भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ३ झौखेलमा श्रीमानले श्रीमती कुटेर हत्या गरेका छन् ।
झौखेल पिपल बोट नजिकै मनोज कुमार बुढाथोकीको घरमा डेरा कोठा गरी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. ८ घर भएका सन्तोष भुजेलले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती पवित्रा राईलाई कुटपिट गर्दा उनको मृत्यु भएको हो ।
कुटपिटबाट गम्भीर घाइते भई उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा राईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
लास पोस्टमार्टमको लागि भक्तपुर अस्पतालमा राखिएको र घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको प्रहरीले जानकारी दिएको छ । घटनामा संलग्न सन्तोष भुजेललाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको समेत प्रहरीले जानकारी दिएको छ ।








































