पैसाको कुरा नमिल्दा पोल खुल्यो
भक्तपुर । मानसिक बिरामी रहेका एक युवकलाई पैसाको प्रलोभन देखाएर झुक्याएर मिर्गौला निकालिएको खुल्न आएको छ । नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा काभ्रे, नालाका कुमार गिरीको मिर्गौला निकालिएको खुल्न आएको हो ।
गिरी आफ्नो छोरो भएको भन्दै नक्कली कागजपत्र बनाएर गिरीको मिर्गौला निकालेर मोरङका थर्कबहादुर बस्नेतलाई प्रत्यारोपण गरिएको थियो तर पैसामा हाल सम्म पनि कुरा नमिलेपछि उक्त घटना बहिरिएको छ ।
पीडितका आफन्त प्रह्लाद गिरीका अनुसार वैशाख १० गते गिरीको मिर्गौला निकालेर बस्नेतलाई प्रत्यारोपण गरिएको थियो। गिरीलाई बस्नेतका छोरा आशिष भएको भन्दै नाता प्रमाणिकारणका नक्कली कागजपत्र बनाएर मिर्गौला प्रत्यारोपण गरिएको हो । आशिष हाल फरार रहेको प्रहरीले जनाएको छ ।
पीडित गिरीका गाउँले लालचन्द्र गिरी र डिल्लुराम गिरीसँग आशिषको चिनजान थियो । सोही आधारमा उनले आफ्नो बुबालाई मिर्गौला दिने व्यक्ति खोजी गरेका थिए । उनीहरुले आफ्नो गाउँ सुस्त मनस्थितिका व्यक्ति रहेका उसलाई आर्थिक प्रभावमा पारेर मिर्गौला निकाल्न सकिने आश्वासन दिएका थिए ।
सोही अनुसार २ महिनासम्म गिरीलाई पालन–पोषण गरेर पत्थरीको समस्या छ भन्दै त्यसको उपचारका नाममा अस्पताल भर्ना गरेर मिर्गौला निकालिएको पीडित पक्षको भनाई छ । नेपालको कानुन अनुसार नजिकका आफन्तबाहेक अन्यले मिर्गौला दिन मिल्दैन । गिरी अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई नागार्जुनस्थित आफन्तको घर नजिकै लगेर केही दिनअघि छाडिएको थियो । आफन्तले पेट चिरिएको देखेपछि सोधपुछ गर्दा मिर्गौला निकालिएको खुलेको हो ।
जसअनुसार शुक्रबार पीडितका आफन्तले भक्तपुर प्रहरीमा उजुरी गरेपछि मिर्गौला प्रत्यारोपण गरिएका बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न थप व्यक्तिको खोजी भइरहेको भक्तपुर परिसरका डिएसपी कृष्ण प्रसाईंले बताए । पीडित पक्षले घटनामा अस्पतालको समेत मिलेमतो रहेको आशंका गरेका छन् ।







































