Home समाचार रंगशाला निर्माण पीडितहरुद्वारा मन्त्री र सांसदलाई कालो झण्डा
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० साविक चित्तपोलको भकारीमूल क्षेत्र र चाँगुनारायण नगरपालिका वडा नं. ९ तेडोल र डाँडापाटीमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण विरुद्ध जनताहरुले प्रदर्शन गरेका छन् ।
जनतालाई थाहा नै नदिई युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्मा, भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेत, जिल्ला समन्वय समिति भक्तपुरका संयोजकलगायतको टोलीले सूर्यविनायकको भकारी मूलको स्थलगत निरीक्षण गर्न आएपछि रंगशालाविरुद्ध अरनिको राजमार्गको बाँसघारीदेखि मिलनचोकसम्म प्रदर्शन गर्दै कालो झण्डा देखाएका हुन् ।
भक्तपुरको साविकको सिपाडोल, नंखेल, चित्तपोल, ताथली र सुडाल क्षेत्रमा झण्डै ३८ हजार तीन सय ५५ रोपनी जग्गामा जग्गा एकीकरण आवास योजनाको नाम दिएर अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने विषयले आतंकित जनताले स्थलगत निरीक्षणमा आएका टोलीको विरोध गरेका हुन् ।
हातमा ब्यानर, प्लेकार्डसहित राजमार्ग छेउमा उभिएर विरोध गरिरहेका पीडित जनताहरुको लस्कर देखेपछि मन्त्रीदेखि सांसद र स्थानीय नेतासम्म गाडीबाट बाहिर आउन सकेनन् । गाडीबाट बाहिरै आउन नसकेका तिनीहरुसामु पीडित जनताले ‘रंगशाला चाहिँदैन, बस्ती उठाउन पाइँदैन’ नारा लगाएपछि उनीहरु भागेका थिए ।
उनीहरु भागे लगत्तै जनताहरुले विरोध जुलुस निकालेका थिए । जनताको विरोधका आवाजदेखि भागेका उनीहरु राजमार्गको पलासेँ सडक खण्डबाट भाग्न खोजेका थिए । सो सडकमा मर्मतसम्भार भइरहे पछि भाग्न खोजेका उनीहरु पुनः सोही मार्ग हुँदै आएका थिए ।
यसअघि जनतालाई थाहा नै नदिई टोलीले सूर्यविनायक नगरपालिकाको वडा नं. ८ सिपाडोलका केही क्षेत्रमा स्थलगत निरीक्षण गरेका थिए । ‘मन्त्रीलगायतको टोलीले रंगशाला निर्माणका लागि भन्दै सिपाडोलमा स्थलगत निरीक्षण गरेका हुन्, चित्तपोलको भकारीमूलमा रंगशाला बनाउने विषयमा विवाद भएपछि त्यसको विकल्पमा यता निरीक्षण भएको हो ।’ सोही वडाका वडाध्यक्ष किरण थापाले भने ।
यता अन्तर्राष्ट्रियस्तरको प्रस्तावित रंगशाला निर्माण पीडित संघर्ष समितिले गरेको सो प्रदर्शनमा सयौंको सहभागिता रहेको थियो । प्रदर्शनलाई प्रहरी प्रशासनले दमन गर्ने प्रयास समेत गरेको थियो ।
सो स्थानमा रंगशाला निर्माण भएमा १२ सयभन्दा बढी घरधुरी विस्थापित हुने र सो स्थानमा रंगशाला बनाएर आफ्नो उठिबास लगाउने खोजेको बताउँदै आक्रोसित जनताले मन्त्री, क्षेत्र नं. २ का सांसद, जनभावनाविपरीत काम गर्ने वडाध्यक्ष र मेयरलगायतको विरोध समेत गरेका थिए ।
जुलुसलाई रंगशाला पीडित संघर्ष समिति चित्तपोलका अध्यक्ष शिवशरण कार्कीले सम्बोधन गर्दै कुनै पनि हालतमा सो स्थानमा रंगशाला बनाउन नदिने बताएका थिए । समितिले गत जेठदेखि विभिन्न संघर्षका कार्यक्रमहरु गर्दै आएका छन् ।
उनीहरुले रंगशालाको विरोध गर्दै सडक किनामा आफ्ना घरको छाना कौसी आदिमा कालो झण्डा राखी विरोध गर्दै आएका छन् ।
उपत्यकामा जनघनत्व वृद्दि भई रहेका बेला भएको खेतीयोग्य जमिन समेत मासेर भुमाफियाको चलखेलमा रंगशालाको नाममा सर्वसाधारणको उठिबास गराउन खोजिएको उनीहरुको भनाई थियो ।
रंगशाला बनाउन देशमा उपयुक्त हजारौं ठाउँ रहँदा रहँदै पनि भुमाफियाको आँखा यस क्षेत्रको ३४ हजार रोपनी जमिनमा परेका कारण उनीहरुको काँधमा काँध मिलाउँदै सवासद नै लाग्नु लाज मर्नु कुरा भएको पीडितहरु बताउँछन् ।
Related