भक्तपुर : भक्तपुर नगरपालिकाले आर्थिक वर्ष ०७५÷७६ का लागि शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएको छ।
नगर प्रमुख सुनील प्रजापतिले शुक्रबार प्रस्तुत गरेको आर्थिक वर्ष ०७५÷७६ को नीति तथा कार्यक्रममा शिक्षालाई पहिलो प्राथमिकता दिइएको हो।
भक्तपुरका अरू तीन नगरपालिकाले भौतिक पूर्वाधार तथा विकास निर्माणलाई प्राथमिकता दिँदै गर्दा भक्तपुर नपाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको छ।
भक्तपुर नपाले शिक्षा शीर्षकमा १० वटा नीति तथा कार्यक्रम अघि सारेको छ। जसमा ख्वप विश्वविद्यालय स्थापनाका लागि आवश्यक तयारी गर्न कार्यदल गठन गर्ने बताएको छ। संविधान जारी भएपछिको व्यवस्थापिका–संसद्मा उक्त विश्वविद्यालय विधेयक संसद्मा प्रस्तुत गर्न सांसदलाई वितरणसमेत गरिसकिएको थियो तर तत्कालीन शिक्षामन्त्रीले उक्त विधेयक संसद्मा प्रस्तुत गरेनन्।
भक्तपुर नपाले आफूमातहत सञ्चालन हुँदै आएको ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेजमा चित्रकला, ज्योतिषशास्त्र तथा नक्षत्र विज्ञानको कक्षा सञ्चालनको तयारी अघि बढाउने जनाएको छ।
त्यस्तै, नगर क्षेत्रभित्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई २१ औं शताब्दीका लागि योग्य बनाउन शिक्षकलाई नेपाली, अंग्रेजी, विज्ञान र गणित विषयको विशेष तालिमको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
उक्त नीति तथा कार्यक्रममा निजी तथा संस्थागत विद्यालयलाई शैक्षिक गुठी तथा सहकारीमार्फत सञ्चालन गर्दै लैजान भनिएको छ। अहिले अधिकांश निजी तथा शैक्षिक संस्था निजी गुठीमा सञ्चालित हुँदै आएका छन्।
अध्ययन अनुसन्धान गर्नेलाई आर्थिक अनुदान
भक्तपुरको खानेपानी, शिक्षा, सरसफाइ, सम्पदा, परम्परागत शैलीका घर वा भक्तपुर नपासँग सम्बन्धित विषयमा अध्ययन अनुसन्धान गर्ने विद्यार्थीहरुलाई आर्थिक अनुदानको व्यवस्था मिलाउने बताइएको छ। इतिहास, भूगोल, राजनीतिशास्त्र, नेपालभाषा र संस्कृत विषय लिई स्नातक वा स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीलाई निश्चित रकम तोकी छात्रवृत्तिको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
सहुलियतमा पाँच लाखसम्म शैक्षिक ऋण
भक्तपुर नपाले उच्च शिक्षा हासिल गर्न चाहने योग्य र आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई प्रमाणपत्र धितोमा राखी पाँच लाख रुपैयाँसम्म सहुलियत ब्याजदरमा ऋण दिने भएको छ।
आर्थिक वर्ष ०७५÷७६ को नपाको नीति तथा कार्यक्रममा चिकित्साशास्त्रअन्तर्गत विभिन्न विषयमा एमडी वा सोसरह स्नातकोत्तर तह अध्ययन गर्ने विद्यार्थीमध्ये दुई जनालाई छात्रवृत्ति दिने व्यवस्था मिलाइएको छ।
यसरी छात्रवृत्ति पाउने चिकित्सकले भने भक्तपुर नपाद्वारा सञ्चालन गर्ने ख्वप अस्पतालमा कम्तीमा पाँच वर्ष पूर्णकालीन सेवा गर्नुपर्ने सर्त राखिएको छ।
भक्तपुर नपाले शिक्षापछि संस्कृतिलाई दोस्रो र स्वास्थ्यलाई तेस्रो प्राथमिकतामा राखेको छ। अरू नपाले पहिलो प्राथमिकतामा राखेको विकास निर्माणलाई उसले चौथो प्राथमिकतमा पारेको छ।
नगरसभा उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं भक्तपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य प्रेम सुवालले संविधानले नै स्थानीय तहलाई अधिकारसम्पन्न बनाएपछि पनि मन्त्रालयहरूले हस्तक्षेप गर्ने क्रम नरोकिएको सुनाए।
उनले मन्त्रालयले सम्बन्धित निर्वाचन क्षेत्रका सांसदलाई समेत जानकारी नदिई उक्त क्षेत्रमा योजनाको नाउँमा लाखौं रुपैयाँ विनियोजन गर्ने गरेको भन्दै आक्रोश पोखे।
‘भक्तपुरको चाँगुनारायण नपा–९ ताथलीमा रंगशाला बनाउन युवा तथा खेलकुद मन्त्रालयले ५० लाख रुपैयाँ विनियोजन गरेको सञ्चारमाध्यममा आयो’, सांसद सुवालले भने, ‘चाँगुनारायण नपा–९ ताथली म निर्वाचित भएको क्षेत्रमा पर्छ तर उक्त बजेट विनियोजन गरेकोबारे मलाई नै जानकारी छैन। त्यहाँका जनप्रतिनिधिलाई पनि थाहा रहेनछ। मन्त्रालयले नै सबै निर्णय गरेर बजेट निकासा गर्ने भए संसद् र स्थानीय निकाय किन चाहियो।’







































