‘नेपालमा बेपत्ता भएका व्यक्तिहरुको अद्यावधिक सूचि २०७५’ को आज काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।
अन्तर्राष्ट्रिय बेपत्ता दिवस (३० अगष्ट) को सन्दर्भ पारेर रेडक्रसको अन्तराष्ट्रिय समिति (आइसीआरसी), नेपाल रेडक्रस सोसाइटी र बेपत्ता परिवार समाजद्वारा संयुुक्त रुपमा आयोजित बेपत्ता व्यक्तिका परिवारहरु बीचको अन्तक्र्रिया कार्यक्रममा सो सूची सार्वजनिक गरिएको हो । सशस्त्र संघर्षको अन्त्यसँगै द्वन्द्वरत पक्षहरुबाट गिरफ्तार वा कब्जा भएपछि ३,२४८ व्यक्तिका परिवारहरुले रेडक्रसको अन्तर्राष्ट्रिय समिति र नेपाल रेडक्रस सोसाइटीलाई सूचित गराएका थिए । प्रकाशित सूचीअनुसार विगतको सशस्त्र द्वन्द्वका कारण अझै १,३३३ व्यक्तिहरु हालसम्म बेपत्ता छन् ।
अन्तक्र्रियामा बेपत्ता व्यक्तिका परिवारहरुले ढिलो गरी दिएको न्यायको अर्थ नहुने भन्दै तत्कालै आफ्ना आफन्तको अवस्था र स्थितिको बारेमा जानकारी गराउन माग गरेका छन् ।
गोरखा जिल्लाका विमला ढकालले भन्नुभयो– “मेरो श्रीमान बेपत्ता भएको झण्डै १२ वर्ष भइसक्यो अहिलेसम्म अत्तोपत्तो छैन । पर्खाइको पीडा सहेर कहिलेसम्म बस्ने ।” उहाँले सरकारसँग आफ्नो बेपत्ता श्रीमानको स्थितिको बारेमा तत्काल जानकारी गराउन माग गर्नुभयो ।
यस्तै काभ्रेका पूर्णमाया लामाका श्रीमान वेपत्ता हुनुभएको १० वर्ष भईसक्दा पनि सम्बन्धित पक्षबाट कुनै सत्य, तथ्य जानकारी प्राप्त गर्न नसकेको बताउनुभयो । श्रीमान बेपत्ता भएको पिडा माथि ०७२ सालको भूकम्पले झनै समस्या थपिदिएको बताउँदै उहाँ भन्नुहुन्छ, “श्रीमान मान्छेले लगे, घर दैवले लग्यो । न कमाउने मान्छे, न बस्ने घर । बाँच्ने कसरी ?”
नेपालमा २०५२ देखि २०६३ सालसम्मको सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका आफन्तहरुमा अझै पनि यस्ता समस्या ज्यूँका त्यूँ रहेका छन । ती समस्याहरुका बारेमा छलफल गराउने र सम्बन्धित निकायसम्म जानकारी पुर्याउने उद्देश्यले सो अन्तक्र्रियाको आयोजना गरिएको
हो ।
छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले नेपाल रेडक्रसले दैवी विपत्तिमा मात्र नभई द्वन्द्वका क्रममा बेपत्ता भएका व्यक्ति र तिनका परिवार बीचसम्पर्कको पुनःस्थापना गराउने कार्यमा सहयोग पु¥याइरहेको बताउनुभयो । महामन्त्री धाख्वाले बेपत्ता व्यक्तिका परिवारको पीडा कम गराउने प्रयासमा तत्कालै सबै निकायले ध्यान पुर्याउनुपर्ने बताउनुभयो ।
बेपत्ता परिवार समाजका अध्यक्ष रामकुमार भण्डारीले बेपत्ता व्यक्तिको अवस्थाको बारेमा सत्य तथ्य जानकारी गराउन, दोषीलाई कारवाही गर्न र पीडित परिवारको आर्थिक तथा सामाजिक समस्याहरुलाई सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो ।
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकल आयोगमा अहिलेसम्म ३,१९७ उजुरी दर्ता भएकोमा ती मध्ये २,३६९ लाई विस्तृत छानविन प्रकृया अगाडि बढाइसकिएको जानकारी गराउनुभयो । ती मध्ये बाह्र सय दश उजुरीको विस्तृत छानविनको अन्तिम चरणमा पुगेको उहाँले बताउँनुभयो ।
देशका ७७ जिल्ला मध्ये ४३ जिल्लाको अनुसन्धान प्रक्रिया पनि अन्तिम चरणमा पुगेको बताउँदै अध्यक्ष मल्लिकले बेपत्ताका पीडकलाई मुद्धा चलाउन सरकारले कानून बनाउनुका साथै जनशक्ति थप गरिदिए आयोगले अझ प्रभावकारी रुपमा काम गर्न सक्ने बताउनुभयो ।
रेडक्रसको अन्तर्राष्ट्रिय समितिका नेपाल प्रमुख अन्द्रे पेकेले नेपालमा दश बर्षे द्वन्द्व सकिएको लामो समयसम्म पनि बेपत्ता व्यक्तिका परिवारहरुले आफन्तका बारेमा सत्य, तथ्य थाहा नपाउनु दुःखद कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो– “तपाईहरुजस्तै हामी पनि आशा गर्दछौं नेपालमा संक्रमणकालीन न्याय प्रणालीले निकास प्राप्त गर्नेछ र यसले तपाईहरुको आफन्तलाई के भयो भन्ने बारेमा जान्न पाउने अधिकारलाई सुनिश्चित गर्नेछ । सत्य निरुपण आयोग तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले थपिएको समय सीमाभित्र बेपत्ता व्यक्तिको अवस्थाका बारेमा प्रस्ट जवाफ दिनेछ भन्ने कुरामा म विश्वास राख्दछु ।”
सो अवसरमा “प्रतिक्षारत आँखाहरु” नामक सन्देशमूलक नाटक पनि प्रदर्शन गरिएको थियो ।








































