काठमाडौं : निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फ पनि एउटै मतपत्र छाप्ने तयारी गरेको छ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि छुट्टाछुट्टै मत पत्र हुनेपर्ने माग गर्दै राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लसहितले दायर गरेको रिटमा निर्वाचन आयोगलाई मत पत्र छाप्ने काम रोकेर प्रदेश र प्रतिनिधिसभाका लागि छुट्टाछुट्टै मतपत्र छाप्नका लागि अन्तरिम आदेशको माग गरिएको थियो।
माग अनुरुप अन्तरिम आदेश नदिएको सर्वोच्चले समानुपातिकतर्फको मतपत्र छापिसकेकाले त्यसलाई कायम गर्दै प्रत्यक्षतर्फको ‘पहिलो हुने निर्वाचित हुने मतपत्रका विषयमा आयोगले गम्भीरतापूर्व विचार निर्वाचन आयोगले गर्ने’ भनिएको थियो।
तर आयोगले भने आगामी १० गतेसम्म कुनै निर्णय नगरी पुरानै निर्णयका आधारमा प्रतिनिधिसभा र प्रदेशसभा ननिर्वाचनका लागि दुई खण्ड राखेर एउटै मतपत्र छाप्ने तयारी थालेको छ। प्रमुख निर्वाचन आयुक्त यही समयमा पूर्वी तराईका जिल्लाको भ्रणरुमा निस्किएर आगामी १० गते मात्र काठमाडौं फर्कने तयारी गरेका छन्। त्यसबेलासम्म सचिवालयले पुरानै निर्णय र डिजाइन अनुसार मतपत्र छपाइको काम सुरु गरिसक्नेछ।
सर्वोच्चको आदेशबाट अप्ठेरोमा परेको आयोगले अहिले नै निर्णय गर्दा पुनः रिट जान सक्ने र सर्वोच्चबाट अन्तरिम हुनसक्ने भन्दै कुनै निर्णय बिना नै मतपत्र छपाइको काम सुरु गर्ने तयारी गरेको हो।
के हुन्छ दुई वटा मत पत्र छाप्दा?
निर्वाचन आयोगका एक अधिकारीका अनुसार दुईवटा मत पत्र छाप्नु भनेको एउटा थप निर्वाचन गर्नु सरह नै हो। ‘दुईवटा मत पत्र छाप्दा एउटा त मतपत्र छपाइका लागि मात्र दोब्बर समय र कागज खर्च हुन्छ,’ ती अधिकारीले भने, ‘त्यसबाहेक करिब २० हजार मत पेटिका थप्नुपर्छ।’ उनले त्यससँगै मतदान अधिकृत र उसका लागि सहयोगी कर्मचारी तथा सुरक्षाकर्मी पनि आवश्यक हुन्छ।
त्यसरी निर्वाचन गर्नु परेमा तोकिएको मितिमा निर्वाचन गराउन समेत आयोगलाई समस्या हुन्छ। ‘त्यसरी जानुपर्यो भने तोकिएको मितिमा निर्वाचन गराउन सम्भव नै हुँदैन,’ आयोगका ती अधिकारीले दावी गरे। pahilopost







































