काठमाडौं : नेपालमा हरेक वर्ष तीन हजार २१५ नयाँ कुष्ठरोगी थपिने गरेको एक अध्ययनले देखाएको छ। विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा कुष्ठरोगरहित विश्वको योजना लिएर अघि बढे पनि नेपालमा वर्षेनी करिब तीन हजार नयाँ बिरामी देखा पर्ने गरेका हुन्।
२१ औँ अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसको उपलक्ष्यमा सोमबार आइडिया नेपालले गरेको कार्यक्रममा स्वास्थ्य सेवा विभाग तथा कुष्ठरोग निवारण महाशाखाका डा. रवीन्द्र बाँस्कोटाले प्रति १० हजार जनामा ०.७९ प्रतिशत कुष्ठ रोगी रहेको बताए।
उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पहिले कुष्ठारोगीलाई निकै अपहेलित गर्ने गरे पनि अहिले त्यो अवस्था कम भएको बताए। उनले पूर्णरूपमा बिरामीलाई समाजमा पुनर्स्थापना अप्ठ्यारो भएको बताए। उनले भने, ’ शिक्षा, अन्धविश्वास र कुरितीले गर्दा अहिले पनि कुष्ठरोगीलाई समाजमा पुर्नस्थापना हुन गाह्रो छ, यस्तो अवस्थाको अन्त्य हुनु पर्छ।’
यस्तै मन्त्री यादवले कुष्ठरोग पूर्ण निको हुने भए पनि अझै पनि तराईका पिछडिएका वर्ग र पहाडको दुर्गम भेगमा कुष्ठरोग लुकाउने चलन रहेकाले अझै समस्याको रूपमा रहेको बताए। मन्त्री यादवले देवानी संहितामा रहेको कुष्ठरोग लागेका व्यक्तिसँग विवाह गरे सम्बन्ध बिच्छेद हुने व्यवस्था परिवर्तन गर्न पहल गर्ने बताए।
आनन्द वन अस्पतालका प्रमुख डा. इन्द्र नापितले यस वर्ष मात्रै १४ वर्षमुनिका २२० नयाँ बिरामी फेला परेको बताए।
माइक्रोब्याक्टेरियम लेप्रे नामक कीटाणुका कारण यो रोग लाग्छ। कुष्ठरोगको कीटाणु शरीरमा प्रवेश गरेपछि रोग निरोधक शक्तिले कीटाणु मार्न सकेन भने यो रोग लाग्छ। विभिन्न अध्ययनले कुष्ठरोगका कीटाणु शरीरमा प्रवेश गरेपछि एक प्रतिशतलाई मात्र रोग लाग्छ। बाँकी ९९ प्रतिशत व्यक्तिको शरीरमा भएको रोग निरोधक शक्तिले काम गर्ने अध्ययनमा देखिएको छ।
कुष्ठरोगको कीटाणुले छाला र स्नायुमा असर गर्छ। कुष्ठरोगको शुरुवाती चरणमा उपचार हुँदा क्षति हुँदैन। उपचारमा ढिलाइ हुँदा शरीरका विभिन्न भागमा असर पुग्न गएर अंगभंगको अवस्था आउँछ। कुष्ठरोग नियन्त्रण महाशाखाका अनुसार यो आर्थिक वर्षमा प्रतिलाखमा ११.२३ बिरामी थप भएका छन्। दिवसका अवसरमा भएको कार्यक्रममा कुष्ठप्रभावित एवं आइडिया नेपालका अध्यक्ष अमरबहादुर तिमल्सिनाले लेखेको पुस्तक बिमोचन गरिएको थियो।







































