पोखरा ।
मितेरी नारी समूहको आयोजनामा भएको तीन दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । पोखराको लेकसाइडमा भएको उक्त तालिममा समूहमा आवद्ध ४० महिलाले भाग लिएका थिए । तालिम लिएपछि निर्धक्क भएर बोल्ने क्षमता आफूमा बढेको सहभागीले बताएका छन् ।
तालिमको प्रदेश नं ४की सभासद् मीना गुरुङले उद्घाटन गर्दै प्रत्येक महिलाले आफूभित्रको क्षमतालाई मर्न नदिएर मलजल गर्नुपर्ने सुझाब दिइन् ।
गृहिणी महिलाले पनि घरमा १६,१७ घण्टा बिना पारिश्रमीक काम गरिरहेता पनि त्यसको मुल्यांकन नहुने बताउँदै उनले एकतामा बाँधिनु भनेको नै शक्ति भएकाले महिलाको एकताले उनीहरुको काममा पनि मुल्याकंन गराउने सभासद् गुरुङले बताइन् ।
कार्यक्रममा वडा नं ६का अध्यक्ष जगतबहादुर पहारीले हरेकमा अन्तरनिहित प्रतिभालाई उजागर गरि महिला अगाडि बढ्ने ननिकाले पछाडि पर्ने बताए ।
बंगलादी आमा समूहकी अध्यक्ष एवं महिला समन्वय समितिकी सचिव बिनिता बराल,संस्थाकी सल्लाहकार शुशिला भट्टराई, पर्यटन ब्यवसायी एवं निवर्तमान अध्यक्ष कमला पहारीले तालिम मार्फत प्रशिक्षार्थीले अरु सामू ब्यक्त गर्न नसक्ने कुरा पनि नडराई भन्न सक्ने क्षमता हासील गरेका प्रतिक्रिया दिइन् ।
कुनै पनि कार्यक्रम संचालन गर्दा सक्षम महिला खोज्नुपर्ने अवस्था आएकाले समूहका महिलालाई निडर भएर बोल्न र लेख्न सिकाउन तालिमको आयोजना गरिएको समूहकी अध्यक्ष मिरा पौडेलले बताइन् ।
लेकसाइड क्षेत्रमा करिव १६ वटा आमासमूह भएपनि २०६१ सालमा स्थापना भएको यस समूहले हालसम्म महिला शशक्तिकरणका लागि विभिन्न कार्यक्रम र तालिमहरु संचालन गरिसकेको उनले बताइन् ।
तालिममा नेपालकी पहिलो महिला सरोद बादक एवं रेडियोकर्मी रुपा न्यौपानेले स्टेजमा आएर कसरी कार्यक्रम संचालन गर्ने, रेडियोमा कसरी बोल्ने, ब्यक्तित्व कसरी विकास गर्नेलगायतका विषयमा प्रशिक्षण दिएकी थिइन् ।







































