भक्तपुर : दुर्लभ साना स्तनधारी जनावरको संरक्षण गर्न नागरिक अन्वेषक तयार पार्ने अभियान अघि बढाइएको छ। वन तथा भूसंरक्षण मन्त्रालयसँगको सहकार्यमा साना स्तनधारी संरक्षण तथा अनुसन्धान फाउन्डेसनले दुर्लभ साना स्तनधारी जनावरको संरक्षणको लागि नागरिक अन्वेषक तयार गर्ने अभियान अघि बढाएको हो।
फाउन्डेसनले भक्तपुरको सूर्यविनायक नगरपालिका ८ र ९ स्थित करिब तीन सय पचास हेक्टर वन क्षेत्रका सर्वसाधारणलाई सालक संरक्षण गर्ने नागरिक अन्वेषक बनाउन क्षमता अभिवृद्धि तालिम दिएर उक्त अभियान सुरु गरेको हो ।
सूर्यविनायक नपाको उक्त वन क्षेत्र दुर्लभ सालकको वासस्थान मानिन्छ। उक्त वन क्षेत्र सामुदायिक वनभित्र रहेकाले सामुदायिक वनका उपभोक्ताहरुलाई नागरिक अन्वेषक बनाउन लागिएको फाउन्डेसनकी अध्यक्ष तुलसीलक्ष्मी सुवाल बताउँछन् ।
उनका अनुसार उक्त वन क्षेत्रभित्र पर्ने सातवटा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुलाई उक्त तालिम दिइएको हो। दुर्लभ सालकसम्बन्धी अध्ययन अनुसन्धानपछि फाउन्डेसन नै स्थापना गरेकी उनले सालकसँग प्रत्यक्ष सम्बन्ध हुने सर्वसाधारणलाई नै त्यसको संरक्षणमा जिम्मेवार र उत्तरदायी बनाउन उक्त अभियान अघि बढाएको बताइन्।
‘सबै ठाउँमा सरकार आफै पुग्न सक्दैन तर सरकारले आफ्नो पहुँच पुर्याउन सक्छु, उनले भनिन्, ‘सरकारको पहुँच पुर्याउने नीतिअनुसार नै दुलर्भ सालक संरक्षण गर्न नागरिक अन्वेषक बनाउने अभियान अघि बढाइएको हो।ु
उनका अनुसार यस अभियानअन्तर्गत स्थानीयलाई दुर्लभ सालकलगायत अन्य जीवजन्तु तथा विरुवाको परिचय, त्यसको महत्व र पर्यावरणमा त्यसको आवश्यकता, तिनीहरुको बासस्थान, कहाँ कहाँ पाइन्छन् भन्नेबारे पूर्ण जानकारी दिइएको छ।
त्यस्तै तिनीहरुको संरक्षणको आवश्यकता, तिनीहरुका दुश्मन एवं तिनीहरुको जीवनका खतरा एवं चुनौतीबारे स्थानीयलाई जानकार बनाएको सालक अनुसन्धाता सुवालले बताइन्।
‘दुलर्भ जन्तुजनावर तथा विरुवाको महत्व र आवश्यकताबारे सर्वसाधारण जानकार भएपछि उहाँहरु त्यसको संरक्षण र बचाउमा अवश्य लाग्नेछन्’, उनले भनिन्।
उनले उहाँहरुलाई ती जीवजन्तुको पहिचान र संरक्षण गर्ने प्रविधिको ज्ञान र सीपसमेत उपलब्ध गराइएको जानकारी दिइन्। जसअनुसार क्यामरा, जीपीएस कोडिङ मेसिन, कम्पासलगायतका आवश्यक उपकरण चलाउन र त्यसको सेटिङ गर्न सिकाइएको थियो।
‘सर्वसाधारणलाई क्यामरा ट्रापिङ र जीपीएस कोडिङको सीप दिइसकेका छौुं, फाउन्डेसनका निर्देशक सञ्जन थापाले भने, ‘उक्त सीप आउँदो फागुन ५ गते जंगलमै गएर लागू गराउनेछौं।त्यस्तै १५ दिने क्यामरा ट्रापिङ गराउने छौं।ु
यसले दुर्लभ सालकको संख्यासमेत एकीन हुने उनको भनाइ छ।उनका अनुसार काठमाडौंको चन्द्रागिरि र ललितपुरको गोदावरी वन क्षेत्रमा पनि दुर्लभ सालकलगायतको वन्यजन्तु संरक्षणको लागि नागरिक अन्वेषक तयार गरिनेछन्।
उक्त वन क्षेत्रस्थित तौडोलछाप सामुदायिक वनमा मात्रै हालसम्म नौवटा दुलर्भ सालक छोडिइसकेको छ। पहिलेदेखि सालक पाइँदै आएको उक्त वनलाई सालक संरक्षित क्षेत्र घोषणा गराउन सामुदायिक वन उपभोक्ता समिति लागिपर्दै आएको छ।
सामुदायिक वनका अध्यक्ष महेश्वर बोहोराले जिल्ला वनमार्फत वन मन्त्रालयमा तौडोलछाप सामुदायिक वनलाई सालक संरक्षण क्षेत्र घोषणा गर्न माग गर्दै आएको बताए।
उनले नागरिक अन्वेषक अभियानले आफूहरुको माग पूरा हुने विश्वास बढेको सुनाए। सरकारले उक्त वन क्षेत्रसँगै सूर्यविनायक वन क्षेत्रमा राष्ट्रिय प्राणी उद्यान बनाउँदैछ।
प्राणी उद्यान पुग्ने सर्वसाधारणलाई त्यस वरपरका वन क्षेत्रमा समेत पर्या पर्यटनको विकास गर्न तौडोलछाप वनलाई केन्द्रविन्दु मानेर तीनसय पचास हेक्टर वन क्षेत्रलाई सालक संरक्षित क्षेत्र घोषणा गर्न लागिएको जिल्ला वन कार्यायलले जनाएको छ।







































