नेपाल रेडक्रस सोसाइटी अव नयाँ संरचनामा

2847

नेपाल रेडक्रस सोसाइटीको बिराटनगरमा सम्पन्न केन्द्रीय सभाको ४७ औँ महाधिवेशन विधान संशोधनसहितको निर्णय गरी सम्पन्न भएको छ । सभाले रेडक्रसको मूल मर्म अनुरुप शुरक्षित पहुँचका ८ तत्वहरुको पालना गर्दै सँस्थाको उचाई बढाउने गरी कार्यक्रम र गतिविधिहरु सञ्चालन गर्न निर्देश गरेको छ । र, सो अनुसार रेडक्रसलाई उत्कृष्ट मावनीय सँस्थाको रुपमा विकसित गर्दै रेडक्रसका सिद्धान्त अनुसारका कार्यक्रम तथा गतिविधिहरु सञ्चालन गर्नेलगायत ११ वटा प्रस्तावहरु पारित गरिएको प्रस्ताव छानबिन समितिका सँयोजक शशि पन्थीले घोषणा गर्नुभयो । ती प्रस्तावमा सिद्धान्त अनुरुप कार्यक्रम सञ्चालन, जिल्लाका रक्तसञ्चार सेवालाई थप प्रभावकारी बनाउने, पारदर्शिता, जवाफदेहीताको लागि सार्वजनिक लेखा परिक्षणजस्ता प्रभावकारी औजारहरु प्रयोग गर्ने, प्रत्येक निर्णायक तहमा महिला सहभागिता बढाउने, र दक्ष जनशक्तिको वढोत्तरी गर्दै जाने लगायतका विषयहरु रहेका छन् ।

सभाले महाधिवेशनमा सहभागी हुने तथा सहयोग गर्ने लगायत आतिथ्यता प्रदान गर्ने सवैलाई धन्यवाद दिएको छ ।

“देशमा हालको संविधानले निर्दिष्ट गरेबमोजिम मुलुक संघीयतातर्फ अगाडि बढिरहको सन्दर्भमा नेपाल रेडक्रसको संगठनात्मक संरचना पनि विधानत सोहीअनुरुप अनुकुल बनाउन यो अधिवेशन सफल भएको छ, अव रेडक्रस नयाँ ऐतिहासिक चरणमा प्रवेश गरेको छ” महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले भन्नुभयो ।

यसका अलावा महाधिवेशनले महामन्त्री र कोषाध्यक्षबाट प्रस्तुत प्रगति तथा आर्थिक प्रतिवेदन तथा आगामी वर्षको कार्यक्रम तथा बजेट पारित गरेको छ । नेरेसोको भोजपुर जिल्ला शाखाको भवन निर्माणार्थ सहयोग जुटाउने आह्वानअनुरुप सबै जिल्ला शाखा र केन्द्रीय पदाधिकारी तथा सदस्य तथा कर्मचारीबाट अधिवेशन स्थलमा रु. ४ लाख ४४ हजार सहयोग जुटाइएको छ ।

नयाँ विधान ः समावेशीकरणमा नयाँ फड्को

नेरेसोको संशोधित विधानअनुसार अब नेपाल रेडक्रस सोसाइटीका केन्द्र, प्रदेश, जिल्ला र स्थानीय स्तरमा सांगठनिक निकायहरु रहनेछन् । प्रत्येक प्रदेशमा प्रदेश सभाको गठन हुने नयाँ व्यवस्था गरिएको छ । त्यस्तै रेडक्रसका सेवा प्रभावकारी बनाउन सबै सांगठनिक तहमा व्यवस्थापन समितिको गठन हुनेछ । नेपाल रेडक्रसलाई समावेशी हिसावले सञ्चालन गर्न केन्द्रीय तहमा कम्तिमा चार, प्रदेश र ज्ल्लिा तहमा कम्तिमा ३ जना महिला कार्यसमितिमा रहने व्यवस्था गरिएको छ ।

राज्यका बिभिन्न तहका तोकिएका कार्यकारी पदहरुमा निर्वाचित व्यक्तिहरु राजनीतिक दलका केन्द्र, प्रदेश र जिल्ला तहका प्रमुख पदाधिकारीहरु एवं केन्द्र र प्रदेश सभाका सासंद÷विधायकहरु नेपाल रेडक्रस सोसाइटीका कुनै पनि तहका कार्यसमितिमा पदाधिकारी नरहने गरी स्वयंसेवक तथा सदस्यहरुको आचार संहितामा नयाँ व्यवस्था गरिएको छ ।

विभिन्न विधाका पुरस्कारहरु प्रदान

कार्य सम्पादन मूल्यांकनका आधारमा रेडक्रसका उत्कृष्ट दश जिल्ला शाखाहरुमध्ये सिन्धुली जिल्ला शाखालाई राष्ट्रिय स्तरमा उत्कृष्ट जिल्ला शाखा घोषित गरी विशिष्ट सेवा पुरस्कार प्रदान गरिएको छ । झापा र कास्कीले क्रमशः दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल भएको पुरस्कार समितिका सँयोजक कृष्ण प्रसाद न्यौपानेले घोषणा गर्नुभयो । ती जिल्ला शाखा प्रतिनिधिहरुलाई क्रमशः २० हजार, १० हजार र ५ हजार नगदसहित शिल्ड र प्रमाण पत्र नेरेसोका अध्यक्षले प्र्रदान गर्नुभयो ।

उत्कृष्ट दश स्थानमा पर्ने अन्य जिल्ला शाखाहरु क्रमशः पर्सा, बाँके, चितवन, मकवानपुर, पाँचथर, सुनसरी, इलाम र तनहुँलाई पनि विशिष्ट सेवा पुरस्कार प्रदान गरिएको छ । यसै गरी क्षेत्रीय स्तरमा उत्कृष्ट स्थान प्राप्त गर्ने क्रमशः पूर्वाञ्चलबाट पाँचथर, मध्यमाञ्चलबाट पर्सा, पश्चिमाञ्चलबाट तनहुँ, मध्यपश्चिमाञ्चलबाट बाँके र सुदूरपश्चिमाञ्चलबाट कैलाली जिल्ला पुरस्कृत भएका छन् । त्यस्तै दुर्गम क्षेत्रबाट उत्कृष्ट घोषित दार्चुला जिल्ला शाखा पुरस्कृत भएको छ । यस्तै महिला सहभागिता बृद्धि प्रोत्साहन पुरस्कार यसवर्ष नेपाल रेडक्रसका कास्की, काभ्रेपलाञ्चोक, तनहुँ र इलाम जिल्ला शाखालाई प्रदान गरिएको छ भने आपदा प्रबन्धन पुरस्कार झापा जिल्ला शाखालाई प्रदान गरिएको छ ।

यस्तै स्वयंभूलाल श्रेष्ठ स्मृति पुरस्कार जुनियर रेडक्रस सर्कलतर्फ श्री महेन्द्र मा.वि. पोखरा लेखनाथ–२, सत्यवती मा. वि. व्यास–२, दमौली र केरवानी मा. वि. देवदह–४, रुपन्देहीलाई प्रदान गरिएको छ भने युवा रेडक्रस सर्कलतर्फ युवा रेडक्रस सर्कल, हेटौडा मकवानपुरलाई प्रदान गरिएको छ ।

यस्तै विकास क्षेत्रका हिसावले उत्कृष्ट हुने जुनियर रेडक्रस सर्कलहरुमा पूर्वाञ्चलबाट सैनिक आवासीय माध्यमिक विद्यालय धरान, पश्चिमाञ्चलबाट स्काइडर आ. मा. वि. रत्ननगर, चितवन, पश्चिमाञ्चलबाट मदरल्याण्ड इङ्गलिश स्कूल, बुटवल, र मध्यपश्चिमबाट ज्ञानोदय मा. वि. खजुरा, बाँके रहेका छन् । यसै गरी भास्कर मेमोरियल स्कूल पोखरा, कास्कीका राजेशकुमार घिमिरेलाई उत्कृष्ट शिक्षक नायक पुरस्कार प्रदान गरिएको छ ।

यस्तै कर्मचारीतर्फ यसवर्ष नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयका जनसम्पर्क अधिकृत नरेन्द्रकुमार श्रेष्ठ र तनहुँ जिल्लाका कार्यालय सहायक नरमाया मस्राङ्गीलाई उत्कृष्ट कर्मचारी सेवा पुरस्कार प्रदान गरिएको छ ।