नाका खुलेपछि किनमेल गर्न गोर्खालीहरु तिब्बतमा

379

गोरखाको सामागाउँसँग जोडिएको तिब्बती नाका खुलेपछि उत्तरी गोरखाका वासिन्दा किनमेलका लागी तिब्बती बजार जान थालेका छन् ।चिनियाँ सरकारले गत शुक्रबारदेखि रुइला नाका खुला गरेपछि उत्तरी गोरखावासी वर्षभरीलाई चाहिने सामान किन्न तिब्बती बजार जान थालेका हुन् ।

वर्षमा एकपटक मात्र खुल्ने यो नाकामा ल्हो, लि, सामागाँउ, साम्दो लगायतका गाउँबाट किनमेलका लागि तिब्बत जाने गरेका छन् । चुमनुब्री गाउँपालिका–१ सामागाउँका वडासदस्य मिङ्मार लामाका अनुसार गाउँलेहरू चौंरी, खच्चड र झोपा लिएर किनमेलका लागि तिब्बतको कोङ्दाङ बजार गएका छन् । सो क्षेत्रमा मुख्य बालीका रूपमा आलु, करु उत्पादन हुन्छ ।

उत्पादित खाद्यान्नले औसतमा ३ महिनामात्रै खान पुग्ने भएकाले वर्षभरलाई चाहिने आवश्यक खाद्यान्न जोहो गर्न पनि तिब्बती बजारको भर पर्नुपर्छ । तिब्बती बजार गएकाहरूले घ्यु, मैदा, करुको पिठो, चिनी, चियापत्ती, तेल, नुन, चामलजस्ता दैनिक उपभोग्य खाद्यान्न ल्याउने गरेका छन् ।

मनासलु पदमार्गसमेत पर्ने सो क्षेत्रका व्यापारीहरूले भने व्यापारिक प्रयोजनका लागि खाद्यान्नसहित जुत्ताचप्पल, कम्बललगायतका सामग्रीहरू खरिद गरी ल्याउने गर्दछन् । गोरखामा हाम्रो नजिकको बजार भनेको आरुघाट हो । त्यहाँबाट यहाँसम्म सडक नभएकाले खच्चडमा सामान बोकाएर ल्याउनुपर्छ, १ किलो सामान सामागाउँसम्म ल्याउन ढुवानी खर्चमात्रै १ सय ५ रुपैयाँ लाग्छ ।

त्यसैले तिब्बती नाका खुलेको बेला वर्षभरलाई चाहिने सामानको जोहो गर्नुपर्छ । तिब्बती बजारमा र नेपालमा खाद्यान्नको मूल्य उस्तै परे पनि तिब्बतबाट ढुवानी खर्च सस्तो पर्ने गर्दछ ।

किनमेलका लागी कोङ्दोङ पुगेका गोर्खालीले प्रतिव्यक्ति २०÷२५ हजारदेखि २ लाखदेखि अढाई लाख रुपैयाँसम्मको सामान किनमेल गर्छन् । त्यसैले धेरै नोक्सानी पनि बेहोर्नुपर्ने किनमेलमा जानेहरू बताउँछन् । बाबुबाजेको पालादेखि नै किनमेलका लागी तिब्बती बजारको भर पर्नुपरेको सामागाउँवासी बताउँछन् ।

“पहिले बाजेहरूको पालामा यहाँबाट करु, जडिबुटी लगेर बेच्ने गरिन्थ्थ्यो रे, त्यही पैसाले सामान किनेर ल्याउँथे,” स्थानीय भन्छन्, “तर, हाम्रो पालामा तिब्बती बजारमा बेच्ने कुरा केही पनि छैन, नगदनै लिएर जानुपर्छ सामान किन्न ।”

तिब्बतको कोङ्दाङ बजार सामागाउँबाट एक दिनमा नै पुगिन्छ । तर सामान ल्याउन याक, घोडा, झोपासहित जाँदा भने दुई दिन लाग्छ । तिब्बतको सीमा सुरु भएदेखि नै सडकमा गाडी गुड्दछ । तर, नेपालपट्टी जोखिम मोलेर भिरपाखा गर्दै जानुपर्ने अवस्था छ ।

वर्षभरलाई खानेकुरोको जोहो गर्न तिब्बती बजारको भर पर्नुपरेकोले उनीहरूले आफ्नै गाउँमा सर्वसुलभ रूपमा दैनिक उपभोग्य समान उपलब्ध गराउन वा तिब्बती नाका बाह्रै महिना खोल्ने वातावरण बनाउन माग गरेका छन् । नेपाल र चीन सरकारबीच गोरखाको सामागाउँ र छेकम्पारको नाका बाहै्र महिना खोल्ने दुई वर्षअघि नै निर्णय भएको हो ।