नुवाकोट । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले प्रदेशभित्र निर्माण सम्पन्न भएर लामो समयदेखि अलपत्र रहेका सबै भ्यूटावर तथा अन्य पूर्वाधार स्थानीय तह वा सरोकार सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने प्रक्रिया तीव्र गतिमा अघि बढाइएको बताउनुभएको छ । उहाँका अनुसार निर्माण सम्पन्न संरचना समयमै स्थानीय तहलाई नबुझाइँदा सरकारले गरेको लगानीको उचित प्रतिफल प्राप्त नहुँदा अब ती संरचना प्रभावकारी रूपमा सञ्चालन गर्न हस्तान्तरण आवश्यक भएको हो।
यही प्रसङ्गमा नुवाकोटको ककनी गाउँपालिका–५ मा निर्माण गरिएको भ्यूटावर तथा मल्टिपर्पोज हल हस्तान्तरण गर्ने तयारी अन्तिम चरणमा पुगेको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको बजेटमा निर्माण गरिएको सो संरचना ३ करोड रुपैयाँभन्दा बढी लागतमा तयार गरिएको हो।
भ्यूटावर सञ्चालनबाट हुने कुल आम्दानीको ३० प्रतिशत प्रदेश राजस्व खातामा जम्मा हुने व्यवस्था सहित नयाँ कार्यविधिमा समावेश गरिएको मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले जानकारी दिनुभयो । उहाँले हामीले बनेका संरचना समयमा हस्तान्तरण नहुँदा प्रदेश प्रतिको नकारात्मक प्रचार समेत बढेको बताउनुभयो।
बागमती प्रदेश संस्कृति पर्यटन मन्त्रालयबाट निर्माण सम्पन्न भई अलपत्र परेका संरचनाहरू उहाँ मन्त्री बनेर आउनु भएको सुरुका दिन हस्तान्तरण गर्न लागि पर्नुभएको छ । उहाँको निर्देशन अनुसार नै हामीले सबै कागजी प्रक्रिया अगाडी बढाई हस्तान्तरणका लागि लागि परेको प्रदेश सचिव सुवेदीले जानकारी दिनुभयो ।
२०७६ सालदेखि बहु वर्षीय योजनाका रूपमा सुरु गरिएको परियोजना सम्पन्न भइसकेपछि स्थानीय तहलाई जिम्मा दिने प्रक्रिया अघि बढाइएको आयोजना प्रमुख रोशन श्रीवास्तवले बताउनुभयो।
आयोजनाको वर्तमान अवस्था बुझ्न मन्त्री श्रेष्ठ, आयोजना प्रमुख श्रीवास्तव तथा सम्बन्धित सरोकारवालाहरू हालै ककनी र नुवाकोटको नै बेलकोट गढी नगरपालिका वडा नम्बर २ मा निर्माण सम्पन्न भएको भ्यूटावर तथा बहु आयामिक भवनहरूको अवलोकनमा पुग्नुभएको थियो । टोलीले भ्यूटावर र मल्टिपर्पोज हलको स्थल अवलोकन गर्नुका साथै हस्तान्तरण प्रक्रिया सहज बनाउन गाउँपालिका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षहरूसँग समन्वय बैठकसमेत गरेको थियो ।
निर्माण सम्पन्न भइसकेको ककनी भ्यूटावर यही मङ्सिर ७ गते औपचारिक रूपमा गाउँपालिकालाई हस्तान्तरण गर्ने प्रदेश सरकारको तयारी रहेको छ।








































