भक्तपुर घोषणापत्र २०८२ जारी : महिलाको समानुपातिक समावेशिताबाट न्यायपूर्ण समाज निर्माणको जोडदार माग

0

भक्तपुर । कानून व्यवसायी महिलाहरुको ३२औँ राष्ट्रिय सम्मेलनले “महिलाको समानुपातिक समावेशिताः परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितता” भन्ने मूल नारासहित भक्तपुर घोषणापत्र २०८२ जारी गरेको छ। नेपाल बार एशोसिएशन को आयोजनामा भक्तपुर मा २०८२ साल चैत्र ६ र ७ गते सम्पन्न सम्मेलनले लैङ्गिक न्याय, समानता, समावेशिता तथा स्वतन्त्र न्यायपालिकाको सुदृढीकरणमा विशेष जोड दिएको हो।

घोषणापत्रमा नेपालको संविधानले प्रत्याभूत गरेको समानता, अविभेद र समानुपातिक समावेशिताको सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्न राज्यका सबै निकायमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। साथै अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी प्रतिबद्धताहरुलाई आत्मसात गर्दै महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव र हिंसाको अन्त्य गर्न ठोस पहल गर्न माग गरिएको छ।

सम्मेलनले विशेषगरी २०८२ भाद्र २३–२४ मा उत्पन्न विषम परिस्थितिका कारण अदालत, बार तथा न्यायिक निकायमा पुगेको क्षतिको शीघ्र पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको छ। त्यस्तै, कानून व्यवसायीहरुको पेशागत सुरक्षा, क्षतिपूर्ति तथा संस्थागत सुदृढीकरणका विषयलाई प्राथमिकतामा राखिएको छ।

घोषणापत्रमा न्यायपालिका, संवैधानिक आयोग तथा राज्यका अन्य निकायमा हुने नियुक्ति र मनोनयनमा समानुपातिक समावेशी सिद्धान्त लागू गर्दै महिलाको सहभागिता सुनिश्चित गर्न जोडदार माग गरिएको छ। साथै नेपाल बार एशोसिएशन र यसका इकाइहरुमा हुने निर्वाचनमा महिलाको कार्यकारी तहसम्म प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ।

कानून व्यवसायी महिलाको क्षमता अभिवृद्धि, नवप्रवेशीका लागि मेन्टरसिप, न्यूनतम पारिश्रमिक र पेशागत स्थायित्व सुनिश्चित गर्न कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ। वरिष्ठ अधिवक्ताहरुलाई कम्तीमा एक महिला कानून व्यवसायीलाई पेशामा स्थापित गराउन प्रोत्साहित गर्नुपर्ने माग समेत राखिएको छ।

सामाजिक सञ्जालमार्फत हुने चरित्र हत्या, अपमानजनक अभिव्यक्ति तथा डिजिटल हिंसाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता कार्यमा संलग्नलाई कानूनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरिएको छ। साथै कार्यस्थलमा हुने हिंसाविरुद्ध उजुरी तथा सुनुवाइ संयन्त्र तत्काल गठन गर्नुपर्ने पनि घोषणापत्रमा उल्लेख छ।

प्रजनन स्वास्थ्य, गर्भपतन सेवा, यौन तथा प्रजनन अधिकारको सुनिश्चितता र पहुँच विस्तारका लागि कानूनी तथा नीतिगत सुधार आवश्यक रहेको सम्मेलनले जनाएको छ। सरोगेसी, सहजीवन (लिभिङ टुगेदर) जस्ता विकसित सामाजिक अभ्यासबारे अध्ययन अनुसन्धान गरी उपयुक्त कानून निर्माण गर्न पनि सुझाव दिइएको छ।

बलात्कार तथा महिला र बालबालिकाविरुद्धका जघन्य अपराधको निष्पक्ष अनुसन्धान, पीडितको गोपनीयता र सुरक्षाको सुनिश्चितता तथा न्यायमा सहज पहुँचका लागि सरकारसँग कडा माग गरिएको छ। आमाको नामबाट नागरिकता प्राप्तिमा देखिएको व्यवहारिक समस्या समाधान गर्न स्पष्ट निर्देशिका जारी गर्न पनि ध्यानाकर्षण गराइएको छ।

संक्रमणकालीन न्याय प्रक्रिया अझै निष्कर्षमा नपुगेकोप्रति चिन्ता व्यक्त गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार कानून संशोधन गरी पीडितलाई सत्य, न्याय र परिपूरणको अधिकार सुनिश्चित गर्न माग गरिएको छ।

यसैगरी वैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा, पिछडिएका तथा अल्पसंख्यक समुदायका महिला कानून व्यवसायीको क्षमता विकास, पेशागत सुरक्षाको व्यवस्था, भ्रष्टाचार नियन्त्रण तथा कानूनी शिक्षाको गुणस्तर सुधारजस्ता विषयमा पनि सम्मेलनले ठोस सुझाव प्रस्तुत गरेको छ।

अन्त्यमा सम्मेलनले विश्वका विभिन्न क्षेत्रमा जारी युद्ध अन्त्य गरी शान्ति स्थापना गर्न आह्वान गर्दै संविधानवाद र स्वतन्त्र न्यायपालिकामाथि कुनै पनि प्रकारको हस्तक्षेप हुन नदिन सबै पक्षलाई सचेत गराएको छ।

घोषणापत्र तयारी समिति संयोजक अधिवक्ता सरस्वती श्रेष्ठको नेतृत्वमा विभिन्न वरिष्ठ तथा पेशागत कानून व्यवसायी महिलाहरुको सक्रिय सहभागितामा उक्त घोषणापत्र तयार गरिएको हो।

“महिलाको समानुपातिक समावेशिताः परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितता”
कानून व्यवसायी महिलाहरुको ३२ औ राष्ट्रिय सम्मेलनद्वारा पारित
भक्तपुर घोषणापत्र, २०८२
नेपाल बार एशोसिएशनले आफ्नो स्थापनाकालदेखि नै उठाउँदै आएको मानव अधिकार, कानूनको शासन, लैङ्गिक न्याय, स्वच्छ, निष्पक्ष, जवाफदेही तथा स्वतन्त्र न्यायपालिकाको आधारभूत मान्यताप्रति पूर्ण प्रतिवद्ध हुँदै,
नेपालको संविधानले प्रत्याभुत गरेको समानता, अविभेद तथा समानुपातिक समावेशिताको सिद्धान्त अनुरुप महिलाको सशक्तिकरण, विकास र राज्यका सबै निकायमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नका लागि कानून तथा नीतिहरुको निर्माण, संशोधन एवम् परिमार्जन गर्ने र सोको प्रभावकारी कार्यान्वयन गरिनु पर्नेमागलाई पुनः विशेष जोड दिदै,
लैङ्गिक न्याय, समानता, अविभेद तथा महिला विरुद्ध हुने सबै प्रकारका हिंसाको अन्त्य गर्ने सम्बन्धमा महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने सम्बन्धी महासन्धी लगायत नेपालले अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी दस्तावेजहरुमा जाहेर गरेका प्रतिवद्धताहरुलाई आत्मसात गर्दै,
यस सुन्दर पर्यटकीय नगरी भक्तपुरमा २०८२ साल चैत्र ६ र ७ गते सम्पन्न भएको कानून व्यवसायी महिलाहरुको ३२ औ राष्ट्रिय सम्मेलनबाट यो भक्तपुर घोषणापत्र २०८२ जारी गरिएको छ।
1. २०८२ भाद्र २३ र २४ गतेको विषम परिस्थितिको कारणबाट अदालत, बार, कानून व्यवसायीका कार्यालय, न्यायिक तथा अर्धन्यायिक निकायहरु लगायत राज्यका प्रमुख अङ्गहरुमा पुगेको क्षतिका कारणले न्याय सम्पादनमा गम्भीर असर परी न्यायका उपभोक्ता एवम् कानून व्यवसायमा समेत गम्भीर असर परेको हुँदा क्षति भएको संरचनाको पुनर्निर्माणको कार्य प्राथमिकताकासाथ समयमा नै सम्पन्न गर्न यो सम्मेलन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ। साथै कानून व्यवसायीहरुका निवास र कार्यालयमा पुगेको क्षतिको नेपाल सरकारबाट अविलम्व क्षातिपुर्ति उपलब्ध गराउन आवश्यक पहल गर्न यो सम्मेलन नेपाल बार एशोसिएशसनसँग माग गर्दछ।
2. सविधानद्धारा सुनिश्चित गरिएको समानुपातिक समावेशी सहभागिताको अधिकारलाइ ब्यवहारिक रुपमा कार्यावान्यन गर्न न्यायपालिका संवैधानिक आयोग तथा राज्यका अन्य कार्यकारि निकायमा हुने नियुक्ति तथा मनोनयनमा समानुपातिक समावेशी सिद्धान्तलाइ कार्यान्वयन गर्दै महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न यो सम्मेलन नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
3. समानुपातिक सहभागिताको सिद्धान्तलाई सार्थक बनाउन नेपाल बार एशोसिएशन तथा सम्पूर्ण बार एकाइहरुका निर्वाचनमा कानून व्यवसायी महिलाको कार्यकारी पदमा समेत सहभागिता सुनिश्चित गर्न एवम् नव प्रवेशीका लागि मेन्टरसिप, प्रोत्साहन तथा सहज वातावरण तयार गर्न एवम् न्यूनतम् पारिश्रमिक सहित आवद्धता प्रदान गर्नको लागि यो सम्मेलन नेपाल बार एशोसिएशनसँग जोडदार माग गर्दछ ।
4. वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्दा सर्वोच्च अदालत तथा उच्च अदालतका फैसलालाइ मात्र नभइ तीनै तहका अदालतका फैसला, मेलमिलाप प्रतिवेदन समेतलाई गणना गरी वरिष्ठ अधिवक्ताको उपाधी प्रदान गर्ने गरी ऐन तथा मापदण्ड परिमार्जन गर्नका लागि यो सम्मेलन सम्मानित संसद र सर्वोच्च अदालतको ध्यानाकर्षण गराउँदछ ।
5. कानून व्यवसायी महिलाको पेशागत क्षमता र विषयगत दक्षता अभिवृद्धिको लागि आवश्यकताको पहिचान गरी नवोदित कानून व्यवसायी महिलाहरुलाई आधारभूत एवम् विषयगत तालिमहरु तथा पेशामा स्थापित भएका कानून व्यवसायी महिलाहरुलाई विषयगत पुनर्ताजगी तालिमहरु निरन्तर रुपमा सञ्चालन गर्न यो सम्मेलन नेपाल बार एशोसिएशनको ध्यानाकर्षण गराउँदछ।
6. कानून व्यवसायी महिलाहरुलाई पेशामा स्थायित्वको लागि वरिष्ठ अधिवक्ताहरुले कम्तिमा एकजना कानून व्यवसायी महिलाहरुलाई कानून व्यवसायमा स्थापित गराउने अनुकुल वातावरण सृजना गराउनका लागि वरिष्ठ अधिवक्ता एवम् अधिवक्ताज्यूहरुलाई अनुरोध गर्न नेपाल बार एशोसिएशन समक्ष यो सम्मेलन माग गर्दछ । साथै यो व्यवस्थापनको लागि नीति तथा कार्यक्रमहरुमा कानून व्यवसायी महिला अनिवार्य हुने गरी आवश्यक परिमार्जन गर्न नेपाल कानून व्यवसायी परिषद समक्षा यो सम्मेलन आग्रह गर्दछ।
7. विगत केही समयदेखी कानून व्यवसायी महिलाहरुलाई विभिन्न समाजिक सञ्जाल तथा डिजिटल माध्यमहरुमार्फत चरित्र हत्या गर्ने, आत्मसम्मानमा ठेस पुर्याउने, अमर्यादित तथा घृणित अभिव्यक्ति दिने कार्यहरु भइरहेकोप्रति यो सम्मेलनको गम्भीर ध्यानाकर्णष भएको छ। यस्ता कार्यहरु गर्नेलाई जवाफदेही बनाइ कानून कारवाहीको दायरमा ल्याउन आवश्यक पहल गर्न यो सम्मेलन नेपाल बार एशोसिएशन तथा सम्बन्धित निकायहरुसँग जोडदार माग गर्दछ।
8. कानून व्यवसायीहरुप्रति कार्यस्थलमा हुने हिंसाजन्य व्यवहारको उजुरी गर्ने तथा गुनासो सुन्ने संयन्त्र नेपाल बार एशोसिएशन तथा एकाइ बारभित्र तत्काल गठन गर्न यो सम्मेलन नेपाल बार एशोसिएशनसँग माग गर्दछ।
9. विद्युतीय माध्यमहरुमार्फत हुने लैंगिक हिंसाको अवस्था दिनानुदिन वृद्धि हुँदै गईरहेको सन्दर्भमा त्यस्ता हिंसामा संलग्न व्यक्ति तथा संस्थाहरुलाई जवाफदेही बनाई कानूनी कारवाहीको दायरामा ल्याउन आवश्यक नीति तथा कानून निर्माण गर्न, कार्वाही गर्ने संयन्त्रणको निर्माण गर्न, सूचना प्रविधिको सुरक्षित प्रयोग गर्ने सम्बन्धमा क्षमता अभिवृद्धि एवम् सचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक पहल गर्न यो सम्मेलन नेपाल सरकारसँग माग गर्दछ ।
10. प्रजनन स्वास्थ्य सम्बन्धि ऐनको प्रभावकारी कार्वान्वयन गरी पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न यौन तथा प्रजनन स्वास्थ्यको अधिकारका सम्बन्धमा स्थानीय बार एकाइको समन्वयमा किशोर किशोरि लक्षित सचेतना कार्यक्रम सन्चालन गर्न यो सम्मेलन नेपाल बार एशोसिएशनसँग माग गर्दछ ।
11. प्रजनन स्वास्थ्यका सबै सेवाहरु विशेष गरी गर्भपतन तथा परिवार नियोजन सेवाको सुनिश्चितता पहुँचयोग्य सर्वसुलभ र गुणस्तरीय बनाउन यो सम्मेलन नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ । यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि कानून विशेष गरी गर्भपतन सम्बन्धि कानूनमा आवश्यक परिमार्जन तथा सुधार गर्न यो सम्मेलन नेपाल सरकारसँग माग गर्दछ । यस कार्यको पैरवी तथा खबरदारीका लागि आवश्यक पहल गर्न नेबाएको ध्यानाकर्षण गराउँदछ ।
12. सरोगेसीका कारण महिलाको प्रजनन स्वास्थ्यमा पर्ने प्रतिकुल असरहरुका सम्बन्धमा अध्ययन अनुसन्धान गरी सो सम्बन्धमा कानून निर्माण गर्न यो सम्मेलन नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ।
13. नेपाली समाजमा सहजीवन (Living Together) को अभ्यास दिनानुदिन भित्रीदै गएको परिप्रेक्ष्यमा बदलिदो सामाजिक अभ्यासलाई संवोधन गर्न यसले निम्त्याउन सक्ने समाजिक तथा कानूनी चुनौतीहरुको यथोचित रुपमा संवोधन गर्न यसले नेपाली समाजमा पार्ने असर लगायतका विषयमा गहन अध्ययन अनुसन्धान गरेर मात्र अधिकारमुखी कानून निर्माण गर्नका लागि यो सम्मेलन नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ। साथै कानून व्यवसायको संक्रमणकालिन अवधिका लागि यथोचित निर्देशिका जारी गर्न अनुरोध गर्दछ ।
14. बलात्कार लगायतका महिला तथा बालबालिका विरुद्धका जघन्य अपराधका घटनाहरुको लैङ्गिक संवेदनशील, निष्पक्ष, स्वतन्त्र, प्रभावकारी अनुसन्धान गरी पीडितको गोपनीयता र सुरक्षाको समेत समुचित व्यवस्था गरी भई पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न यो सम्मेलन नेपाल सरकारसँग जोडदार माग गर्दछ । साथै बलात्कार लगायतका गम्भीर प्रकृतीका यौनजन्य हिंसाका घटनाका पीडित तथा पीडित परिवारको संवेदना, आत्मसम्मान र संरक्षणप्रति अनुसन्धान अभियोजन गर्ने निकाय तथा व्यक्तिलाई जवाफदेही बनाउन यो सम्मेलन नेपाल सरकारसँग जोडदार माग गर्दछ।
15. आमाको नामबाट नागरिकता पाउने स्पष्ट संवैधानिक तथा कानूनी व्यवस्था भएता पनि ब्यवहारिक रुपमा कार्यन्वयनमा वाधा देखिएको हुँदा आमाको नामबाट निर्बाध रुपमा सन्तानले नागरिकता पाउने अधिकार सुनिश्चित गर्न आवश्यक निर्देशिका तथा परिपत्र जारी गर्न यो सम्मेलन नेपाल सरकारका सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ । नागरिकता नपाएकै कारणबाट आत्महत्यासम्म गर्नु परेको घटनालाई पाठको रुपमा ग्रहण गरी सहज नागरिकता प्रदानका लागि आवश्यक व्यवस्था र कार्यान्वयन गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।
16. नागरिकता प्राप्ति तथा प्रदान गर्ने सम्बन्धमा संविधानमा नै अस्पष्ट र विभेदकारी ब्यवस्था भएको हुँदा यस सम्बन्धमा संविधान संशोधन गर्न यो सम्मेलन विधायिकाको ध्यानाकर्षण गराउँदछ ।
17. विस्तृत शान्ति सम्झौता भएको करिव दुई दशक पुग्दा पनि संक्रमणकालीन न्याय प्रक्रिया हालसम्म पनि टुङ्गोमा पुग्न नसकेकोमा हाम्रो गम्भीर चासो र सरोकार रहेको छ । संक्रमणकालीन न्याय सम्बन्धी कानूनमा भएको दोस्रो संशोधनले समेत द्वन्द्व पीडितहरुको सत्य न्याय र परिपूरणको अधिकार सुनिश्चित गर्ने सम्ब्नधमा कानूनका कतिपय व्यवस्थाहरु अन्तराष्ट्रिय मापदण्ड अनुकुल नभएकाले बेपत्ता पारिएका व्यक्तिको छानविन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धि कानूनलाई नेपालको सर्वोच्च अदालतको फैसला तथा अन्तराष्ट्रिय मापदण्ड अनुकुल संशोधन गर्न यो सम्मेलन नेपाल सरकार माग गर्दछ। राजनीतिक भागबण्डा तथा अपारदर्शि प्रकियाद्धारा यस्ता आयोगमा नियुक्ति दिन र निरन्तरता दिन मिल्दैन ।
18. बेपत्ता पारिएका व्यक्तिको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनमा गरिएको यौनजन्य हिंसाको परिभाषा अन्तराष्ट्रिय मानव अधिकार कानून अनुरुप नभएको हुँदा उक्त परिभाषालाई संशोधन गरी यौनजन्य हिंसाका घटनालाई गम्भीर मानव अधिकार उल्लङ्घनको रुपमा परिभाषित गर्न, उजुरीकर्ता तथा पीडितको गोपनीयता र सुरक्षाको सुनिश्चितता गर्न तथा आयोगलाई पीडितमैत्री तथा लैङ्गिक मैत्री बनाई पीडित तथा प्रभावितहरुको न्यायमा पहुँच सुनिश्चित गर्न पीडित एवम् प्रभावितहरुको सहभागिता र सहकार्यमा आवश्यक कार्यविधी, मापदण्ड, निर्देशिका बनाउन तथा सोको प्रभावकारी कार्यान्वयन गर्न यो सम्मेलन नेपाल सरकार तथा अन्य सम्बन्धित सरोकारवाला निकायहरुसँग माग गर्दछ।नेबाएको सम्बन्धित समितिले सक्रियताकासाथ संक्रमणकालिन न्याय प्रणालिको अध्ययन अनुसन्धान र विश्लेषण गरी निरन्तर भइरहेको द्धन्द्धहिनता अन्त्यको लागी परीणाममुखी कदम चाल्नका लागि नेबाएलाइ यो सम्मेलन निर्देश गर्दछ ।
19. वैदेशिक रोजगारमा महिलाहरुले भोग्नु परेको समस्याहरुलाइ सम्बोधन गर्नका लागि रोजगारदाता निकाय तथा रोजगारिमा पठाउनका कानूनी रुपमा दर्ता भएका निकायहरुलाइ सख्त नियमन गर्नका लागि यो सम्मेलन माग गर्दछ ।
20. अपागंता भएका, लैंगिक तथा यौनिक अल्पसंख्यक, पिछडीएका समूह, आदिवासि, जनजाति, दलित कानून व्यवसायी महिलाहरुलाइ पेशामा स्थायित्व र क्षमता अभिवृद्धिको लागि विशेष तालिमहरु सञ्चालन गर्नुपर्ने, ल फर्म दर्तामा छुट लगायतका सहुलियत दिनु पर्ने जस्ता विषयहरुमा नेबाएले नेतृत्वदायि भूमीका निर्वाह गर्न यो सम्मेलन माग गर्दछ ।
21. कानून व्यवसायी महिलालाइ पेशागत कामका शिलसिलामा विभन्न प्रकारका सुरक्षा चुनौतीहरु देखा परिरहेको सन्दर्भमा कानून व्यवसायी महिलाहरुको सुरक्षाको लागि विशेष व्यवस्था गर्न आवश्यक नीति तथा कार्यक्रम तय गर्न यो सम्मेलन नेबाएको गभ्मिर ध्यानाकर्षण गराउँदछ ।
22. कानून व्यवसायी महिलाको हालसम्म भएका राष्ट्रिय सम्मेलनहरुबाट पारित भएका घोषणापत्रहरुको हालसम्म पनि कार्यन्वयन नभएकोप्रति हामी कानून व्यवसायी महिलाहरुको गम्भीर ध्यानाकर्षण भएको छ। हालसम्म भएका घोषणापत्रको विश्लेषण गरी कार्यान्वयनमा भएको प्रगति तथा आइपरेका चुनौतीका सम्बन्धमा अध्ययन गरी सोको कार्यान्वयनका लागि आवश्यक कार्ययोजना सहितको प्रतिवेदन ६ महिना भित्र सार्वजनिक गर्न यो सम्मेलन नेपाल बार एशोशिएशन केन्द्रीय कार्य समितिको ध्यानाकर्षण गराउँदछ।
23. संयुक्त राज्य अमेरीका इजरायल एवम् इरान बीचको र रसिया तथा युक्रेन साथै पाकिस्तान अफगानिस्थान तथा अन्य भागमा भैरहेको युद्ध तत्काल अन्त्य गरी शान्ती बहालीको लागि यो सम्मेलन माग गर्दछ ।
24. संविधानबाद एवम् स्वतन्त्र न्यायपालिकामा कहीं कतैबाट आक्रमण नहोस् भनी सबैमा यो सम्मेलन ध्यानाकर्षण गरउँदछ ।
25. कानूनी शीक्षाको स्तरीयता बृद्धि, निरन्तर तालिम एवम् कुलिङ अफ पिरियड सम्बन्धमा आवश्यक व्यवस्था तथा नोटरी पब्लिकको अनुवाद कार्यको विकेन्द्रिकरण हुने गरी परीक्षा सुधार समेतका कार्य गर्न नेपाल कानून व्यवसायी परिषद् एवम् नेपाल नोटरी काउन्सिल समक्ष यो सम्मेलन ध्यानाकर्षण गराउँदछ ।
26. यस सम्मेलनदेखि कार्यक्रम मञ्चमा महिलाललाई मात्र राख्ने पद्दति शुरुवात गरेकोमा यो सम्मेलन सराहना गर्दछ र यसको निरन्तरताको लागि माग गर्दछ ।
27. सुर्खेतमा इनीशा बि क उपरको बलात्कार घटनाको छानवीन गरी दोषी माथि हदैसम्मको सजाय प्रबन्धका निमित्त यो सम्मेलन माग गर्दछ ।
28. जेनजी आन्दोलन र तत्पश्चातको तोडफोड हिंसाजन्य कार्यको छानविनका लागि गठीत आयोगको प्रतिवेदन र राष्टिय मानव अधिकार आयोगको प्रतिवेदन समेतको स्तरीयता र विश्वसनीयता सम्बन्धमा प्रश्न उठेको हुँदा दुवै प्रतिवेदन मगाइ अध्ययन गरी नेबाएले आफ्नो धारण प्रकट गरोस् भनी यो सम्मेलन नेबाए समक्ष माग गर्दछ ।
29. न्याय क्षेत्रका भ्रष्टाचार एवम् विकृति निराकरण गर्न नेबाएले आफ्नो भूमिका अझै सशक्त रुपमा अघी बढाओस् ।
घोषणापत्र तयारी समिति
अधिवक्ता सरस्वती श्रेष्ठ, अध्यक्ष, नेबाए महिला समिति संयोजक
वरिष्ठ अधिवक्ता विष्णुमाया भुषाल सह संयोजक
अधिवक्ता सीमा धामी सदस्य
अधिवक्ता रमा प्याकुरेल सदस्य
अधिवक्ता कविता थापा कार्की सदस्य
अधिवक्ता कोपिला बस्नेत सदस्य
अधिवक्ता लक्ष्मी पोखरेल सदस्य
अधिवक्ता डा विनिता कार्की सदस्य
अधिवक्ता सानु शाक्य सदस्य
अधिवक्ता पुनदेवी महर्जन (सुजाना) सदस्य
अधिवक्ता गोमा महरा सदस्य
अधिवक्ता इन्दिरा न्यौपाने सदस्य
अधिवक्ता यशोदा खरेल सदस्य
अधिवक्ता माधवी पाण्डे सदस्य
अधिवक्ता रेनु प्रधान श्रेष्ठ सदस्य
अधिवक्ता विद्या सापकोटा सदस्य
अधिवक्ता प्रतीमा कुमारी चौरसिया सदस्य
अधिवक्ता रिता शेर्पा सदस्य
अधिवक्ता कला त्रिताल सदस्य
अधिवक्ता लालतारा अधिकारी सदस्य
अधिवक्ता अनिता शर्मा सदस्य
अधिवक्ता सुशिला चौधरी सदस्य
अधिवक्ता लिलादेवी मैनाली सदस्य
अधिवक्ता निर्मला सुवाल सदस्य
अधिवक्ता योगिता राई सदस्य
अधिवक्ता शारदा गुरुङ्ग, नेबाए केन्द्रीय कार्यसमिति सदस्य सहजकर्ता
२०८२ साल चैत्र ७ गते शनिवार
भक्तपुर ।