघिकाे, सुनी बनेपालीले ३० वर्षअघिकाे र किसन बनेपालीकाे २०- ३० वर्षअघि खिचेका तस्बिरहरू प्रदर्शनीमा रहने आयाेजक समितिका रामसुन्दर भेलेले बताए ।