मेसिन नहुँदा एचआइभी संक्रमितको परीक्षणमा समस्या

226

बाँके : भेरी अस्पतालमा एचआइभी संक्रमितको उपचारमा समस्या भएको छ। एचआइभी संक्रमितको शरीरकमा भएका भाइरसको पत्ता लगाउने भाइरल लोड मेसिन नहुँदा परीक्षणमा समस्या भएको हो। 

एचआइभी संक्रमितको शरीरमा जीवाणुको संख्या पत्ता लगाउन प्रयोग हुने मेशिन नहुँदा संक्रमितको शरीरमा कति भाइरस छ भन्ने पत्ता लगाउन नसक्दा उपचार गर्न समस्या हुने गरेको अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ एवं एचआइभी फोकल पर्सन डा. संकेत रिसालले बताए। ‘भाइरसको संख्या पत्ता लगाउन सकिएको भए उपचार गर्न सहज हुने थियो’, डा. रिसालले भने।  

उपचार सेवा लिने एचआइभी संक्रमितको संख्यामा बृद्धि भएको छ। एचआइभी संक्रमितको संख्या नबढे पनि सेवा लिने संख्या बढेको डा.रिसालले जानकारी दिए। 
उनले हाल भेरी अस्पतालमा एक हजार २०२ जना एचआइभी संक्रमित सम्पर्कमा आएको बताए। ती मध्ये माघ अन्तिमसम्म ४०४ जनाले नियमित रुपमा एआरटी सेवा लिइरहेको बताए। ‘बाँकी ५०० संक्रमित आफूलाई पायक पर्ने ठाउँबाट एआरटी सेवा लिइरहेका छन्’, उनले भने। 

भेरी अस्पतालले ०६१ सालदेखि एचआइभी संक्रमितलाई स्वास्थ्य सेवा दिन थालेको हो। सम्पर्कमा आएका मध्ये १३८ जनाको मृत्यु भइसकेको डा. रिसालले बताए। उनले नियमित रुपमा औषधि सेवन नगर्ने, लागुऔषध सेवन गर्ने र केहीले आत्महत्या गरेको बताए। ‘नियमित रुपमा औषधि सेवन गर्नेहरू हृष्टपुष्ट र स्वस्थ छन्।मृत्यु हुनेमा चिकित्सकको सल्लाह नमान्नेहरु छन्’, डा. रिसालले भने। 

भेरी अस्पतालले ०६१ सालदेखि एआरटी, ०६२ देखि पिएमटिसिटी र २०६४ सालदेखि सिडिफोर काउन्ट सेवा दिँदै आएको अस्पतालले जनाएको छ।

Source link