भक्तपुरका मल्लको सहयोगमा आँधिबेहरी प्रभावित क्षेत्रमा भारतको राहत वितरण

649

बारा । पर्सा र बारामा आइतवार आएको विनाशकारी आँधिहुरीबाट प्रभावित क्षेत्रमा भक्तपुरका मन्जित मल्लको सहयोगमा भारतीय दुतावासले राहत सामग्री वितरण गरेका छन् ।

बिरगंजस्थित भारतीय महावाणिज्य दुतावासले भक्तपुर निवासी मन्जित मल्लको सहकार्यमा बुधवार प्रभावित क्षेत्रमा राहतका सामग्रीहरु वितरण गरिएको छ ।

बारा जिल्लाको सुवर्ण गाउँपालिका वडा नम्बर ४,५ र ८ का पीडित परिवारलाई भारतीय महावाणिज्य दोतावास र मल्लका टोलीले राहत वितरण गरेका हुन् ।

१ लिटरको २ सय थान रियल जुस, २ सय थान त्रिपाल , २ सय कार्टुन पानी र २ सय कार्टुन चाउचाउ लगाएतका सामग्री वितरण गरिएको सहकार्यकर्ता मन्जित मल्लले जानकारी दिनुभयो ।

फेटा गाउँपालिकामा अन्य राजनीतिक दल संघ संस्था लगाएतका राहत वितरण टोली केन्द्रित हुँदा अन्य गाउँपालिकामा भने पिडित झन पिडामा परेको उहाँको गुनासो समेत रहेको थियो ।

राहत वितरणका ‘सहजकर्ता मल्लले भन्नुभयो ’भारतीय महावाणिज्य दूतावासले बारा जिल्लाको प्रमुख जिल्ला अधिकारीको समन्वयमा नै सुवर्ण गाउँपालिकामा राहत वितरण कार्यक्रम गरिएको हो । यदि यतिले नपुग हुने भए आफूहरु अन्य सामग्री जुटाउन लागी पर्ने समेत उहाँले बताउनुभयो ।’

बुधवार मल्ल लगाएतका टोली प्रभावितका घर घर मा नै पुगेर ७१ प्रभावितलाई राहत वितरण गरिएको थियो । वितरणपछि बाँकी रहेका सामानहरु त्यस गाउँपालिकाका उपाध्यक्ष बबिता यादवलाई र वडा नम्बर ४, ५ र ८ का वडाध्यक्षहरुलाई प्रभावितलाई वितरणमा गरिदिनका लागि हस्तान्तरण गरिएको मल्लले जानकारी दिनुभयो ।

विपतको घडीमा भारत सरकार सहयोग गर्न तयार
बारा जिल्लामा आएको विनाशकारी शक्तिशाली आँधिबेहरीका कारण नेपालमा भएको घटनाप्रति भारत सरकार अत्यन्तै दुखी भएको महावाणिज्यदुत बीसी प्रधानले बताएका छन् । यस शोकको घडीमा भारत सरकारको तर्फबाट आधिकारिक रुपमा यसअघि नै शोक वक्तव्य जारी गरीसकेको भन्दै प्रधानले लोकान्तरसँग भने, ‘यति ठुलो जनधनको क्षति भएकोमा भारत सरकारको तर्फबाट र म आफ्नो व्यक्तिगत तर्फबाट पनि दुख व्यक्त गर्न चाहन्छु ।’

मृतकको त कुनै क्षतिपूर्ति हुन सक्दैन तर राहत, उद्धार तथा पुनःस्थापनाका कामका लागि सबै प्रकारको सहयोग गर्न भारत सरकार तयार रहेको उनले बताए । यदि नेपाल सरकारले कुनै पनि किसिमको सहयोगको इच्छा जाहेर गरे भारत सरकार त्यसका लागि तयार रहेको महावाणिज्यदुत प्रधानले बताए ।

रहत वितरण कार्यक्रममा महावाणिज्यदुत प्रधान लगाएत समाजसेवी मन्जित मल्ल,गौरभ चौलागाई, विनय कर्माचार्य, नविन यादव,उमेश श्रेष्ठ लगाएतका समाजसेवीहरुको उपस्थिती रहेको थियो ।