भक्तपुरमा प्रमुख कोइरालाको गैरजिम्मेवारीपनले भूमि सुधारको काम ठप्प

550

भक्तपुर : काठमाडौं तिलगंगाका ६० वर्षीय बृद्ध अर्जुन नेपाल भूमि सुधार कार्यालय भक्तपुर धाएको पूरा ३ महिना भइसकेको छ।

जग्गाधनी स्वयं आफैं र कुमारी गाइजु मोही भएको भक्तपुर सुडालको जग्गा बाँडफाँटको लागि निवेदन दिएर सबै प्रक्रिया पूरा भई कित्ताकाटका लागि प्रमुखले निर्णय गर्न मात्र बाँकी रहेको नेपालले बताए।

‘म र मोहीले दिनुपर्ने काजजपत्र सबै मिलाएर दिएर सनाखत गरी आवश्यक सबै काम पूरा भइसकेको छ। तर प्रमुखले निर्णय दिने बेलामा रोकिएको छ। रोकिएको बारेमा न कारण देखाउँछ न त निर्णय नै गर्छन्। धाउँदा धाउँदा निकै गाह्रो भइसक्यो। हाकिमले कामै गरी दिएन, ‘उनले भने, ‘जहिले आउँदा पनि हाकिम सा’व आउनुभएको छैन भन्नुहुन्छ। कहिले मन्त्रालयमा मिटिङ छ भन्छन्। कहिले मालपोतको काममा व्यस्त छ भन्नुहुन्छ। सबै काम सकियो प्रमुखको निर्णय मात्र बाँकी छ।’ त्यसैगरी साविक सुडाल ४-३ ङ १ को कित्ता नं ४५१ को एक रोपनी जग्गाको पनि बाँडफाँट निवेदन हालेर सबै काम सकिएको तर निर्णय गर्न मात्र बाँकी रहेको बेला प्रमुखले निर्णय नगर्दा दैनिक भूमिसुधार धाउनु परेको पीडित रामप्रसाद प्रजापतिले बताए।

‘महिनौँ बितिसक्यो मेरो ५ वटा फाइल त त्यसै थन्किएको छ। नत थन्किएको कारण देखाउँछ। न त निर्णय नै गरिदिन्छ’, उनले भने, ‘धाउँदा धाउँदा दिक्क लागिसक्यो। अहिलेको हाकिमले पैसावाला, पावरवाला र जिल्लाका नेताहरूको आदेशमा बन्द कोठामा बसेर फाइलहरू गुपचुप रुपमा निर्णय गर्छन्। हामी जस्ता सोझा जनताको फाइलमा भने निर्णय नै गर्दैन। कि त नहुनुको कारण दिनुपर्‍यो। जानुपर्ने ठाउँमा जाउँला, कि त निर्णय गरीदिनु पर्‍यो। ऐन नै थाहा नपाएको हाकिम हामीलाई चाहिँदैन।

मोही बद्री नारायण रन्जित र जग्गाधनी रत्नचन्द्र बुद्धाचार्यसमेतले सुडालकै जग्गाको विषयमा आवश्यक काजपत्रको अंग पुर्‍याई वाँडफाँटको लागि संयुक्त निवेदन दिएर सबै प्रक्रिया पुर्‍याए पनि प्रमुखको निर्णयका कारण अन्तिम समयमा रोखिएको अधिवक्ता अञ्जन बासुकलाले बताए। उनले भने, ‘जग्गा धनीले पुर्जा, सिफारिस र नक्सासहित वाँडफाटको लागि निवेदन दिएर मोहीले अस्थायी निस्सा दिई नामसारीका लागि दुवै जना संयुक्त निवेदन दिएर सबै अंग पुर्‍याए। तर निर्णय गर्ने बेलामा रोकियाे। केले राक्यो कारण दिँदैन।’

खाली जनतालाई दुःख दिने काम मात्र भइरहेको छ। कमसेकम भूमिसुधार ऐन २६ घ मोही र जग्गाधनीले हिस्सा छुट्याइ लिन पाउने भन्ने ऐन छ। त्यही ऐनलाई टेकेर निर्णय भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर भूमिसुधारमा मोही र जग्गाधनीबीच जग्गा बाँडफाँड कार्य ठप्प हुँदा हजारौं सेवाग्राही मर्कामा परेका छन। कार्यालय प्रमुख ध्रुवप्रसाद कोइरालाको गैरजिम्मेवारपन र उनको कमजोर निर्णय क्षमताका कारण सयौं मिसिलको काम ठप्प भएको छ।

प्रमुख कोइराला कार्यालय नआउने, आए पनि एक घण्टा पनि नबस्ने, पेश भएका मिसिलमा अनेक बखेडा झिकेर सेवाग्राही समेतलाई हप्कीदप्की गर्ने, अनेक खालका प्रश्न गरेर हतोत्साही गर्ने प्रवृत्तिले जग्गा बाँडफाँड लगायत काम ठप्प भएको हो। उनले कर्मचारी समायोजन कार्य टुंगाे नलागेसम्म कुनै पनि काम नगर्न कर्मचारीलाई मौखिक निर्देशन दिएका कारण पनि भूमि सुधारको काम ठप्प भएको स्रोतको भनाई छ।

कोइराला कार्यालय प्रमुख भएर आएपछि जग्गा वाँडफाँटको काममा पूर्णविराम लाग्नुका साथै अन्य काममा समेत बाधा पुगेको स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रमुख कोइरालामा निर्णय क्षमता अत्यन्त कमजोर रहेको छ। उनले ऐनले दिएको अधिकार र प्रावधानलाई समेत लत्याउने गरेको छ। जग्गाको दोहोरो स्वामित्व अन्त्यका लागि सरकारले भूमिसुधारमा संशोधन गरी दफा २६ घ मा जग्गाधनी र मोही एक आपसमा मञ्जुर हुन सकेनन्। जग्गाधनी वा मोहीमध्ये कुनै एक पक्षले जग्गा बाँडफाँडको निवेदन दिएमा तोकिएको अधिकारीले जग्गाधनी वा मोही झिकाई आवश्यक प्रमाण बुझ्नु पर्ने भएमा सो समेत बुझी नरमगरम मिलाई जग्गाधनी र मोहीलाई आधा आधा हुने गरी जग्गा बाँडफाँड गरी दिनुपर्ने व्यवस्था गरेको छ। यसलाई कानुनी भाषामा एकतर्फी जग्गा बाँडफाँड भनिन्छ।

प्रमुख कोइरालाले एकतर्फी जग्गा बाँडफाँड गर्न पाउने कानुनी व्यवस्था कार्यान्वयन नगर्दा दर्ता भएका करिब २० प्रतिशत निवेदनको किनारा लाग्न नसकेको स्रोतले बतायो। स्रोतका अनुसार प्राविधिक समस्याका कारण २० प्रतिशत निवेदनको अन्तिम टुंगो लाग्न सकेको छैन। जग्गाको कित्ताकाट गर्दा कम्तिमा २० फिट मोहडा हुनुपर्ने र कम्तिमा साँढे दुई आना क्षेत्रफल हुनुपर्ने व्यवस्थाले करिव २० प्रतिशत निवेदनको अन्तिम टुंगो लाग्न नसकेको भूमिसुधारका एक कर्मचारीले जानकारी दिए।

प्रमुख कोइरालाले ऐनको २६ घ अनुसार जग्गाधनीको हदवन्दी छ भने मोहीको तर्फबाट, मोहीको हदवन्दी छ भने जग्गाधनीको तर्फबाट गर्नुपर्ने काम समेत रोकिदिएका कारण सेवाग्राही आजित भइरहेको कार्यालय स्रोतले जनाएको छ। दैनिक जसो सेवाग्राहीको कचकचले पछिल्लो समय कर्मचारीले समेत सरुवा मागेर अन्यत्र गएका छन्। कार्यालय प्रमुख कोइरालाको गैरजिम्मेवारी कारण कार्यालयमा कर्मचारी समेत अभाव भएको छ।

१८ जना कर्मचारीको दरवन्दी रहेको कार्यालयमा अहिले कार्यालय प्रमुख कोइराला, २ जना अधिकृत मध्ये रामप्रसाद मचामसी एक जना, ५ जना नासु मध्ये नारायण मिश्र एक जना, खरिदार एक जना, कार्यालय सहायक ३ जनागरी ६ जना मात्रै बाँकी रहेको छ। प्रमुखकै कारणले कार्यालयका तुलामणि राजभण्डारी र नारायणबहादुर थापाले रमाना लिएका छन् भने रामेश्वर धिमाल र भोला भण्डारी चिठी लिएर गइसकेको छ।

नेपाल सरकारले मोही र जग्गाधनीबीच जग्गा बाँडफाँड गरी जग्गाको दोहोरो स्वामित्व अन्त्य गर्न गर्न भदौं ४ गतेसम्म निवेदन दिनुपर्ने म्याद जारी गरेको थियो। सो अवधि भरमा भक्तपुर भूमिसुधारमा करिव ८ हजार निवेदन दर्ता भएको थियो। त्यसमध्ये करिव एक हजार सात सय निवेदनको अन्तिम किनारा लागेको भूमिसुधार कार्यालय स्रोतले जानकारी दिएको छ।

भक्तपुरमा जग्गा बाँडफाँडका ६ हजार भन्दा बढी निवेदनको काम भने बाँकी रहेको छ। निवेदनको अन्तिम किनारा लगाइ सक्नुपर्ने अन्तिम मिति २०७६ भदौं ४ गतेसम्म रहेको छ। ‘समयसिमा पाँच महिनामात्र बाँकी रहेको अवस्थामा भूमिसुधार कार्यालयमा सेवाग्राहीको कुम्भमेला लाग्नुपर्ने समयमा कार्यालय भने सुनसान रहेको छ। कार्यालयमा न त कार्यालय प्रमुख भेटिन्छ न त कर्मचारीहरू नै। कार्यालय प्रमुख र कर्मचारी नभएपछि सेवाग्राही पनि आउन छाडेकाले कार्यालय सुनसान भएको हो’ एक कर्मचारीले भने।