बास नेपालको आयोजनामा सूचनाको हकसम्बन्धी दुईदिने तालिम आजदेखि सुरु भएको छ। अनलाइन माध्यमबाट सुरु गरिएको उक्त तालिम बास नेपालका पदाधिकारी, प्रदेश, शाखा तथा उपशाखाका प्रतिनिधि र सक्रिय सदस्यहरूका लागि आयोजना गरिएको हो।
तालिमको प्रमुख प्रशिक्षक राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा रहनुभएको छ। कार्यक्रममा बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले सहजीकरण गर्नुभएको थियो भने बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत मन्तव्य व्यक्त गर्दै तालिमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो।
तालिममा प्रशिक्षण दिँदै पूर्व प्रमुख सूचना आयुक्त बास्कोटाले सूचनाको हक लोकतन्त्रको ‘बायुप्राण’ भएको उल्लेख गर्दै सूचनाको हकको प्रवर्द्धन र प्रभावकारी प्रचलनले मुलुकमा सुशासन बहाली गर्न महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।
उक्त तालिममा बास नेपालका ३० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ। तालिम भोलिसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।









































