१० वर्षमा सबै नगरपालिका ‘स्मार्ट सीटी’
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तह निर्वाचनका लागि घोषणपत्र सार्वजनिक गरेको छ। राप्रपा अध्यक्ष कमल थापाले बुधबार ललितपुरको हिमालयन होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीको घोषणा पत्र सार्वजनिक गरेका हुन् । राप्रपाको घोषणपत्रमा आगामी १० वर्षमा हरेक नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने महत्वाकांक्षी लक्ष्यसहित, धर्म परिवर्तनमा रोक लगाउने तथा यससम्बन्धि कानुन बनाउने, प्रत्येक स्थानीय तहका कार्यालयमा पृथ्वीनारायण शाहको तस्बिर अनिवार्य राख्न लगाउने देखि गाई पाल्नेलाई विशेष प्रोत्साहन दिनेसम्मका प्रतिबद्धता उल्लेख छन्।
साथै राप्रपाले प्रत्येक नगरपालिकामा सिटी बस, सबै गाउँपालिकामा सार्वजनिक यातायात, हरेक घरमा बिजुली र पानी तथा ५ वर्षभित्र प्रत्येक वडामा मोटरबाटो पुर्याउने विषयलाई पनि घोषणपत्रमा समावेश गरेको छ। त्यसैगरि राप्रपाले गाउँरनगरपालिकाहरुको आफ्नो कूल बजेटको कम्तिमा २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गरिने बताएको छ । स्थानीय तहबाट अनुदान प्राप्त गर्ने विद्यालयहरुमा माध्यामिक तहसम्मको पढाइ निःशुल्क गर्ने उसले बताएको छ ।
राप्रपाले प्रत्येक स्थानीय तहमा कम्तिमा २५ बेडको एक अस्पताल निर्माण गर्ने बताएको छ । गाउँ र नगरपालिकाहरुमा स्वास्थ्य उपचार कोष स्थापन गर्ने र क्यान्सर लागेका एवं मृगौला फेल भएका बिरामीहरुलाई १ लाख औषधोपचार खर्च दिने घोषणा पत्रमा उल्लेख छ । प्रत्येक वडामा २ जना महिला स्वास्थ्य स्वयंसेविका नियुक्त गर्ने, ५ बर्षभित्र सबै नगारिकको स्वास्थ्य वीमा गर्ने र विपन्न परिवारमा जन्मिएका शिशुलाई ५ हजार रुपैयाँ सुपोषण अनुदान दिने उसले बताएको छ ।
घोषणापत्रको पूर्णपाठ










































