काठमाडौं (टोखा)।
काठमाडौंको टोखा नगरपालिका–स्थित झोर क्षेत्रमा रहेको बौडेश्वर मन्दिर लाई ‘दोस्रो कैलाश–मानसरोवर’का रूपमा विकास गर्न सकिने सम्भावना देखिएको छ।
स्थानीय किंवदन्तीअनुसार भगवान शिव कैलाश–मानसरोवरबाट गोसाइकुण्ड जाने क्रममा टोखाको झोरमा रहेको विशाल ढुंगाभित्र बसेर ध्यान तथा विश्राम गरेका थिए। यही विश्वासका आधारमा स्थानीयवासीहरूले उक्त स्थललाई धार्मिक दृष्टिले महत्वपूर्ण मान्दै आएका छन्।
अर्को किंवदन्तीअनुसार शिवजीले भष्मासुर लाई दिएको वरदानकै कारण उत्पन्न संकटबाट बच्न उक्त गुफानुमा ढुंगाभित्र प्रवेश गरेका थिए। विशाल शरीरका कारण भष्मासुर भित्र पस्न नसकेको र शिवजी सुरक्षित रहेको भन्ने जनविश्वास रहेको छ।
स्थानीयका अनुसार उक्त विशाल ढुंगाभित्र महादेव, सतीदेवी र गणेश का साना शिलाहरू रहेका छन्, जहाँ दर्शनार्थी तथा पर्यटकहरू पुगेर पूजा गर्ने गरेका छन्। सतीदेवीको दायाँ स्तन पतन भएको स्थान मानिने भएकाले पनि यस क्षेत्रको धार्मिक महत्व अझ बढेको विश्वास गरिन्छ।
स्थानीय परम्परा र विश्वासअनुसार यस क्षेत्रको उल्लेख स्वस्थानी मा समेत रहेको दाबी गरिन्छ। विशाल ढुंगाभित्र रहेको मन्दिरलाई ‘गुफाभित्रको मन्दिर’का रूपमा चिनिन्छ।
वर्षायाममा माथिबाट झर्ने पानीका कारण बाहिरी भाग झरनाजस्तो देखिने हुँदा यो क्षेत्र ‘झोर झरना’का रूपमा परिचित छ। ढुंगाको माथिल्लो भागमा तपस्या गर्ने स्थान तथा गणेश र महादेवको आकृतिजस्ता देखिने शिलाहरू समेत रहेका छन्। गणेशको वाहन मुसाजस्तो देखिने शिलालाई पनि स्थानीयले आस्थाका साथ पूजा गर्ने गरेका छन्।
स्थानीय बासिन्दा रामेश अधिकारीका अनुसार, “शिवजीले ध्यान र तपस्या गरेको विश्वासका कारण यो क्षेत्र धार्मिक रूपमा अत्यन्त शक्तिशाली मानिन्छ। अब यसलाई दोस्रो कैलाश–मानसरोवरका रूपमा स्थापित गर्ने प्रयास भइरहेको छ।”
यद्यपि, पर्याप्त प्रचार–प्रसार र पर्यटन पूर्वाधारको अभावका कारण यो महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल अझै ओझेलमा परेको टोखा नगरपालिका ले जनाएको छ।









































