मतपेटिका ल्याउन गएको हेलिकप्टरमा नेताहरुले चढ्न पाउनुपर्ने भन्दै यतिसम्म गरे

277

बझाङमा नेताहरुबीच हेलिकप्टर चढ्ने विषयमा विवाद हुँदा मतपेटिका लिन भएको हेलिकप्टर रित्तै फर्किएको छ ।

हेलिकप्टरमा आफुहरुपनि चढ्न पाउनुपर्ने भन्दै दलका प्रतिनिधिहरुले ढिपी गरेपछि क्याप्टेनले ठाउँ अभावका कारण नमिल्ने बताएका कारण विवाद बढेको हो । उक्त हेलिकप्टरमा जम्मा ६ जना मात्र चढ्न मिल्छ ।

काँडा गाउँपालिकामा ५ वटा मतदान केन्द्र छन् । नेपाली सेनाको हेलिकप्टरले पहिलो पटक धुलि निम्न माध्यमिक विद्यालयमा रहेको २ वटा मतदान केन्द्रबाट ६ वटा मतपेटिका र दुई जना मतदान अधिकृतलाई ओसारेको थियो ।

दोस्रो पटकमा काँडाकै धलौन माध्यमिक विद्यालय मतदान स्थलमा रहेका दुई वटा मतदान केन्द्रका ६ वटा मतपेटिका र २ जना मतदान अधिकृतलाई लिएर हेलिकप्टर काँडा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा पुगेको थियो ।

को चढ्ने भन्ने विषयमा विवाद भएपछि काँडा माध्यमिक विद्यालयको प्राङगणमा आधा घण्टा भन्दा बढी हेलिकप्टर रोकेर राख्नु परेको थियो । वाम गठवन्धनका तर्फबाट मतदान प्रतिनिधि बसेका व्यक्तिले आफूले हेलिकप्टरमा जान पाउनु पर्ने माग राखेपछि लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिले आफू पनि जान पाउनु पर्ने अडान लिएका थिए ।

धलौनका मतदान अधिकृत र हेलिकप्टरका क्याप्टेनले सिट खाली नभएका कारण एक जना मतदान अधिकृत र मतपेटीका मात्र लैजान सकिने भन्दै लामो समय उनीहरुलाई सम्झाउने प्रयास गरेका थिए ।

विवादका कारण हेलिकप्टरबाट ओसार्न नसकेपछि काँडा माध्यमिक विद्यालय मतदान केन्द्रको मतपेटिका स्थलमार्गबाटै ल्याउने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत पूर्ण प्रसाद बाँस्तोलाले बताए । विवाद भएको मतदानस्थल सदरमुकामबाट ९० किलोमिटरको दुरीमा छ ।