काठमाडौँ, – काठमाडौँको चन्द्रागिरिमा मोटरसाइकल अनियन्त्रित भई स्कुटरमा ठोक्किँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार आज बिहान चन्द्रागिरी नगरपालिका–१५, तीनथानास्थित सडकमा बा ८५प ४८२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बा प्र ०२–०४२ प ९८२२ नम्बरको स्कुटरसँग ठोक्किएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक चन्द्रागिरी–४, थानकोटका ३४ वर्षीय रोशन ढकालको उपचारका क्रममा सहिद मेमोरियल अस्पताल, कलङ्कीमा मृत्यु भएको प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले जानकारी दिनुभयो।
उक्त दुर्घटनामा स्कुटरमा सवार दुई जना घाइते भएका छन्। उनीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।






































