भूकम्पको तेस्रो वर्षको स्मृतीमा सरोकारवाला तथा पत्रकारसँगको छलफल कार्यक्रम नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ ।
सरोकारवालासँगको छलफल कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर युवराज भुषालले भन्नुभयोः राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पाँच वर्षका लागि गठन भएको हो, हामी विभिन्न संघसंस्थाको सहयोगमा समयमै पुुनर्निर्माणका कार्यहरु सम्पन्न गर्नेछौ । प्राधिकरणको समयावधि थप गर्ने पक्षमा हामी छैनौ ।
उहाँले भन्नुभयोः निजी घर निर्माण हाम्रो प्राथमिकता हो, त्यस्तै साँस्कृतिक सम्पदा पनि । आगामी १४ महिना भित्रमा धरहराको पुनर्निर्माण कार्य सम्पन्न गर्ने र यहि जेठको पहिलो साताबाट रानी पोखरीको पुनर्निर्माण प्रक्रिया अगाडि बढने छ ।
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाको अध्यक्षतामा भएको दुवै कार्यक्रममा रेडक्रसका महामन्त्री देवरत्न धाख्वाले स्वागत गर्नुभएको थियो ।
भूकम्पपछि नेपाल रेडक्रस सोसाइटीबाट सञ्चालित गतिविधिका बारेमा नेपाल रेडक्रस सोसाइटीका भूकम्प प्रतिकार्य कार्यक्रमका प्रमुख उमेशप्रसाद ढकालले जानकारी गराउनुभएको थियो ।
नेरेसो अध्यक्षले भन्नुभयो ः अन्तर्राष्ट्रिय रेडक्रस अभियानको सहयोगमा नेपाल रेडक्रस सोसाइटीले पुनर्लाभमा आशातीत सफलता प्राप्त गरेको छ ।
उहाँले भन्नुभयो ः नेपाल सरकारसँग करीब ७ हजार घर निर्माण गर्ने सम्झौता, साझेदारहरुबाट प्राप्त प्राविधिक तथा आर्थिक अनुदान र सहयोगको प्रतिवद्धता अनुसार तीन हजार दुई सय ७७ निजी घरहरु निर्माण सम्पन्न भइसकेका छन् । बाँकी अधिकांश परिवारले पनि वर्षा अगावै घर सम्पन्न हुने गरी निर्माण कार्य गरिरहेका छन् ।
कार्यक्रमका सहभागीहरुले रेडक्रसले गरेका कामहरुको झलक देखाउने स्टलहरुको अभिरुचीपूर्वक अवलोकन गर्नुभएको थियो ।







































