“रेडक्रस सबै ठाउँमा, सबैका लागि” (Everywhere for everyone)नाराका साथ आज देशभरि विश्व रेडक्रस दिवस मनाइएको छ ।
नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा झण्डोत्तोलन, लाभग्राहीसँगको अन्तरक्रिया, सफलताको कथा पुस्तक विमोचन लगायतका गतिविधिहरु सहित विशेष कार्यक्रमको आयोजना गरी दिवस मनाइएको छ ।
विश्वका जुनसुकै ठाउँमा रहेर रेडक्रसका १ करोड ४० लाख स्वयंसेवकहरुले पु¥याइ आएकोे विविध मानवीय सेवालाई स्मरण गर्ने र उनीहरुको साहस बढाउने अवसरको रुपमा लिइएको यस दिवसमा नेपाल रेडक्रस सोसाइटीले पनि ऐक्यवद्धता जनाएको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले नेपालका धेरै साना, अत्यन्त दुर्गम गाउँदेखि ठूला शहरका समुदायहरुमै रहेर रेडक्रसका स्वयंसेवकहरुले सेवा पुर्याइरहेको र ती सेवाहरु स्थानीय आवश्यकतामा आधारित तथा स्थानीय परिवेश सुहाउँदो रहेको बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो–“तपाईंहरु प्राकृतिक प्रकोप, स्वास्थ्य समस्या, सशस्त्र संघर्ष र हिंसाका साथ जहाँ, जसरी बसिरहनुभएको भए पनि सहयोगका लागि हामी तपाईंका साथ छौं ।”
आफ्नो समय र विशेषज्ञताका साथ देशभरि सेवा पु¥याउने रेडक्रसका स्वयंसेकहरु रेडक्रसको मेरुदण्ड भएको बताउँदै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले भन्नुभयो “स्वयंसेवकहरुको योगदानको सम्मानका लागि संयुक्त रुपमा धन्यवाद दिन आज अन्तर्राष्ट्रिय रेडक्रस अभियानका निकायहरु एकै ठाउँमा छौं”े ।
रेडक्रसको अन्तराष्ट्रिय समिति (आईसीआरसी) का विनोद काफ्ले र रेडक्रसको अन्तराष्ट्रिय महासंघका प्रतिनिधि लक्ष्मण क्षेत्रीले शुभकामना व्यक्त गर्नुभएको थियो । साझेदार राष्ट्रिय सोसाइटीहरुका तर्फबाट रिचार्ड म्याकेवले भूकम्पमा रेडक्रसले गरेका कार्यको प्रशंसा गर्दै विपद् प्रभावित समुदायको मुहारमा खुशी ल्याउन नेपाल रेडक्रस अग्रसर भएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
सो अवसरमा रेडक्रसका सेवाबाट लाभान्वित व्यक्तिहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । लाभान्वितहरुले रेडक्रसको सेवाबाट आफ्नो मुहारमा खुशी ल्याएको भन्दै धन्यवाद व्यक्त गरेका थिए । रेडक्रसले समुदायमा सञ्चालन गरेका नविन गतिविधिहरुलाई अझ प्रचारप्रसार गर्न यस पटक विश्व रेडक्रस दिवसमा खुशी, सहजता र सन्तुष्टीको विश्वव्यापी संकेत मुस्कान ९क्mष्भि० लाई प्रवद्र्धन गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी विपद्का बेला तत्कालीन उद्धार र राहत, रक्तसञ्चार सेवा, एम्बुलेन्स सेवा, प्राथमिक उपचारलगायत अत्यावश्यकीय सेवाका साथै जीवन रक्षा, स्वास्थ्य प्रवर्धन, संरक्षण, लैङ्गिक समानता तथा समावेशीकरणजस्ता क्षेत्रमा सञ्चालित सेवा र विकासमूलक गतिविधिहरू मार्फत हरेक वर्ष करीव २४ लाख जनता समक्ष पुग्छ । हाम्रा यस्ता ९० भन्दा बढी प्रकारका विकास तथा सेवामूलक गतिविधिहरुले जनतालाई विपद् पूर्वतयारी, विपत्तिको सामना र पुर्नलाभ प्राप्त गर्न सहयोग पुगेको छ ।
रेडक्रस अभियानले हरेक वर्ष विश्वभरि सशस्त्र संघर्ष, प्राकृतिक प्रकोप र अन्य आकस्मिक परिस्थितिमा दशौं लाख प्रभावित जनतालाई सेवा पु¥याइरहेको छ ।
१९० देशका राष्ट्रिय सोसाइटीमा आवद्ध विविध प्रकारका स्वयंसेवकहरु, रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी), रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) ले जीवन रक्षार्थ प्रदान गर्ने सेवा पनि विविध छन् । स्थानीय स्तरका गतिविधिहरु सञ्चालनका लागि आईसीआरसी र आईएफआरसीका साथै विश्वभरिरहेका साझेदार भगिनी राष्ट्रिय सोसाइटीहरु र स्थानीय साझेदारहरुको सहयोग रहन्छ ।
मे ८ तारिखका दिन मनाइने विश्व रेडक्रस तथा रेडक्रिसेण्ट दिवस अभियानका संस्थापक हेनरी ड्युनाको जन्म दिन पारेर मनाइन्छ । रेडक्रस अभियानका प्रवर्तक जँ हेनरी ड्यूनाको १९० वर्षको जन्मजयन्ती आज मनाइदै गर्दा विश्वका १९० वटै देशमा रेडक्रसका निकायहरु रहेको सुखद सँयोग पनि परेको छ ।
बिभिन्न जिल्लाहरुमा दिवस सम्पन्न
दिवसकै सन्दर्भ नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखाहरुले पनि विभिन्न गतिविधि गरेका खबरहरु प्राप्त भएका छन् ।
विश्व रेडक्रस दिवसको उपलक्ष्यमा नर्वेजियन रेडक्रसका युवा प्रतिनिधि र युथ रेडक्रस सर्कल उर्लाबारी बहुमुखी क्याम्पसका युवाहरुद्वारा आजै जनचेतनामूलक ¥याली र हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखाको युवा स्वयंसेवक विनिमय कार्यक्रम अन्तर्गत सञ्चालित सो कार्यक्रम नर्वेजियन युवा प्रतिनिधि थानुसाको नेतृत्व एवं मोरङमा गठित युवा सर्कलको सक्रिय सहभागितामा सम्पन्न भएको हो ।
युवा स्वयंसेवक विनिमय कार्यक्रम अन्तर्गत नर्वेजियन युवा प्रतिनिधिहरु थानुसा र क्यामिलाको नेतृत्वमा सुनसरीका ४१ वटा युवा रेडक्रस सर्कलहरुमा कार्यक्रम सञ्चालन भइरहेको छ । यही कार्यक्रम अन्तर्गत गठित युवा टोलीको सहयोगमा रेडक्रस अभियानसम्बन्धी अभिमुखीकरण, अन्तर्राष्ट्रिय मानवीय कानुनको प्रचारप्रसार, युवा स्वास्थ्य, सांगठनिक विकास र नेतृत्व विकास सम्बन्धी कक्षाहरु सञ्चालन भइरहेको छ । यस कार्यक्रम अन्तर्गत नयाँ युवा सर्कलहरुको गठन, पुनर्गठनका साथै विभिन्न विषयका कक्षाहरु सञ्चालन गरी सर्कलहरुको क्षमता विकासमा सहयोग पु¥याउने कार्य भइरहेको छ ।
रेडक्रस दिवसकै अवसरमा रेडक्रस सुनसरी जिल्ला शाखाले रेडक्रस झण्डोत्तोलन, व्याज वितरण र रेडक्रस सम्बन्धी प्रवचन कार्यक्रमहरुको आयोजना गरिएको जानकारी प्राप्त भएको छ ।
विश्व रेडक्रस दिवसकै अवसरमा आज मोरङ रेडक्रसको आयोजनामा रेडक्रस प्रवचनका साथै चार दिने सामुदायमा आधारित प्राथमिक उपचार तालिम केरौनमा आयोजना गरिएको शाखाका मन्त्री डिल्ली पोखरेलले जानकारी गराउनु भयो ।
यसै उपलक्ष्यमा नेपाल रेडक्रस सोसाइटी बझाङ जिल्ला शाखाले जिल्ला अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।
विश्व रेडक्रस दिवसकै उपलक्ष्यमा सुर्खेत जिल्ला शाखाद्वारा सदरमुकाम बीरेन्द्रनगर–१ बाङगे सिमलमा सरसफाइ कार्यक्रम सञ्चालन गरिनुका साथै स्थानीय सरस्वती प्राथमिक विद्यालयका बालबालिको निःशुल्क दन्त परीक्षण गरिएको छ ।
जिल्ला शाखा भक्तपुरले दिवसको पुर्वसन्ध्यामा सोमबार सुडालमा रेडक्रस परिचायत्मक कार्यक्रम तथा जिविकोपार्जनका लागि दुई सय सात भूकम्प प्रभावित परिवारलाई नगद वितरण गरेको थियो भने रक्तदानमा महिला सहभागिता बढाउने उद्येश्यले महिला मात्रैको रक्तदान कार्यक्रमको आयोजना गरेकोमा ६० जनाले रक्तदान गरेका छन् । भक्तपुर शाखाले दिवसका अवसरमा आज जिल्ला शाखा पदाधिकारी, कर्मचारी र उपशाखाका पदाधिकारी विच फुटबल प्रतियोगिता सम्पन्न गरेको छ ।
दिवसका अवसरमा ललितपुर जिल्ला शाखाले उपशाखाहरुलाई स्ट्रेचर वितरण तथा जुनियर सर्कल स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ ।
जिल्ला शाखा काठमाडौंले स्टेशनरी वितरण, जुनियर र युवा सर्कल तर्फ बक्तृत्वकला प्रतियोगीता र महिला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।







































