यसरी लेखाउन सकिन्छ मतदाता नामावलीमा नाम

28

काठमाडाैं । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न पाइने बताएको छ।

बिहीबार निर्वाचन आयाेगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि कात्तिक ३० गतेसम्म नामावली संकलन तथा दर्ता गर्न पाइने जानकारी दिएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको मिति घोषणा भएपछि स्थगित भएको मतदाता नामावली संकलन कार्य आयोगको निर्णय अनुसार कात्तिक ३० गतेसम्म पुन: सञ्चालन हुने भएको छ ।’

नामावलीमा नाम दर्ता नभएका १६ वर्ष उमेर पूरा भएकाले बिहान ८ बजेदेखि ६ बजेसम्म प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा दर्ता गर्न सकिने व्यवस्था गरेको छ।

आयोगको वेबसाइट www.election.gov.np मा प्रि-रेजिस्ट्रेशन प्रणाली (applyrvr.election.gov.np) बाट आवेदन भरेर बायोमेट्रिक विवरणका लागि कार्यालय जानुपर्ने भनिएको छ।

नागरिकताको प्रमाणपत्रमा रहेकोभन्दा भिन्नै ठेगानामा हाल स्थायी बसोबास गरेको भए नागरिकता प्रमाणपत्रको अतिरिक्तदेहायका प्रमाणहरूसमेत पेश गर्नुपर्दछ ।
(क) बसाई सरी आएको प्रमाणपत्र, वा
(ख विवाह गरी हालको स्थायी ठेगानामा आएको हकमा विवाह दर्ता प्रमाणपत्र ।

कुनै व्यक्तिको नाम मतदाता नामावलीमा दर्ता गर्दा निजको जन्म वा उमेर वा बासस्थान नागरिकताको प्रमाणपत्र बाट मात्र खुल्न नसकेमा नाम दर्ता अधिकारीले थप प्रमाणको रुपमा जग्गा धनि प्रमाण पुर्जा वा शैक्षिक योग्गताको प्रमाणपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र माग गर्न सक्नेछ ।

उक्त प्रमाणहरु पेश गर्न नसकेमा नाम दर्ता अधिकारीले त्यस्ता व्यक्तिसँग सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको सिफारिस माग गर्न पनि सक्दछ ।

सरकारले फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ । उक्त घोषणापछि मतदाता नामावलीमा नाम दर्ता गर्ने काम रोकिन्छ। त्यसो भएपछि सरकारले अध्यादेश ल्याएर उक्त प्रावधानलाई संशोधन गरेको थियो ।

संशोधन भएसँगै आयोगले निर्णय गरी दर्ता गर्न मिल्ने व्यवस्था गरेको हो ।