काठमाडौं ।
बाबुआमा गुमाएका वालवालिकालाई सकभर उनीहरुको परिवारका आफन्तको संरक्षणमा रेखदेख र शिक्षादिक्षाको व्यवस्था मिलाउनुपर्नेमा एसओएस वालग्राम नेपालले जोड दिएको छ ।
पछिल्लो समयमा वालगृह या वालग्राममा आधारित संरक्षण भन्दा परिवारकै काका÷काकी, ठुलोबा÷ठुलीआमा, हजुरबा÷हजुरआमा या मामा÷माइजुमध्ये नजिकको आफन्त या नातेदारसंगै त्यता वालवालिकाको संरक्षण गर्नुपर्नेमा जोड दिएको हो ।
अभिभावक गुमाएर एक्लिएका वालवालिकालाई सकभर उनीहरुकै आफन्तको काखमा हुर्किने र खेल्ने मौका दिनुपर्छ, केही सिप नलागेमा मात्रै वालग्राममा ल्याउँदा उचित हुने एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्माले बताए । ‘वालगृह त्यस्ता वालवालिकाको लागि अन्तिम विकल्प हुनुपर्छ,’ उनले भने ।
वालवालिकाको मायालु घरको रुपमा परिचित अन्तराष्ट्रिय गैरसरकारी संस्था एसओएस वालग्राम नेपालले विगत ४४ वर्षदेखि अभिभावकवीहिन वालवालिकाको उचित संरक्षण र रेखदेखका साथै शिक्षादिक्षा दिँदै आएको छ ।
एसओएस वालग्राम अन्तर्राष्ट्रियले आफन्त हेरचाह कार्यक्रम (किनसिप) लाई प्राथमिकतामा राखेकोले नेपालमा पनि विस्तारै यस्तो अवधारण अघि सार्नुपर्ने कुरामा जोड दिइएको हो ।
वालग्रामले गत एक वर्षमा गरेको कार्यको मुल्यांकन तथा आम्दानी खर्र्च सार्वजनिक गर्दै आगामी वर्षको कार्यक्रम बनाउन आयोजित ‘सामाजिक लेखाजोखा’ कार्यक्रममा राष्ट्रिय निर्देशक शर्माले २०७२ बैशाख १२ को भूकम्पपछि वालग्रामले आकस्मिक सहायता कार्यक्रममार्फत शुरु गरेको किनसिप कार्यक्रम सफल भएको बताए ।
सोही कार्यको मुल्यांकन गरि अन्तर्राष्ट्रिय एसओएस वालग्रामले नेपाललाई ‘डेयर पर केयर २०१७’ को दोस्रो अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरेको पनि बताए ।
उनले भावी दिनमा अपांग वालवालिकाका लागि सबै वालग्राममा अपांग वालवालिकाका लागि छुट्टै आवासको व्यवस्था गर्नुपर्ने, स्थानीय दाताहरुको खोजी गर्नुपर्ने, अभिभावक गुमाएका वालवालिकाका लागि मनोवैज्ञानिक र मनोपरामर्श कार्यक्रम सञ्चालनमा जोड दिनुपर्नेलगायतमा जोड दिए ।
वालग्रामका पुर्व राष्ट्रिय निर्देशक एवम् आकस्मिक सहायता कार्यक्रमका संयोजक श्रीशंकर प्रधनांगले २०७२ को भूकम्पलगत्तैदेखि गत बैशाखसम्म आकस्मिक सहायता कार्यक्रमअन्र्तगत सञ्चालित विभिन्न शैक्षिक तथा आवाशिय कार्यक्रमबारे जानकारी गराए ।
वालग्रामले भूकम्पपीडितका लागि सिन्धुपाल्चोक र दोलखामा २ सय ८४ वटा पक्कि नयाँ घर बनाएको, ९ वटा पुराना सामुदायिक विद्यालय मर्मत तथा सुधार गरेको, ३ वटा नयाँ विद्यालय भवन बनाइदिएको बताए ।
कार्यक्रममा महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव वीरबहादुर राई, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, समाजकल्याण परिषदका उपाध्यक्ष निलमणी बरालले वालग्रामले वालवालिकाको संरक्षण र रेखदेखमा पुरयाएको योगदानको चर्चा गर्दै भविष्यमा यसलाई विस्तार गर्नुपर्नेमा जोड दिए ।







































