कपिलवस्तु – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेको सभालाई लक्ष्य गर्दै जिल्लाको मायादेवी गाउँपालिका पकडीमा बम विस्फोट गराइएको छ ।
वाम गठबन्धनले आज आयोजना गरेको आमसभालाई सम्बोधन गर्न जिल्लाको पकडी पुग्नुभएका पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहालले आमसभामा सम्बोधन टुँग्याएलगत्तै ठूलो आवाजका साथ विस्फोट भएको छ ।
सभा समापन भइसकेका कारण विस्फोटबाट भने कुनै क्षति नभएको प्रहरीले जनाएको छ । विष्फोटको आवाजसँगै सभामा आएका सर्वसाधारणको भागाभाग भएको छ । पूर्व प्रधानमन्त्री दाहालले सम्बोधन गरेको मञ्चबाट करिब १०० मिटरको दूरीमा विस्फोट भएको हो । घटनास्थललाई नियन्त्रणमा लिएर नेपाली सेनाको टोलीले अनुसन्धान गरिरहेको छ ।
मतदानको दिन नजिकिँदै गर्दा जिल्लामा बम विस्फोटका घटना बढ्न थालेको छ । शुक्रबारमात्रै जिल्लाका विभिन्न तीन स्थानमा बम विस्फोट भएको थियो । जिल्लामा थप बम विस्फोटका घटना हुन नदिन र मतदान प्रक्रिया भयरहित वातावारणमा सम्पन्न गराउन जिल्लाका तीनवटै सुरक्षा निकायलाई सघन ढंगबाट परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभएको छ ।
उम्मेदवारलाई लक्षित गरी बम विस्फोट, गाडीमा क्षति

तेह्रथुम – चुनावी सभालाई सम्बोधन गर्न जाँदै गरेका वाम गठबन्धनका उम्मेदवारलाई लक्षित गरी तेह्रथुमको छथर गाउँपालिका–१, आङ्दिममा आज बम विस्फोट भएको छ ।
शुक्रबारे बजारमा संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न जाँदै गरेका एमाले पोलिटब्यूरो सदस्य तथा समानुपातिक उम्मेदवार डा विजय सुब्बा, माओवादी केन्द्रकी नेत्री तथा समानुपातिक उम्मेदवार सुशीला कन्दङवालगायत नेता चढेको गाडीलाई लक्षित गरी आङ्दिममा बम विस्फोट भएको प्रहरीले जनाएको छ ।
तेह्रथुम र धनकुटाको सीमा तेलिया खोला नजिकै आङ्दिममा भएको सो विस्फोटमा परी मे १ ज २०२ नम्बरको ल्याण्डरोभर गाडीमा क्षति पुगेको घटनास्थल पुगेका प्रहरी निरीक्षक गणेश कोइरालाले जानकारी दिनुभयो ।
तर गाडीमा सवार नेता कार्यकर्ता भने सकुशल रहेको उहाँले बताउनुभयो । सडकमा माटोले पुरेर राखेको बम पड्किएको हुनसक्ने प्रहरीको अनुमान छ । बम राख्नेको पहिचान हुन नसकेको र खोजीकार्य भइरहेको प्रहरी निरीक्षक कोइरालाले बताउनुभयो ।







































