मुद्रा बजारको ब्याज दर निक्कै खस्कियो, १०० रुपैयाँ राख्दा १० पैसा ब्याज, आधार दर नघट्ने संकेत :: BIZMANDU

212


काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबार बजारको तरलता तान्नका लागि जारी गरेको रिभर्स रिपोको दर १० पैसासम्म झरेको छ। केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा भएको अधिक तरलतालाई तान्नका लागि ५ अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको थियो।

५ अर्बको रिभर्स रिपो ०.१० प्रतिशतदेखि ०.५० प्रतिशतसम्म ब्याज कबुल गर्नेलाई परेको छ। बैंकिङ प्रणालीमा तरलता बढेर मुद्रा बजारको ब्याज घटेको भन्दै केन्द्रीय बैंकले रिभर्स रिपो जारी गरेको थियो। सोमबार पनि केन्द्रिय बैंकले चार अर्बको ट्रेजरी बिल्स जारी गर्दैछ।

राष्ट्र बैंकले चालु बर्षको मौद्रिक नीतिबाट अल्पकालिन ब्याज दर साढे तीन प्रतिशतभन्दा झर्न नदिने घोषणा गरेको थियो। त्यही भएर बैंकहरुले राष्ट्र बैंकको मौद्रिक नीतिलाई समर्थन गरेका थिए।

बैंकहरुले १०० रुपैयाँ निक्षेप उठाएर २० प्रतिशत तरलता ब्यवस्थापन गर्नु पर्छ। यसमध्ये ४ प्रतिशत ब्याज नआउने गरी अनिवार्य तरलता अनुपात (सिआरआर) कायम गर्नु पर्छ। केही पैसा भल्टमा राखेपछि बाँकी उनीहरुले मुद्रा बजारमा लगानी गर्छन्। २० प्रतिशतको कम्तिमा ६ प्रतिशत ऋणपत्रमा लगानी गर्नु पर्ने ब्यवस्था छ।

बैंकहरुले ४ प्रतिशत सिआरआर कायम गरेपछि अधिकांस पैसा यसरी ट्रेजरी बिल्स, रिभर्स रिपो र निक्षेप संकलन औजारमा लगानी गर्छन्। आइतबारको दर अनुसार बैंकहरुले यसमा १०० रुपैयाँ लगानी गरे भने १० पैसा मात्र ब्याज पाउने भएका छन्।

६ प्रतिशतको सिआरआरलाई घटाएर ४ प्रतिशतमा झार्दा बच्ने दुई प्रतिशत रकम यसरी मौद्रिक औजारमा लगानी गर्न सकिने बैंकहरुले आँकलन गरेका थिए। ‘३/४ प्रतिशत ब्याजमा लगानी गर्दा बैंकहरुको आम्दानी बढेर आधार दर घट्ने अनुमान गरिएको थियो’ आइतबारको रिभर्स रिपोमा भाग लिएका एक बैंकरले भने, ‘अनुमान विपरित ब्याज दर १० पैसा कायम भएको छ। यसले आधार दर घटाउन कुनै मद्दत गर्दैन, त्यसैले ब्याज दर घट्छ भन्ने हाम्रो अनुमान फेल हुनेवाला छ।’

राष्ट्र बैंकका अनुसार साउनमा बैंकहरुको औषत आधार दर १०.१२ प्रतिशत कायम भएको छ। ‘मुद्रा बजारको घट्दो ब्याज दरले हामी निरास भएका छौं’ ती बैंकरले भने, ‘मुद्रा बजारको दर बढाएर ऋणको बजार ब्याज दर घटाउन राष्ट्र बैंकले पहल गर्नु पर्छ।‘

उनले बैंकहरुले ऋणको ब्याज दर घटाएनन् भनेर गुनासो गर्न नहुने बताए। ब्याज दर घटाउन केन्द्रीय बैंकबाटै कुनै पहल नभएको उनको गुनासो छ।

डा. युवराज खतिवडा गभर्नर हुँदा अल्पकालिन ब्याज दर ०.०१ प्रतिशतसम्म झरेको थियो। खतिवडा अहिले अर्थमन्त्री छन्।




मुद्रा बजारको ब्याज दर निक्कै खस्कियो, १०० रुपैयाँ राख्दा १० पैसा ब्याज, आधार दर नघट्ने संकेत को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

Source link