राजदेवी मन्दिरमा महिलालाई दर्शन निषेध, पुजारी भन्छन्– परम्परा नै यस्तै छ

614

जनकपुरधाम । जनकपुरका शक्ति पीठमध्येका प्रमुख मानिने राजदेवी मन्दिरमा दशैंको बेला महिलालाई दर्शन तथा पूजा निषेध गरिने परम्परा छ । अरुबेला मन्दिरभित्र प्रवेश गर्न दिइए पनि दशैंको बेला भने बन्देज लगाइने गरिएको स्थानीयबासीहरु बताउँछन् ।

दशैंको घटस्थापनादेखि नवरात्री अर्थात् टीकाको अघिल्लो दिनसम्म महिलालाई राजदेवी माताको पूजा तथा दर्शनसम्म निषेध गर्ने गरिएको छ । यद्यपि महिलाहरु घण्टौं लाइन बसेर मन्दिरको बन्द रहेको झ्याललाई छोएर भए पनि पूजा र भाकल गर्ने गरेको स्थानीय यमुनादेवी कानू बताउँछिन् । उनले महिलालाई भित्र छिर्न नदिए पनि मन्दिरमा सबैभन्दा बढी भीड महिलाहरुकै हुने बताइन् ।

महिला नेतृ तथा अधिकारकर्मी पुनम झा भन्छिन्, “हामीले कतिपटक आवाज उठाएका छौं तर ठोस रुपमा लाग्न सकेका छैनौं । धार्मिक आस्थाले गर्दा पनि महिलाहरु परम्परा तोड्न डराउने उनी बताउँछिन् । प्रहरी प्रशासन र सबैको सहयोग लिई उक्त परम्परा तोड्न पहल गर्ने उनले बताइन् ।

मन्दिरका महन्थ राम गिरी उक्त प्रचलन मन्दिर स्थापनाकालदेखि लागू भएको बताउँछन् । आजसम्म कसैले दशैं अवधिभर महिलाहरु मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेको नदेखेको उनको दाबी छ । महिलाका कारण अहिलेसम्म कुनै अनिष्ट भएको नदेखे पनि परम्परालाई आफूले पनि निरन्तरता दिएको महन्थ गिरीले बताए । “राजदेवी माता तन्त्र शक्तीपीठ हो र दशैंको बेला बोक्सीहरुले मन्त्र सिद्ध गर्नसक्ने हुनाले परम्परादेखि महिलालाई प्रवेशमा रोक लगाइएको हो,” उनले भने ।

बोक्सी मान्नुहुन्छ र ? भन्ने प्रश्नमा उनी भन्छन्, “त्यो तन्त्रविद्या हो, म मान्छु ।” पुरुष बोक्सी हुन सक्दैन त ? उनी भन्छन्, “हुन त किन नहुनु तर परम्परादेखि महिलालाई मात्रै मन्दिर प्रवेशमा निषेध गरिएको हुनाले हामीले पनि त्यसको पालना गरेका हौं ।”

मन्दिरको इतिहास
किंवदन्तीअनुसार विदेह राजा जनकको कूलदेवीको रुपमा राजदेवीको पूजा गरिन्छ । जनमानसमा प्रचलित कथाअनुसार त्रेतायुगमा मिथिलामा अनिकाल पर्दा राजा जनकले राजदेवीको प्रतिमा स्थापना गरेको बताइन्छ । महन्थ गिरीले उक्त मन्दिरको निर्माण १३औं शताब्दीमा भएको बताए ।

उनी भन्छन्, “पहिले दशैंको बेला भक्तजनहरुको आवतजावत पटक्कै थिएन । पुजारीले नै पूजापाठ गर्थे । पछि विस्तारै स्थानीय युवा क्लबहरुको सक्रियतामा मेला आयोजना हुन थालेदेखि ठूलो संख्यामा महिला र पुरुष दर्शनार्थ आउन थाले । अहिले त दर्शनार्थीको भीड सम्हाल्न मात्रै ५० भन्दा बढी स्वयंसेवक खटाउनुपर्ने हुन्छ ।”