भक्तपुर औद्योगिक क्षेत्रलाई घरेलु तथा साना औंद्योगिक क्षत्रे बनाउनु पर्छ : विजुक्छे

416

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुर औद्योगिक क्षेत्रलाई घरेलु तथा साना औंद्योगिक क्षेत्रको रुपमा अघि बढाउनु पर्ने बताउनुभएको छ ।

भक्तपुर घरेलु तथा साना उद्योग संघको १४ औं र महिला उद्यमी समितिको १३ औं जिल्ला अधिवेशन उद्घाटन गर्दै उहाँले भक्तपुर औद्योगिक क्षेत्र साना तथा घरेलु उद्योग प्रवद्दनका लागि बनाईएको थियो तर त्यसमा ठुला तथा उद्योगी ब्यवसायीले मात्र ठाउँ पाउनु दुःख दायी भएको बताउनुभयो ।

भक्तपुर औद्योगिक क्षेत्र भक्तपुरका उद्योगीहरुलाई प्रोत्साहनका लागि निर्माण भएपनि अधिकाँस उद्योग भक्तपुरेको पहुँच बाहिर तथा रोजागारीको विषयमा पनि भक्तपुर बासीको पहुँच बाहिर रहेको उल्लेख गर्दै अव भक्तपुर नगरपालिकाले यसको समाधान स्वरुप साना तथा घरेलु उद्योगको लागि उक्त स्थान खाली गराउनु पर्ने उहाँको धारणा थियो ।

कार्यक्रममा सहभागी भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिलाई इंगित गर्दै अध्यक्ष बिजुक्छेले भन्नुभयो ‘भक्तपुर विकास परियोजनाअन्तर्गत जर्मन सरकारले यहाँका घरेलु तथा साना उद्योगलाई लागि भक्तपुर साना औद्योगिक क्षेत्र निर्माण गरिदिएको हो । तर त्यहाँ ठूला उद्योगी व्यवसायीहरुले मात्रै ठाउँ पाए । अब भक्तपुर नगरपालिकाले नेतृत्व गरेर त्यसलाई उद्देश्यअनुसार साना औद्योगिक क्षेत्र बनाउनुपर्छ ।’

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग संघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले सरकारले हजारौं युवाहरुलाई तालिम दिए पनि उद्योगी व्यवसायीहरुले दक्ष कामदार पाउन नसकिएको गुनासो गर्नुभएको थियो ।

कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धनको लागि नगरपालिका लागि परेको बताउनुभयो । उहाँले प्रदूषणमूलकभन्दा पर्यटन प्रवद्र्धन हुने घरेलु तथा साना उद्योगलाई प्रवद्र्धन गर्ने नपाको नीति रहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्षद्वय मोहनप्रसाद कटुवाल र चन्दनकृष्ण श्रेष्ठ, केन्द्रीय कोषाध्यक्ष सत्यनारायण प्रजापति, प्रदेश ३ संयोजक सूर्य कँडेल, केन्द्रीय महिला उद्यमी समितिकी सभापति शिवा उपाध्याय, भक्तपुर घरेलु कार्यालयका प्रमुख सुवोधकुमार साह, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष वीरेन्द्र जती, सचिव प्रेमकृष्ण खर्बुजा, महिला उपसमितिकी सभापति सत्यभामा प्रजापतिलगायतले भक्तपुर घरेलु तथा साना उद्योगहरुको लागि छुट्टै औद्योगिक ग्रामको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभएको थियो ।