प्रहरी उच्च अधिकारी नै मिटरब्याज खेलमा

457

काठमाडौं– ‘अलबिदा भाइ रवीन्द्र। तिमीबाट म लगायत सम्पूर्ण ढुंगाना परिवारले ठूला–ठूला सपना देखेका थियौं। तिम्रो छोराको व्रतबन्ध नहुँदा हिन्दु संस्कार बमोजिम आर्यघाटमा सहभागीहरुको रोहवरमा आँखाभरी आँसुु लिएर, थरथरी काँपेका हातले तिमीलाई दागबत्ती दिएँ। मिति २०७५/७/२५ गते रातको १२ बजेर १९ मिनेटमा तिम्रो मृत शरीर केही क्षणमा नै खरानी भएर विलिन भयो। तिमी सदाको लागि हामीदेखि बिदा भयौ।’

सोमबार राति २ बजेर २७ मिनेटमा राजेश ढुंगानाले भाइ रवीन्द्रकुमार ढुंगानालाई दागबत्ती दिएको अमिलो क्षण यसरी फेसबुकमा पोखेका थिए। चेक बाउन्सको आरोपमा काठमाडाैंको तारकेश्वर नगरपालिका–११ का ४८ वर्षीय रवीन्द्रकुमार ढुंगानाको कात्तिक १९ गते वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। प्रहरीसँगबाट आइतबार मात्रै ढुंगानाको शव उनका परिवारले बुझ्दै दाहसंस्कारसमेत गरिसकेका छन्।

एक साताभन्दा बढी समय शव नबुझ्दै आन्दोलनमा उत्रिएका ढुंगाना परिवारले अन्ततः शव बुझ्दै दाहसंस्कार गरेका हुन्। तर, समय बित्दै जाँदा घटनाका विभिन्न पाटाहरु झनै रहस्यमय बन्दै गएका छन्।

यसरी भएको थियो रवीन्द्रको मृत्यु

पाँच लाख रुपैयाँको चेक बाउन्स भएपछि महानगरीय प्रहरी वृत बालाजुले उनलाई कात्तिक १८ गते दिउँसो ११ बजे पक्राउ गरेर महानगरीय प्रहरी परिसर टेकु पठाएको बालाजुका डिएसपी चीरञ्जिवी कोइरालाले बताए। जबकी रवीन्द्रलाई बालाजु वृतले पक्राउ गरेको नभई, पक्राउ गर्ने अधिकार नै नभएका प्रहरी अस्पताल महाराजगञ्जका प्राविधिक असई सुरेन्द्र कार्कीले ढुंगानालाई आफ्नै मोटरसाइकलमा राखेर प्रहरी कार्यालय पुर्‍याएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। असई कार्कीले ढुंगानाकी श्रीमतीलाई मिटरब्याजमा पैसा लगाएका थिए। पैसा तिर्न नसकेपछि चेक काट्न लगाएर चेक बाउन्स गराई रवीन्द्रलाई पक्राउ गरिएको थियो।

बिहान ११ बजे पक्राउ गरेर प्रहरी कार्यालय पुर्‍याइएका रवीन्द्रको परिवारले दिउँसो ४ बजे मात्रै पक्राउ परेको जानकारी पाएकाे बताउँछन्। बिना पक्राउ पूर्जी पक्राउ परेका रवीन्द्रलाई प्रहरीले दिउँसोभर हिरासतमा राखेपनि अदालत उपस्थित गराएर पक्राउ पूर्जी भने लिएन।

मुटुको दुई वटै भल्भ फेरेका, मधुमेह, उच्च रक्तचाप र छारे रोगका बिरामी रवीन्द्रले एकाएक मुखबाट फिँज काट्दै आफूलाई असजिलो भएको बताएपछि उनलाई वीर अस्पताल लगेर उपचार गरिएको र उपचारकै क्रममा मृत्यु भएको प्रहरी परिसर टेकुको भनाइ छ। बिना पक्राउ पूर्जी पक्राउ परेको भोलिपल्ट नै मृत्यु भएको र यसमा प्रहरीको कमजोरी भन्दै परिवारले शव बुझ्न मानेका थिएनन्।

अन्ततः असई कार्की र रवीन्द्रको परिवारबीच चेकमा उल्लेख गरिएको ५ लाख रुपैयाँ मिनाहा गर्ने र दुई महिनाभित्र ढुंगानाको परिवारलाई २२ लाख रुपैयाँ दिनेगरी सहमति भएपछि आइतबार मात्रै परिवारले शव बुझेका थिए।

किन तिरियो २७ लाख रुपैयाँ?

पक्राउ परेका रवीन्द्रको प्राकृतिक मृत्यु भनेर वीर अस्पतालबाट जारी ‘डेथ रिपोर्ट’मा नै उल्लेख छ। मुटु, मधुमेह, उच्च रक्तचापलगायत रोगका बिरामी ढुंगानाले मादक पदार्थ सेवन गर्ने गरेका कारण उनको ज्यान गएको चिकित्सकको भनाइ छ। प्रहरी कै भनाइ र चिकित्सकको रिपोर्टलाई आधार मान्दा उनको मृत्युमा प्रहरीको गल्ती देखिँदैन। तर, प्रहरीले गल्ती नै नगरेको मृत्यु प्रकरणमा कसरी तिर्न राजी भयो २७ लाख रुपैयाँ? यो प्रश्न निकै पेचिलो बनेको छ। प्रहरी परिसर काठमाडौंको हाताभित्रै दुई पक्षबीच सो परिमाण बराबरको रकम बुझाउने सहमति भएपछि शव बुझिएको थियो।

सुरुमा घटनामा आफू पीडित रहेको बताउँदै प्रहरीमा पुगेका असई कार्की अन्नतः २७ लाख रुपैयाँ रवीन्द्रका परिवारलाई बुझाउन किन राजी भए? असई कार्की पीडित या पीडक के हुन् त? यी प्रश्नहरुको जवाफ हाल आएर थप पेचिलो बन्दै गएको छ।

तर, पैसाको सहमतिबारे आफूलाई कुनै जानकारी नै नभएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले बताए। उनले भने, ‘उनीहरुबीच के–के सहमति भयो त्यो हामीलाई थाहा भएन। परिवारले शव बुझ्ने भयौं भनेर शव बुझेका हुन्। यसभन्दा बढी हामीलाई जानकारी भएन।’

प्रहरी स्रोतकै अनुसार प्रहरीका उच्च अधिकारीले आफ्नो रकम असई कार्कीमार्फत मिटर ब्याजमा लगाउने गरेको र रवीन्द्रका परिवारले शव नबुझेर आन्दोलनमा उत्रिएपछि मिटर ब्याजको कालो कर्तुत बाहिर आउने भएपछि मोटो रकम दिएर सहमति गराइएको हो।

प्रहरी परिसरमै मेयरको रोहबरमा सहमति

कात्तिक २५ गते आइतबार करिब ११ बजेतिर तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थानीय नेता नारायण सापकोटा र पीडित परिवारसहितको टोली प्रहरी परिसर टेकु पुगेको थियो। सो समय असई कार्की पनि परिसरमै थिए।

पीडित परिवारले मिटर ब्याज र असई कार्कीको कारण रवीन्द्रको मृत्यु भएको भन्दै ४५ लाख रुपैयाँ क्षतिपूर्ति नदिए शव नबुझ्ने अडान लिएका थिए। उनीहरुको टोली पटक–पटक परिसरका प्रहरी अधिकारीको कोठामा पुग्थ्यो। एकछिन छलफल गथ्र्यो। फेरि बाहिर निस्कन्थ्यो। घरी बाझाबाझ गरेजस्तो, घरी मिलेजस्तो गरी दुई पक्षबीच कुराकानी भइरह्यो। यो क्रम दिउँसो ४ बजेसम्म चल्यो।
परिसर भने परिवारलाई जसरी पनि शव बुझ्न दबाव दिन तल्लिन थियो। अन्ततः मेयरकै रोहबरमा ५ घन्टा लामो छलफलपछि दुई पक्षबीच चेकको पाँच लाख रुपैयाँ असई कार्कीले नलिने र दुई महिनाभित्र थप २२ लाख रुपैयाँ रवीन्द्रको परिवारलाई दिने सहमति भएको स्रोतले  जानकारी दियो।

यसबारे मेयर बोहराले आफ्नै रोहबरमा सहमति भएको बताए पनि पैसाको कुराबारे आफूलाई जानकारी नभएको भन्दै पन्छिन खोजे। ‘दुई पक्षबीच सहमति भएको हो। म पनि गएको थिएँ’, मेयर बोहराले भने, ‘पैसाको कुरा चाहीँ उहाँहरुको लेनदेनको कुरा हो। त्योबारेमा मलाई जानकारी भएन।’ परिसर हाताभित्रै मृत्युको मोलमोलाई भएर सहमति हुनु निकै बिडम्बनापूर्ण कार्य हो।

पैसा प्रहरी हाकिमको, एक लाखको दैनिक २ हजार ब्याज

विगत ३ वर्ष अघिदेखि असई कार्कीको र मृतक रवीन्द्रकी श्रीमतीसँग मिटर ब्याजको कारोबार हुँदै आएको थियो। प्रहरी अस्पतालका असई कार्कीले ढुंगाना परिवारलाई मिटर ब्याजमा पैसा दिँदै आएको थिए। असई कार्कीले पनि अस्पतालका प्रहरीका हाकिम र अन्य प्रहरी कार्यालयका उच्च अधिकारीको पैसा मिटर ब्याज लिएर अन्तै लगाउने गरेको स्रोतले जानकारी दियो। असई कार्कीले कहिले फलानो डिएसपीको पैसा, कहिले फलानो प्रहरी हाकिमको पैसा हो भन्दै मिटर ब्याजमा दिने गरेको मृतककी श्रीमती स्वयम्ले समेत यसअघि नै बताइसकेकी थिइन्।

स्रोतले भन्यो, ‘असई कार्कीले कहिलेकाहीँ एक लाख रुपैयाँको एक दिनको दुई हजार रुपैयाँका दरले समेत मिटर ब्याजमा पैसा लगाउने गरेका थिए।’ प्रहरी हाकिमका पैसा असई कार्कीले ३० प्रतिशत ब्याजमा लिने र ४०/५० प्रतिशत ब्याजदरमा ऋण लगाउने गरेको समेत स्रोतले बतायो। प्रहरीका हाकिमको रकममा उनले मध्यस्थतकर्ताको काम गर्ने गरेको प्रहरी प्रधान कार्यालयका एक प्रहरी अधिकारीले बताए।

असईको कोठामा छापा : ३ लाख भन्दा बढी नगद र ठूलो मात्रामा सुनचाँदी बरामद

रवीन्द्रको मृत्यु भएपछि पीडितले असई कार्कीमाथि शंका छ भन्दै अनुसन्धान गर्न आग्रह गरेका थिए। त्यसपछि प्रहरीले असई कार्कीलाई पक्राउ गर्नुको साथै तारकेश्वर नगरपालिकामा रहेको उनको घरमा समेत खानतलासी गरेको स्रोत बताउँछ। प्रहरीले असई कार्कीको कोठाबाट ३ लाख रुपैयाँभन्दा बढी नगद र ठूलो मात्रामा सुनचाँदीका गरगहना बरामद गरेको थियो।

असई कार्कीलाई प्रहरी परिसर काठमाडौंले थुनामा राखेर अनुसन्धान गरेको थियो। ‘हामीले असईलाई थुनामा राखेर अनुसन्धान गरेका थियौं,’ स्रोतले भन्यो, ‘पछि अस्पतालबाट फोन गर्दै छुटाउन दबाव आएपछि छोडिएको हो।’

उता असई कार्कीविरुद्धको किटानी जाहेरी नलिएको भन्ने कुरा सत्य नभएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी लामाको दाबी छ।

छानबिन हुन्छ : एसएसपी सिंह

पक्राउ परेको एक दिनपछि नै ढुंगानाको मृत्यु भएपछि प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी आयुक्त कार्यालय रानिपोखरीकी एसएसपी पूजा सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

बिना पक्राउ पूर्जी त्यो पनि पक्राउको अधिकार नै नभएको प्राविधिक असईले पक्राउ गर्नु र पक्राउ परेको भोलिपल्ट नै मृत्यु भएकाले घटना रहस्यमय भन्दै समिति गठन गरिएको हो। समितिले घटनाको बारेमा अनुसन्धान गरिरहेको बताएको छ।

पक्राउ पूर्जी बिना पक्राउ गर्नुको आधार के? र मृत्यु कसरी भयो? भन्नेबारे समितिले अध्ययन गरिरहेको एसएसपी सिंहले  जानकारी दिइन्। पछिमात्रै पैसा दिएर शव बुझ्न लागको कुरा बाहिर आएकाले त्यसमाथि पनि अनुसन्धान गरिने उनले बताइन्। ‘अहिलेसम्म हामीले कसरी मृत्यु र बिना पक्राउ पुर्जी पक्राउ गर्नुको कारण खोज्दै थियौं’, एसएसपी सिंहले थपिन्, ‘पैसा दिने सहमतिमा शव बुझ्न लगाएको भन्ने कुरा पनि बाहिर आएको छ। त्यसमाथि अब अनुसन्धान सुरु हुन्छ।’नेपाल लाइभ