यी ठाउँ जहाँ वाम गठवन्धनले ‘फेल’ खायो

342

काठमाडौं, २३ मंसिर– एमाले र माओवादी केन्द्रको वाम गठवन्धनले यसपटकको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा देशभर लहर नै ल्याएको देखिन्छ । कपितय ठाउँमा वाम गठवन्धनले आश्चर्य लाग्दो जीत निकालेको छ ।

वाम गठवन्धनकै कारण धेरै ठाउँमा नेपाली कांग्रेसको गढ नै ढलेको छ । धेरै ठाउँमा कांग्रेसका शीर्ष नेताहरु ‘डेन्जर जोन’मा छन् । मोरङ–६ लाई कांग्रेसको गढ मानिन्थ्यो । तर वाम गठवन्धनका उम्मेदवार एमाले नेता लालबाबु पण्डितले कांग्रेसको ‘गढ’ ढालिदिए । कांग्रेस उम्मेदवार शेखर कोइरालाले अनपेक्षित हार बेहोर्नु पर्यो ।

तर कतिपय ठाउँमा वाम गठवन्धनले पनि अनपेक्षित हार ब्यहोर्नु परेको छ । हुम्लामा वाम गठवन्धनका उम्मेदवारलाई हराउँदै स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भए । माओवादीबाट बागी उम्मेदवार उठेका उनले वाम गठवन्धन र नेपाली कांग्रेसका दुई प्रतिस्पर्धीलाई पछि पारेर नतिजा आफ्नो पक्षमा पारे ।

यस्तै सत्परी २ मा पनि वाम गठवन्धनले फेल खायो । माओवादीका चर्चित नेता तथा पूर्वमन्त्री उमेश यादव वाम गठवन्धनबाट सप्तरी २ मा उम्मेदवार थिए । तर उनी करिब आधा मतले संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भए ।

वाम गठवन्धनले अनपेक्षित हार बेहोरेको अर्को ठाउँ हो, काठमाडौं क्षेत्र नम्बर– ४ । अन्तर्राष्ट्रिय मामिलाका विज्ञ तथा एमालेका प्रभावशाली युवा नेता राजन भट्टराई नेपाली कांग्रेसका युवा नेता गगन थापासँग पराजित भए ।

वाम गठवन्धनले जीत निश्चित भएको भनेर घोषणा गरेको काठमाडौं–६ मा पनि हार ब्यहोर्नु पर्यो । गठवन्धनबाट उम्मेदवार बनेका माओवादी नेता झक्कु सुवेदी रक्षामन्त्री समेत रहेका कांग्रेस नेता भीमसेनदास प्रधानसँग पराजित भए ।

यस्तै मोरङ क्षेत्र नम्बर २ मा पनि वाम गठवन्धनले अनपेक्षित हार ब्यहोर्यो । यसअघि लगातार चुनाव जित्दै आएका एमाले नेता ऋषिकेश पोखरेल यसपटक वाम गठवन्धनका साझा उम्मेदवार हुँदा पनि कांग्रेसका मिनेन्द्र रिजालसँग पराजित भए ।

यस्तै काठमाडौं क्षेत्र नम्बर १० मा पनि वाम गठवन्धनले फेल खायो । २०७० सालको संविधानसभा निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्डलाई हराएर चर्चामा आएका राजेन्द्र केसीले यसपटक वाम गठवन्धनका साझा उम्मेदवार हितमान शाक्यलाई पनि हार चखाए ।

रसुवा क्षेत्र नम्बर १ मा पनि वाम गठवन्धनले हार ब्यहोर्नु पर्यो । त्यहाँ वाम गठवन्धनका साझा उम्मेदवार एमाले नेता जनार्दन ढकाल कांग्रेसका मोहना आचार्यसँग पराजित भए ।

काठमाडौं १ मा पनि वाम गठवन्धनले अपेक्षित मत समेत हात पार्न सकेन । पत्रकारिता छाडेर राजनीतिमा आएका विवेकशील साझाका रवीन्द्र मिश्रले कांग्रेसका प्रकाशमान सिंहलाई कडा चुनौती दिँदा वाम गठवन्धनका साझा उम्मेदवार माओवादीका युवा नेता अनिल शर्माले धेरै कम मत पाए । काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह विजयी भए ।