काठमाडौ । सरकारले अघि सारेको समृद्ध, नेपाल सुखी नेपालको नारालाई पूर्णता दिने उद्देश्यसहित आयोजना गर्न लागेको नेपाल लगानी सम्मेलनमा सरकारले ६४ करोडदेखि साढे तीन खर्बसम्मका विभिन्न परियोजना प्रस्तुत गर्दैछ ।
पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, काठमाडौं पोखरा रेलमार्ग, काठमाडौं मेट्रो रेलदेखि भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय प्रसूति अस्पताललगायतका परियोजना प्रस्तुत गर्ने सरकारको तयारी छ । त्यस्तै त्रिशूली गल्छी, मध्यकाली गण्डकी, इन्गवा खोला, माथिल्लो चमेलिया, म्याग्दी खोलाजस्ता आयोजनासमेत सम्मेलनका आकर्षणका रूपमा रहने लगानी बोर्डले जनाएको छ । बोर्डका अनुसार ४० देशका ६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहने सम्मेलनमा ६६ आयोजनाका सूची प्रस्तुत गरेर लगानीका लागि आकर्षित गर्नेे तयारी छ ।
सम्मेलनमा ऊर्जा, भौतिक पूर्वाधार, कृषि, सूचना प्रविधि, औद्योगिक, शिक्षा र स्वास्थ्य, पर्यटनलगायत क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ । मुलुकको समृद्धिको प्रमुख आधारका रूपमा रहेको ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखी आठ ठूला परियोजना पनि छनोट गरिएको छ । त्यसमा नलगाड जलविद्युत् आयोजना, एआर–६, सुनकोशी दोस्रो र तेस्रो, तमोर जलाशयुक्त आयोजना, पश्चिम सेती, तल्लो अरुण, पश्चिम सेती र एसआर–६ संयुक्त प्रमुख आयोजनाका रूपमा रहेका छन् । आयोजक नेपाल बोर्डका अनुसार ३१ खर्ब बराबरको परियोजनाको सूची टुंगो लागेको छ । सम्मेलनमा लगानी बोर्डले हाल निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशीको पछिल्लो अवस्था र निर्माणको क्रममा रहेको बूढीगण्डकी जलाशयुक्त आयोजनाका बारेमा पनि जानकारी गराउनेछ । सम्मेलन उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
प्रधानमन्त्री ओलीले सोमबार संघीय संसद् भवनमा नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै लगानी सम्मेलन उत्साहजनकरूपमा सम्पन्न हुने र अपेक्षाअनुसार नै लगानी भित्रिने विश्वास व्यक्त गरेका थिए ।
लगानी सम्मेलनलाई लक्षित गरी सरकारले विभिन्न ऐनहरू जारी गरेको छ । सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, विशेष आर्थिक क्षेत्र ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसदले पारित गरिसकेको छ ।
लगानी सम्मेलनमा सबैभन्दा बढी सहभागी चीनबाट हुने भएका छन् । सम्मेलनमा विदेश र स्वदेशका गरेर ६ सयभन्दा बढीको सहभागिता रहने बोर्डले जनाएको छ । विभिन्न ३८ मुलुकका लगानीकर्ताले सहभागिताका लागि प्रतिबद्धता जनाइसकेका छन् । चीनबाट सबैभन्दा २०९ जना लगानीकर्ता आउनेछन् भने भारतबाट ११० जनाको सहभागिता रहनेछ । नेपालबाट ४९, म्यानमारबाट २८ जनाको सहभागिता रहनेछ । त्यस्तै जापानबाट २०, दक्षिण कोरियाबाट १५, ओमानबाट १३, अमेरिकाबाट ११, श्रीलंकाबाट १०, क्यानडाबाट ९, बेलायतबाट ९ र मलेसियाबाट ९, सिंगापुरबाट ९ जना र अन्य मुलुकबाट ६५ जना सहभागी हुने निश्चित भइसकेको छ ।
अघिल्लोे लगानी सम्मेलनमा पनि सबैभन्दा बढी चिनीया लगानीकर्ता नै सहभागिता जनाएका थिए । शुक्रबार काठमाडौंमा सुरु हुने दुईदिने लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
त्यसो त अघिल्लो अघिल्लो लगानी सम्मेलनमा विभिन्न मुलुकका लगानीकर्ताले १३ खर्बभन्दा बढीको लगानी गर्ने आसय व्यक्त गरेकोमा हाल २ खर्ब ९७ अर्ब रुपैंयाँका चार वटा आयोजनामात्रै अघि बढेका छन् । आसय व्यक्त गरिएकोमध्ये २५ प्रतिशत लगानी प्रक्रियामा आएको लगानी बोर्डका प्रवक्ता बलराम रिजालले बताएका छन् । प्रक्रियामा रहेकाचारवटै आयोजना उर्जासँग सम्बन्धित छन् ।
Related