बुक क्लब भक्तपुरद्वारा लेखक लाकाेजुसँग अन्तरसंवाद : साहित्य, संस्कृति र जीवनबारे चर्चा 

0
भक्तपुर। स्थानीय साहित्यिक बहसलाई जीवन्त बनाउने उद्देश्यले बुक क्लब भक्तपुरले कवि तथा बहुआयामिक साहित्यकार सूर्यप्रसाद लाकोजूसँग विशेष अन्तरसंवाद कार्यक्रम आयोजना गरेको छ। करिब दुई घन्टाभन्दा बढी समयसम्म चलेको उक्त कार्यक्रम साहित्य, जीवन, इतिहास, संस्कार र सिर्जनाको गहिरो बहसका रूपमा समापन भएको थियो।
कार्यक्रमको प्रारम्भमा विराट मानन्धरले कवि लाकोजूको जीवनी र साहित्यिक यात्रामाथि विस्तृत प्रकाश पारे। पनौतीको सांस्कृतिक र प्राकृतिक परिवेशमा जन्मिएर हुर्किएका लाकोजूले बाल्यकालदेखि नै जात्रा–पर्व, मठमन्दिर र स्थानीय संस्कारबाट प्रेरणा लिएको प्रसङ्ग उनले प्रस्तुत गरे। अक्षरकर्मप्रतिको लगाव र साहित्यले दिने आत्मिक आनन्दकै कारण आफू लेखन क्षेत्रमा सक्रिय बनेको लाकोजूको भनाइ उद्धृत गरिएको थियो।
कार्यक्रममा लाकोजूका कविता, मुक्तक, कथा, हाइकु, नियात्रा, अनुसन्धानमूलक निबन्ध, संस्मरण, अनुवाद तथा बालसाहित्यसम्म फैलिएको सिर्जनात्मक विस्तारको चर्चा गर्दै उनलाई “बहुभाषिक र बहुविधात्मक स्रष्टा”का रूपमा परिचित गराइयो। नेपालीसँगै हिन्दी, अङ्ग्रेजी र नेपाल भाषामा समेत कलम चलाएर उनले आफ्नै पृथक् पहिचान बनाएको उल्लेख गरिएको थियो।
जवाफ दिने क्रममा कवि लाकोजूले आफ्नो लेखनको मूल प्रेरणा तत्कालीन परिवेश, सामाजिक घटनाक्रम र समाजप्रतिकाे दायित्वबोध भएको बताए। “साहित्य परिवर्तनको प्रतीक हो,” उनले भने, “यसले सिङ्गो समाजलाई सकारात्मक ऊर्जा दिन सक्छ।”
‘घाम’ जस्ता प्रतीकको बारम्बार प्रयोग, समकालीन नेपाली साहित्यमा उनको स्थान तथा अनुसन्धानमूलक कृतिको विश्वसनीयताबारे उठेका जिज्ञासामा उनले स्पष्ट पारे, “‘घाम’ मेरो लेखनमा आशा, ऊर्जा र जीवनदर्शनको प्रतिनिधि हो, जसले निराशाबीच उज्यालोको सम्भावना देखाउँछ।”
अन्तरसंवादमा उनका विभिन्न विधाका कृतिहरूमाथि विशेष चर्चा गरिएको थियो। उनका कविता सङ्ग्रहहरू स्पर्श, मेरो मन मेरो मीत, घामको चुम्बन, मेरो घाम, घाम फुल्ने याम र घामको पर्खाल रहेका छन्। मुक्तक सङ्ग्रहहरू भावनाका फूलहरू, फूलहरूको मेला, शाश्वत स्वरहरू, स्वर्णिम धुन र अक्षरका स्वरूप प्रकाशित छन् भने कथा सङ्ग्रहमा सत्याग्रह उल्लेखनीय छ।
हाइकु सङ्ग्रहमा गुराँस फुल्ने मन र अक्षरका स्वरहरू रहेका छन्। अनुसन्धानमूलक तथा सांस्कृतिक निबन्धहरूमा पनौती, पनौतीको बाह्रवर्षे मकरमेला र पनौतीका केही जात्रापर्वहरू प्रकाशित छन्। जीवनीपरक/प्रेरक कृतिहरूमा प्रेरणाको चौतारी र केही काभ्रेली अक्षरकर्मीहरू–१ समावेश छन्।
बालसाहित्यतर्फ कोपिला, यमरी, घाम उदायो, फूलैफूल, साथी, मेरो सानो घर र मकरको कथा प्रकाशित छन्। नियात्रा कृति आसामको स्पर्श, गीत सङ्ग्रह सुसेली, संस्मरण स्मृतिको आँखिझ्यालबाट तथा सिर्जना–प्रशिक्षणसम्बन्धी सिर्जना लेखनकला समेत उनका महत्वपूर्ण कृतिहरू हुन्।
कार्यक्रम सञ्चालक हरिसुन्दर छुकांले कवि लाकोजूको लेखन यात्रा, चुनौती, अवसर र भविष्यका योजनाबारे दर्जनभन्दा बढी जिज्ञासा राखेका थिए। जवाफमा लाकोजूले आफूलाई “अक्षरकर्मी”को रूपमा परिचित गराउँदै आफ्नो लेखनले देश र समाजलाई सकारात्मक योगदान दिनुपर्छ भन्ने धारणा व्यक्त गरे। अन्तरसंवादका बीचबीचमा कविता वाचन गर्दै उनले देश, काल र परिस्थितिको चित्रणसमेत प्रस्तुत गरे।
उनले लेखकमा लोभ, लालच र डरभन्दा माथि उठेर सत्यको पक्षमा उभिने साहस हुनुपर्ने उल्लेख गर्दै साहित्यमा देखिएका विकृतिप्रति कटाक्ष पनि गरे।
अन्तरसंवादमा काठमाडौंका राजेश केसी, भक्तपुरकी सृजना प्रजापति, भक्तपुरका पुरूषोत्तमलोचन श्रेष्ठ, काभ्रेका श्रीराम कर्माचार्य र खोटाङका श्रीराम राईलगायतले कवि लाकोजूका काव्य प्रवृत्तिगत विशेषता, प्रकृतिप्रेम, आध्यात्मिक संवेदना, सङ्घर्ष र योजनाबारे जिज्ञासा राखेका थिए।
सहभागीहरूले यस्ता कार्यक्रमले साहित्यलाई पाठ्य विषयमात्र नभई जीवित अनुभवका रूपमा बुझ्ने अवसर प्रदान गरेको बताए। कार्यक्रमको अन्त्यमा बुक क्लब भक्तपुरका अध्यक्ष दिनेश प्रधानले कवि लाकोजूलाई मायाको चिनो प्रदान गर्दै आगामी दिनमा पनि स्थानीय तथा राष्ट्रिय स्रष्टासँग नियमित अन्तरसंवाद कार्यक्रम आयोजना गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।