दुर्लभ जीव सालकको खपटासहित युवा पक्राउ

396

भक्तपुर । दुर्लभ जीव सालकको खपटासहित महानगरीय प्रहरी परिसर भक्तपुरले एक युवा पक्राउ गरेको छ । दुर्लभ सालकको खपटासहित एक युवकलाई बिहीबार नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

खपटा बेचविखनको लागि हिँडिरहेको अवस्थामा रामेछाप सुनापाती गाउँपालिका ५ बेथान घर भएर भक्तपुर नगरपालिका १० महालक्ष्मीस्थान बस्ने २२ वर्षीय रामलाल तामाङलाई पक्राउ गरिएको हो ।

खपटा सिंगो सालक मारेपछि काढिएको जस्तो देखिन्छ । खपटासँगै खुट्टाका नंग्रासमेत छन् ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले तामाङलाई भक्तपुरको सूर्यविनायक नगरपालिका ६ सूर्यविनायकबाट ६४० ग्राम सालकको खपटासहित पक्राउ गरिएको बताए ।

घटनाबारे थप अनुसन्धान कार्य भइरहेको परिसरले जनाएको छ।