नेपालको भूकम्पीय इतिहास : यी हुन् १२१८ यताका १० ठूला भूकम्प, राजाको पनि ज्यान गएको थियो !

160

– १२१८ को भूकम्प

वि.सं. १२१८ असार शुक्ल तृतीयाको दिन सोमबार करिब ७.७ रेक्टर स्केलको भूकम्प गएको  विज्ञहरूको भनाइ छ । यो भूकम्पबाट भएको क्षति र असरका बारेमा त्यति जानकारी प्राप्त भएको छैन । तर, सो भूकम्पमा परी तत्कालीन राजा अभय मल्लको निधन भएको थियो । यो भूकम्पले काठमाडौँ उपत्यकाका एकतिहाई जनसङ्ख्यालाई प्रभाव पारेको थियो । स्थानीय बासिन्दाले १५ दिनदेखि १ महिनासम्म शहर छोड्नुपरेको इतिहास छ ।

– १३१६ को भूकम्प

यस्तै रेकर्ड गरिएकामध्ये दोस्रो ठूलो भूकम्प वि.सं. १३१६को हो । यो भूकम्पले पनि अत्यासलाग्दो ढङ्गले क्षति पुर्‍याएको अनुमान छ ।  नेपालमा रेकर्ड गरिएकामध्ये यो दोस्रो ठूलो भूकम्प हो भनिए पनि कति रेक्टर स्केलको आयो, कति मानवीय र जनधनको क्षति पुर्यायो भन्ने यकिन जानकारी प्राप्त हुन सकेको छैन ।  सो भूकम्पका कारण मुलुकमा महामारीका साथै अनिकाल परेको थियो ।

– १४६५ को भूकम्प

विक्रम सम्बत् १४६५ मा नेपालमा अर्काे विनाशकारी भूकम्प गयो । सो भूकम्पको कारण रातो मच्छिन्द्रनाथको मन्दिरलगायत अन्य दर्जनौं मन्दिर ढले । जमिनमा ठूलठूला धाँजा फाटे, जसले गर्दा पानीका मुहानसमेत पुराना स्थानमा सुक्ने र नयाँ स्थानमा पलाए । यो भूकम्पले सयौं मानिस तथा पशुको ज्यान जानुका साथै हजारौं घर भत्किए भन्ने इतिहास भएपनि कति मानिस मरे, कति म्याग्निच्युटको भूकम्प थियो भन्ने जस्ता धेरै जानकारी प्राप्त हुन सकेको छैन ।

– २४ घण्टामा २१ पटक भूकम्पको धक्का

नेपालमा अन्य थुप्रैपटक भूकम्प गएको भनाइ रहेको भए तापनि प्रामाणिक तिथिमिति नभेटिएकामध्ये वि.सं. १७३७ सालको राति भूकम्प गएको इतिहासविद्को भनाइ छ । सो भूकम्पले पनि ठूलो क्षति पुर्याएको भनिए पनि के कस्तो क्षति पुर्यायो र कस्तो असर परेको थियो भन्ने यकिन जानकारी छैन । विक्रम सम्बत १८२४ असार १ गते एकै दिनमा २१ पटक भूकम्पको धक्का महसूस गरियो । यसले के कति धनजनको क्षति पुर्यायो भन्ने यकिन अभिलेख छैन । तर, २४ घन्टाभित्रमा २१ पटक भूकम्प जाँदा ठूलै क्षति भएको अनुमान गरिएको छ ।

विक्रम सम्बत् १८६७ जेठ १० गते गएको भूकम्पबाट काठमाडौं र ललितपुरमा ठूलो मानवीय क्षति नभएको अभिलेख छ । तर मठमन्दिर भने प्रशस्त मात्रामा भत्किए । भक्तपुरमा चाहिं यस भूकम्पले निकै मानिसको ज्यान लिएको थियो । यस्तै वि.सं. १८८० यमपञ्चकका दिन एकै स्थानमा बसेका सातवटा ग्रह छुट्टिंदा यो भूकम्प गएको थियो । जानकारका भनाइमा एकैदिनमा १७ पटक भूकम्प गएको थियो । यो विपत्तिले पनि निकै क्षति पुर्यायो । उल्लेखित भूकम्पको क्षति विवरणको एकिन तथ्यांक नभए तापनि त्यसपछिका नेपालमा गएको भूकम्पहरूको तथ्यांक स्पष्ट पाइन्छ ।

– १८९० को भूकम्प जसले पहिलो पटक धरहरा ढाल्यो 

विक्रम सम्बत् १८९० भदौ १२ गते सोमबार बेलुका करिब ६ बजेतिर ठूलो विनाशकारी भूकम्प गएको थियो । त्यही दिन राति ११ बजे पनि पुनः भूकम्पको धक्का महसुस भयो । यही भूकम्पको कारण हनुमानढोकाभित्रको भण्डारखालमा राजाहरूले र टुँडिखेलको खुला चौरमा सर्वसाधारण रात कटाउन बाध्य भए । यो भूकम्पले भक्तपुर, ठिमी, साँखु, बनेपालाई धेरै प्रभाव पारेको अभिलेख छ ।

१८९० सालको भूकम्पको कारणले काठमाडौंमा रहेका दुईवटा धरहरामध्ये एउटा पूरै ढल्यो । अर्काे धरहरा आधा मात्रै भत्कियो । सो भूकम्प गएको एक महिना नबित्दै असोज १० गते राति अर्काे भूकम्प गएको थियो । जसले भत्किन बाँकी संरचनालाई तहसनहस पार्यो । त्यसको एक वर्षपछि अर्थात विक्रम सम्बत् १८९१ सालको असार र असोज महिनामा फेरि दुईवटा ठूला भूकम्प गए । पानी परिरहेका बेला यी भूकम्प गएको कारणले बागमतीमा ठूलो बाढी आएको थियो ।

– सातसय वर्षको अन्तरालमा गएको १९९० को भूकम्प

विक्रम सम्बत् १९९० को भूकम्पलाई नेपालको भूकम्प इतिहासमा सबैभन्दा बीभत्स र विनाशकारी भूकम्प मानिन्छ । पूर्वको संखुवासभा जिल्लाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर गएको ८.४ रेक्टर स्केलको सो भूकम्पले देशभर असर पार्यो । सोही भूकम्पमा परी ३ हजार ८५० पुरुष र ४ हजार ६६९ महिला गरी जम्मा आठ हजार ५१९ जनाको ज्यान गुमाए । घर, विद्यालय, देवलाय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत २ लाख ७ हजार ४० वटा संरचना भत्किएको अभिलेख छ ।
– मिति विवरण यकिन नभएको

सुदूरपश्चिमको बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा करिब २५ सय घर ध्वस्त भए । ४६ जना सर्वसाधारणले ज्यान गुमाए । सयौं चौपायाको ज्यान गएको थियो । तर, यो भूकम्प गएको यकिन मिति भने पत्ता लागेको छैन ।

– २०४५ को भूकम्प

विक्रम सम्बत् २०४५ भदौ ५ गते बिहान पौने पाँच बजे ५.५ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पको केन्द्रविन्दु पूर्बी नेपालको उदयपुर जिल्लाको मुर्कुची भन्ने स्थान थियो । सो भूकम्पमा परी करिब ७ सय ५० जना मानिसले ज्यान गुमाए थिए । भूकम्पले ६ हजार ५ सय भन्दा बढी घर भत्किए ।

– २०६८ को भूकम्प

विक्रम सम्बत् २०६८ असोज १ गते ताप्लेजुङ र भारतको सिक्किम सीमाक्षेत्रमा रहेको कन्चनजंगा हिमाल क्षेत्रलाई केन्द्रबिन्दु ६.९ हेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पमा परी १ सय ११ जनाको मृत्यु भएको थियो भने २ सयभन्दा बढी घाइते भएका थिए ।

–दुईसयको अन्तरालमा गएको २०७२ सालको भूकम्प

विक्रम सम्बत् २०७२ साल वैशाख १२ गते शनिबार ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पमा परी ८ हजार ५ सय ५६ जनाको मृत्यु भएको थियो । यस्तै २२ हजार ३ सय ९ जना घाइते भएका थिए । गोरखा जिल्लाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको यो भूकम्पमा परी २ हजार ६ सय ७३ सरकारी भवनहरूमा पूर्ण क्षति, ३ हजार ७ सय ५७ वटा सरकारी भवनमा आंशिक क्षति भएका थिए ।

1.png

भूकम्पको कारण सर्वसाधारणको ६ लाख २ हजार २ सय ५७ वटा घर पूर्ण क्षति र २ लाख ८५ हजार ९९ घरमा आंशिक क्षति भएको थियो । यो भूकम्पमा परी धरहरा, वसन्तपुर, बुङमतिमा रहेको रातो मच्छिन्द्रनाथको मन्दिर ध्वस्त भएका थिए । सो भूकम्पको कारण भएका भौतिक संरचना पुनर्निमार्णको लागि सरकारले पुनर्निमार्ण प्राधिकरण स्थापना गरेको छ । प्राधिकरणले पुनर्निमार्णको कामलाई तिव्रता दिएपनि अझै सकिएको छैन ।

विसं २०७९ को डोटी भूकम्प

1.png

कार्तिक २२, २०७९ नेपालको प्रमाणिक समय अनुसार बिहान २ बजेर १२ मिनेटमा गएको ६।६ म्याग्निच्युडको भूकम्प गयो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाई ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले पश्चिम नेपाल र उत्तर पश्चिमी भारतमा क्षति पुर्याएको थियो । यो भूकम्प नेपाल, भारत र चीनका ४ करोड भन्दा धेरै मानिसले महसुस गरेका थिए।

उक्त भूकम्पले नेपालको डोटी जिल्लामा चार जना बालबालिका सहित छ जना मानिस को मृत्यु भयो। उनीहरूको घरले भत्किदा पुरिएर उनीहरूको मृत्यु भएको थियो। यस्तै, १२ जना घाइते भएका थिए , जसमध्ये पाँच जना गम्भीर घाइते भएका थिए भने दर्जनौ घरमा क्षति पुगेको थियो ।

यी हुन् भूकम्पमा परी मर्ने नेपालका राजा

नेपालमा भूकम्प आउदा राजाको समेत मृत्यु भएको थियो। बिबिसी नेपाली सेवाले प्रकाशित गरेको रिपोर्टका अनुसार, गोपाल राजवंशावली अनुसार वि.सं. १३१२ को भैँचालोमा त्यसबेलाका राजा अभय मल्लको मृत्यु भएको उल्लेख छ। त्यस भैँचालोले देवल र घरहरू धेरै भत्किएको र तीन भागको एक भाग प्रजाहरूको मृत्यु भएको भन्ने विवरण त्यसमा देखिन्छ। त्यसबेला चार महिनासम्म जमिन हल्लिरहेको वंशावलीमा उल्लेख भएकाले उसबेला पनि अहिले जस्तै परकम्पहरू आएका रहेछन् भन्ने बुझिन्छ। भैँचालोकै कारण १५ दिन देखि एक महिनासम्न देश छाडेर बाहिर जानुपरेको विवरण ऐतिहासिक दस्ताबेजहरूमा पाइन्छ।

राजा अरि मल्लको पालामा भक्तपुर शासनको केन्द्र थियो। वि.सं. १४०१ मा गएको भैँचालोलाई चाहिँ ठूलो भैँचालो भनेर गोपालराजवंशावलीमा लेखिएको छ। त्यो भैँचालो दशैँको फूलपातीका दिन गएको रहेछ। त्यसको भोलिपल्ट महाष्टमीका दिन राजा अरि मल्लको मृत्यु भएको ऐतिहासिक विवरणहरू भेटिएका छन्। त्यसबेला भक्तपुर शासनको केन्द्र थियो। तर, अरि मल्लको मृत्यु भने देवपाटन (पशुपतिक्षेत्र) मा भएको उल्लेख छ।

त्यसबेला राजाहरूले देवपाटनमा नै राज्याभिषेक गर्ने चलन थियो। मृत्यु हुन लागेकाहरूलाई पशुपतिक्षेत्र लाने चलनअनुसार अरि मल्ललाई पनि त्यसबेला देवपाटन लगिएको हुन सक्छ। वि.सं. १२८० देखि वि.सं. १९९० सम्ममा ४८ वटा भूकम्प गएको विवरणहरू तथ्यसहित भेटिएका छन्। त्यस यता २०४५ सालमा मझौला खालको र २०७२ सालमा ठूलो भैँचालो गएका हुन्। झन्डै आठ सय वर्ष (७९५ वर्ष)को नेपालको इतिहासमा २०४५ सालको भूकम्पलाई पनि सामेल गर्दा कुल ५० वटा ठूला भूकम्प गएको देखिन्छ। कतिपय ऐतिहासिक विवरणहरूमा ती भैँचालाहरूले देशमा ठूलो क्षति पुगेको थियो।

भूकम्प के हो ?

भूकम्प पृथ्वीमा लगातार भइरहने नियमित प्रक्रिया वा दैवी विपत्ति हो । पृथ्वीमा सातवटा मुख्य प्लेट हुन्छ । सातैवटा प्लेट सँगै हिंडिरहेका हुन्छन् । जब तिनीहरु एक आपसमा ठोक्किन्छन् तब भूकम्प जान्छ । यो तीनथरिको हुन्छ । पृथ्वीको सतहभन्दा ३० किमी माथिको दूरीबाट आउनेलाई स्यालो, ३० देखि ७० किमीसम्मकोलाई मिडियम र ३० देखि ३ सय किमीसम्मकोलाई डिप भनिन्छ । बढी क्षति गर्ने ३० किमीसम्मकोले हो । भूकम्प जति माथिबाट आयो, त्यसले त्यत्ति नै बढी असर गर्छ ।

भूकम्पको दुईवटा वेभ हुन्छ । एउटा बडी वेभ र अर्को सर्फिस वेभ । बडी वेभमा प्राइमरी र सेकेण्डरी तथा सर्फिस वेभमा रेली र लव भन्ने दुई फरकफरक प्रकार हुन्छ । बडी वेभले कम र सर्फिसले बढी क्षति गर्छ । सिद्धान्ततः भूकम्प होरिजेण्टल र भर्टिकल वेमा जान्छ । तर कहिले काहीँ दुवै मिलेर आइदियो भने खतरनाक हुन्छ । भूकम्प दैनिकजसो गइरहेको हुन्छ । तर हामीले पत्तो पाउँदैनौं । १ देखि ४ रेक्टर स्केलसम्मको भूकम्पले क्षति गर्दैन । ५ रेक्टर स्केलभन्दा माथिको भूकम्पले माग क्षति हुन्छ । सामान्य भूकम्पको मापन गरिँदैन । भूकम्प दुई तरिकाले मापन हुन्छ, त्यो हो रेक्टर स्केल र अर्को इन्टेन्सिटी ।

स्केलको विकास भइसकेपछि इन्टेन्सिटीको प्रयोग कम हुन थालेको छ । स्केलले भूकम्पको क्षमता नाप्छ । इन्टेन्सिटीले क्षतिको मापन गरेर मात्र कत्रो भूकम्प आएको हो भन्ने अनुमान गर्छ । यो धेरै आधिकारिक र विश्वशनीय हुँदैन । रेक्टर स्केलमा ० देखि १० सम्मको भूकम्पको मात्र मापन हुन्छ ।

विश्वमा सबैभन्दा बढी कति रेक्टरको भूकम्प गयो ?

भूकम्पको इतिहासमा सन् १९६० मा चिलिमा ९.५ रेक्टरस्केलको भूकम्प टेक्टोनिक प्लेटका कारण गएको थियो। त्यसपछि २००४ मा इन्डोनेसियामा ९.३, २०११ मा जापानमा ९.५ र नेपालमा १९९० मा ८.४ रेक्टरस्केलका ठूला भूकम्प मापन गरिएको छ। यस्तै २०७२ मा पनि गोरखामा यहीं टेक्टोनिक प्लेटका कारण भूकम्प गएको तथ्यांक भूकम्प मापन केन्द्रले राखेको छ। नेपालको इतिहासमा हरेक ८० देखि १ सय वर्षको अन्तरालमा ठूलो भूकम्प जाने गरेको छ।  भूकम्प जहिले पनि शक्तिको सञ्चितबाट हुन्छ। चट्टानले सञ्चित भएको शक्तिलाई थेग्न सकेसम्म थेग्छ र जब शक्ति धेरै भई चट्टानले थेग्न नसक्दा विष्फोट भई भासिन्छ र भूकम्प जान्छ।

1.png

भूकम्प जाँदा कसरी सावधानी अपनाउने ?

भूकम्प आएपछि पनि पटक पटक ससाना धक्काहरु आउनेभएकाले सुरक्षित रहन निम्न कुराहरुमा ध्यान दिनुपर्दछ:

१. भूकम्पको समयमा लिएर हिडने झोला तयार राख्‍नुहोस्। उक्त झोलामा यी वस्तु हुनुपर्खछ टर्च र व्याट्री, सानो रेडियो, एक दिनकालागि पुग्ने चिउरा तथा तयारी चाउचाउजस्ता पर्याप्त मात्रामा सुक्खा खाना, खानेपानी भएको प्लास्टिकको एक बोतल, जरुरी औषधिहरु र आफ्नो परिचयपत्रको फोटोकपिहरु ।

२. आपत परेको बेला खबर गर्न आफुसंग सँधै सिट्ठी राख्‍नुहोस्।

३. भूकम्प गएपछिको समयमा टेलिफोन सन्जाल व्यस्त रहने भएकाले सकभर मोबाइलबाट टेक्स सन्देशहरु आदानप्रदान गर्नुहोस्।

४. चर्किएका तथा भत्किएका घर एवम् अन्य संरचना भित्र नबस्नुहोस् किनभने भूकम्पका पराकम्पनले यस्ता संरचनाहरु भत्काउन सक्छन् र जनधनको थप क्षति हुनसक्छ।

५. भूकम्पको समयमा खस्ने वस्तुहरु मृत्यु अथवा चोटपटकका मुख्य कारण हुन्। यस्ता वस्तुहरुलाई खस्न नदिनका लागि घरपरिवारहरुले साधारण उपायहरु गर्नसक्दछन्। यस्ता वस्तुहरुमा फर्निचर, फोटोको फ्रेम, सजावटका वस्तु, पुस्तकका तख्ता, ग्यास सिलिन्डर आदि पर्दछन्।

६. भूकम्पको धक्का आएको बेला सुरक्षित रहने उपाय भनेको घुँडा टेकेर गुडुल्किने र ओत लागेर समात्ने हो। यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको र घाँटीलाई सुरक्षित राख्‍नु पर्दछ।

७. जब भूकम्प रोकिन्छ, त्यसबाट पुगेको क्षतिबाट नयाँ जोखिमहरु उत्पन्न हुन्छन्। यस्ता जोखिममा आगलागी, पहिरो, ढुङ्गाहरु खस्नु, बाढी आदि पर्दछन्। मानिसहरुले यस्ता जोखिमहरु छन् भनी ध्यान दिनुपर्दछ र जोखिम कम गर्नकालागि सावधानी अपनाउनु पर्दछ। ८. भूकम्प आएको बेला शान्त रहनु महत्वपूर्ण हुन्छ। उर्जा र अक्सिजनको कम मात्रा मात्र खर्च होस् भन्नकालागि चिच्याउनु हुँदैन।

८. प्राकृतिकरुपमा भूकम्प जानुबाट आफैमा धनजनको क्षति हुँदैन। तर खराब भवन, संरचना इतर उपायहरुको अभाव र सचेतनाको अभावजस्ता असुरक्षित प्रचलनहरु संकटका कारण हुन्। त्यसतर्फ सचेत रहनुपर्दछ।

स्रोत: नेपाल जोखिम न्यूनीकरण सन्जाल सन्चार समूह