भक्तपुरको समृद्दिका लागि काँग्रेसको विकल्प छैन : खत्री 

3342

भक्तपुर नेपाली कांगे्रसको राजनीति वृत्तमा लोकप्रिय नाम हो जीवन खत्री । कांग्रेस परिवारमा जन्मिएका खत्री नेपाल विद्यार्थी संघको राजनीतिबाट शुरु गरेर स्ववियु सदस्य, स्ववियु सभापति, जिल्ला सभापति हुँदै केन्द्रीय सदस्यसम्म भएका छन् । पार्टीको राजनीतिमा क्षेत्रीय सचिव हुँदै हाल भक्तपुर क्षेत्र नं. १ को सभापति रहेका छन् । आसन्न निर्वाचनमा प्रदेश नं. ३ अन्तर्गत भक्तपुर क्षेत्र नं. १ क चाँगुनारायण नगर क्षेत्रबाट संयुक्त लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका छन् । यसै निर्वाचनको सेरोफेरोमा रहेर उहाँसँग गरेको कुराकानी ।

आफ्नो परिचय दिनुस न ।

म जीवन खत्री । मेरो घर साविक वागेश्वरी गा.वि.स, हाल चाँगुनारायण नगरपालिका वडा नं. ७ हो । राजनीतिक पृष्ठभूमी भन्नु पर्दा २०५२ सालदेखि नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनीति शुरु गरेर २०५५ सालमा भक्तपुर बहुमुखी क्याम्पसको स्ववियु सदस्य हुँदै २०५७ मा स्ववियु सभापति र जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्यसम्म भएको छु । यता पार्टीको राजनीतिमा १२औं महाधिवेशनबाट क्षेत्रीय सचिव र १३औं महाधिवेशनबाट भक्तपुर क्षेत्र नं. १ को क्षेत्रीय सभापति भएर नेपाली कांगे्रस पार्टीको विस्तारमा अघि बढिरहेको छु । साथै विभिन्न संघसंस्थाका माध्यमबाट सामाजिक क्रियाकलापमा सक्रिय रहेको छु । अहिले संयुक्त लोकतान्त्रिक गठबन्धनको भक्तपुर क्षेत्र नं. १ क चाँगुनारायण क्षेत्र अन्तर्गत प्रदेश सभा सदस्यको प्रत्यक्ष उम्मेदवार हुँ ।

 गठबन्धनले तपाईंलाई नै टिकट दिनुको कारण के हो ?

भातृ संगठन र पार्टीको पदमा रहेर पार्टीको विकास र विस्तारमा लागिरहेको छु । अन्य सामाजिक संघसंस्थाका माध्यमबाट जनतासमक्ष पनि पुगिरहेको छु । विपक्षी पार्टी कार्यकर्ताहरुलाई मनाउन सक्ने खुबी पनि मसँग छ । यसले गठबन्धनलाई चाँगुनारायण न.पा. क्षेत्रबाट जिताउन सक्छ भनेर टिकट दिएको हो जस्तो लाग्छ । त्यही भएर पार्टीलाई जिताउन लागि परेको छु ।
पार्टीलाई जिताउन लागि परेको छु भन्नु हुन्छ । के घरदैलो कार्यक्रम शुरु गरिसक्नु भयो ?

अँ । हामीले मंसिर १ गतेबाटै घरदैलो कार्यक्रम शुरु गरिसक्यौं । १ गते ताथलीबाट शुरु गरेको घरदैलो कार्यक्रम १७ गते दुवाकोटको सरस्वती खेलमा गएर टुंग्याउदै छौं । यस बाहेक क्रियाशिल सदस्य भेला, महिला भेला, शुभेच्छुकहरुसँगको भेटघाट, गठबन्धनका कार्यकर्ताहरुसँग रणनैतिक गोष्ठी, प्रशिक्षण र जनताको घरसम्म पुग्ने काम भइरहेको छ ।

 जनताको घरसम्म पुग्ने काम भइरहेको छ भन्नु हुन्छ, जनताको माग र चाहनाहरु के के छन् नि ?

जनताको माग भनेको विकास निर्माण, स्वच्छ खानेपानी, निःशुल्क स्वास्थ्य उपचार, गुणस्तरीय शिक्षा, रोजगारी, मलविउको सहजता र बढीभन्दा बढी सुविधा उपलब्ध होस् भन्ने नै हो भने विनाशकारी भूकम्पबाट क्षेतीग्रस्त घरहरुको पुननिर्माणका लागि सम्बन्धित निकायसँग पहल गर्न आग्रह गर्नु भएको छ । गत स्थानीय निर्वाचनबाट विजयी भएका प्रतिनिधिहरुसँग सन्तुष्ट हुन सकिरहेका छैनन् ।

जनताहरुले विकास निर्माण चाहिरहेका छन् । उनीहरुको अपेक्षा कसरी पूरा गर्नु हुन्छ ?

सर्वप्रथम पार्टीको घोषणा पत्र अनुसारको योजना कार्यान्वयन गर्न तर्फ लाग्ने छु । २० वर्षसम्म कर्मचारीतन्त्र हावी हुँदा विकास निर्माण सोचेअनुरुप हुन सकेन । गत स्थानीय निर्वाचनबाट जनताहरु उत्साहित भएर भोट हाल्नु भएको थियो तर जित्ने पदाधिकारीहरुबाट धेरै अपेक्षा राखेका थिए तर त्यसको प्रत्याभूति हुन नसकेपछि अहिले म र मेरो गठबन्धनमाथि भरोसा गर्न थाल्नु भएको छ । म उहाँहरुको मागलाई जसरी पनि पूरा गर्न लागि पर्नेछु । चाँगुनारायण नगर क्षेत्र विकास निर्माणले बढी सम्भावना बोकेको क्षेत्र हो । नेपालकै पुरानो मन्दिर चाँगुनारायण मन्दिर यसै क्षेत्रमा पर्दछ ।

चाँगुनारायण मन्दिर क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा विकास गर्ने, नगरकोट र तेलकोट क्षेत्रलाई बाह्य तथा आन्तरिक पर्यटक स्थलको रुपमा विकास गर्ने र विदेशी मुद्रा आर्जन गरी समृद्ध क्षेत्र बनाउने योजना बनाएको छु । चाँगुनारायणभित्र भित्रिने बाह्य पर्यटनलाई प्रवेश शुल्क लगाउनु भन्दा कसरी २–३ दिनसम्म यहाँ रहन सक्छन् भन्ने विषयमा ध्यान पु¥याउने योजना बनाएको छु । यहाँका जनताका चाहनाहरु शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलाई प्राथमिकताका साथ अघि बढाउने छु ।

परम्परागत कृषि प्रणालीलाई विस्थापित गर्दै आधुनिक कृषि प्रणाली अपनाउन सरल मूल्यमा मल, विउको सहज व्यवस्था गरिदिने, व्यवसायिक रुपमा खेती गर्न प्रोत्साहन गर्ने र नगदे बालीतर्पm आकर्षित गर्न सरल ब्याजदरमा ऋणको व्यवस्था गर्नुका साथै सिँचाइको सुविधा उपलब्ध गराउने प्रदेश सभा मार्पmत गर्ने छु । यहाँको जल, जमिन र जङ्गललाई यस क्षेत्रको स्थानीयहरुको समुचित र समानान्तर प्रयोग गर्न पाउने व्यवस्थाका लागि आवश्यक पहल गर्नेछु । यस क्षेत्रमा ढुंगा, पाँगो, बालुवा लगायतका खानीहरु रहेकाले पर्यावरणलाई असर नपर्ने गरी उत्खनन् गर्दै यस क्षेत्रको आयमा बृद्धि गरी विकास निर्माणलाई थप मद्दत पु¥याउने छु ।

यस क्षेत्रमा अव्यवस्थितरुपमा संचालित ईट्टाभट्टा, कलकारखानालाई व्यवस्थित गरी ठूला उद्योगहरु खोल्न प्रोत्साहन गर्दै विश्व जगतलाई नै यो नगरपालिकालाई नमुना क्षेत्रको रुपमा स्थापित गर्ने योजनालाई प्रदेश सभा मार्फत पूरा गर्नेछु ।

 मतदाताले लोकतान्त्रिक गठबन्धनलाई भोट हाल्छन् त ?

देशको एक मात्र लोकतान्त्रिक पार्टीका साथै देशको अभिभावकत्व ग्रहण गर्न सक्ने पार्टी नै नेपाली कांगे्रस हो । नेपाल प्रजातन्त्रको स्थापनाकालदेखि नै अहिले रहेको लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म समेत अहम भूमिका खेल्दै संविधान निर्माणमा समेत सक्रिय रुपमा नेतृत्वदायी भूमिका खेलेको पार्टी हो । बाम गठबन्धनबाट देशको निकास ननिस्किने गरी लोकतन्त्रप्रति खतरा हुने भयले नेपाली कांग्रेसको नेतृत्वमा लोकतन्त्रवादीहरुको गठबन्धन भएको हो ।

आसन्न निर्वाचनमा बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको बिचमा प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय निर्वाचनको परिस्थितिले गर्दा र संविधान कार्यान्वयनसँगै आम नेपालीको आर्थिक, सामाजिक, राजनैतिक र शैक्षिक समृद्धिको लागि पनि लोकतान्त्रिक गठबन्धनबाटै सम्भव हुनेमा जनताहरु सचेत हुनुहुन्छ । यही आधारले पनि भक्तपुर क्षेत्र नं. १ प्रदेश सभा र प्रतिनिधि सभातर्पm भोट दिएर लोकतान्त्रिक गठबन्धनलाई विजय गराउन हुन्छ भन्नेमा म विश्वस्त छु ।

 स्थानीय निर्वाचनको प्रभाव त पर्दैैन नि तपाईंको क्षेत्रमा ?

हामीले स्थानीय निर्वाचनमा पराजय भोग्नु परेकोबाट पाठ सिकेर अघि बढिसकेका छौं । हाम्रो विजय सुनिश्चित जस्तो देखेर त्यही अनुरुप लागि प¥यौं । केही कमी कमजोरी हामीबाट पनि भए भने विपक्षी दलहरुले पनि कांग्रेसलाई जिताउन हुँदैन भनेर अदृश्य गठबन्धन गर्ने रणनीति सफल भयो । यो क्षेत्र हाम्रो आधार क्षेत्र पनि हो । स्थानीय निर्वाचनको कुनै प्रभाव पर्ने देखिदैन । राप्रपालगायत लोकतान्त्रिक पार्टीहरु हामीसँग छ । हामी चुनाव जित्ने रणनीति बनाएरै यस क्षेत्रमा अघि बढेका छौं ।

अन्त्यमा,

 मुखभन्दा पनि रुख हेरेर मतदान गरी यस क्षेत्रको प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यमा विजयी गराउन अनुरोध गर्दछु । नेपाली कांग्रेसले आम नागरिकमाथि गरेको सबै खाले प्रतिबद्धतालाई कार्यान्वयन गर्न लागि पर्ने, यस क्षेत्र र क्षेत्रवासीको समृद्धिका लागि अहोरात्र खट्ने बचन पनि दिन्छु । यहाँको कला, सँस्कृति र सम्पदाहरुको जगेर्ना गर्दै समृद्ध चाँगुनारायण क्षेत्रको निर्माणमा लागि पर्नेछु । यहाँहरुको विकासका लागि कुनै पनि लाभ र स्वार्थमा लाग्ने छैन । त्यसैले नेपाली कांग्रेसको रुख चिन्हमा छाप लगाई प्रतिनिधि सभातर्फ प्रत्यक्ष उम्मेदवार बाबुराजा जोशी र प्रदेश सभा सदस्यमा जीवन खत्रीलाई विजयी गराउन हुन हार्दिक अपिल गर्दछु ।