महाशिवरात्रि पर्वको अवसरमा आइतबार भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरको चारै ढोकाहरू खुल्ला रहने भएको छ। वर्षमा महाशिवरात्रि, अक्षय तृतीय र भदौ ६ गते केदारनाथको शिर घोषणा भएको दिन गरी जम्मा तीन दिन मात्रै मन्दिरको चारै ढोका खुल्ला गर्ने चलन छ।
केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले शनिबार पत्रकार सम्मेलन गरी बिहान ४ देखि राति ८ बजेसम्म चारै ढोका खुल्ला रहने जानकारी दिएको छ। पत्रकार सम्मेलनमा समितिका अध्यक्ष धर्मराज बस्नेतले प्रत्येक वर्ष महाशिवरात्रिका दिन चारै ढोका खुल्ला गर्ने परम्परा अनुसार शिवरात्रिको दिन आइतबार पनि दिनभरि नै चारै ढोका खुल्ला रहने जानकारी गराए।
त्यस कारण भक्तजनले यस दिन मन्दिरभित्रै प्रवेश गरी दर्शन गर्न पाउने व्यवस्था मिलाइएको छ। साथै महाशिवरात्रिको दिन लाखौं श्रद्धालु भक्तजन आउने अनुमान गरिएको जानकारी उनले गराए। साधुसन्त मात्रै तीन सयभन्दा बढी आउने अनुमान उनले गरे। ‘अहिले नै यहाँ सयौं साधुसन्त पुगिसकेका छन्। गत वर्ष मात्रै विभिन्न ठाउँहरूबाट दुई सय बढी साधुसन्त आएका थिए,’ उनले भने, ‘यो वर्ष यो भन्दा बढी हुने निश्चित प्रायः छ।’
मन्दिर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलमा पर्दछ। सूर्यविनायक नगरपालिका वडा नं ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले दर्शन व्यवस्थापनलाई व्यवस्थित बनाउन विशेष तयारी गरिएको बताए। भक्तजनको सहजताका लागि सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन, ट्राफिक व्यवस्थापन, खानेपानी तथा सरसफाइ व्यवस्थापनलाई प्राथमिकतामा राखिएको उनले जानकारी गराए।
पर्व सम्पन्न गर्न करिब ९ लाख खर्च हुने अनुमान गरिएको छ। सो दिन मन्दिर दर्शनका लागि लाइन नबसी पस्न पाउने व्यवस्था (पञ्चस्थान गर्न पाउने व्यवस्था) मिलाइएको छ। यसका लागि रु ११०० को रसिद काटी पैसा तिर्नुपर्ने छ।
संकलित रकमबाट मन्दिरको रङरोगन, रंगाइ–पोताइ, सरसफाइ, मन्दिर परिसर व्यवस्थापन, स्वयंसेवक परिचालन, ध्वनि व्यवस्थापन, सुरक्षा व्यवस्था लगायतका कार्यहरू गरिएको जनाइएको छ। यसरी प्राप्त रकमबाट आवश्यक खर्च कटाई बाँकी रकम संस्थानको खातामा जम्मा गरिएको जनाइएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वयंसेवक, दानदाता तथा भक्तजन, पत्रकार तथा सञ्चारकर्मी लगायत सम्पूर्णप्रति धन्यवाद ज्ञापन गरिएको छ।
भारतको उत्तराखण्डस्थित केदारनाथ ज्योतिर्लिङ्गको शिर भागका रूपमा २०६६ सालमा घोषणा भएपछि डोलेश्वर महादेवको संरक्षण तथा विकास कार्यले तीव्रता पाएको हो। हालसम्म भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति भएको समितिले जानकारी दिएको छ। विकास कार्यका लागि हालसम्म करिब १८ करोड ५८ लाख रुपैयाँ खर्च भइसकेको र विभिन्न संरचनाहरू निर्माण सम्पन्न भइसकेको जनाइएको छ।
मन्दिर परिसरमा मूल मन्दिर, गणेश मन्दिर, नन्दी (बसाहा), मनकामना मन्दिर, १०८ शिवलिङ्ग, तामाको नाग, त्रिशूल, तुलसी मठ, विष्णु मन्दिर, सूर्य मन्दिर, सरस्वती मन्दिर, बुद्ध मन्दिरलगायतका संरचना निर्माण भइसकेका छन्। साथै मूल प्रवेशद्वार, चोक तथा परिसरमा ढुंगा छाप्ने, रंगरोगन गर्ने र सेरामिक टायल्स लगाउने काम सम्पन्न भएको छ। भोजन गृह, धर्मशाला तथा अन्य पूर्वाधार निर्माणको काम पनि अन्तिम चरणमा पुगेको जनाएको छ।










































