लामोसाँघु–मुडे सडकखण्ड १५ दिनभित्र मर्मत गर्न कृषि समितिको निर्देशन

250

काठमाडौं– प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गतको लामोसाँघु–मुडे सडकखण्ड मर्मत कार्य १५ दिनभित्र सम्पन्न गरिसक्न सरकारलाई निर्देशन दिएको छ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण सामग्री ढुवानी सहज हुनेगरी लामोसाँघु–मुडे सडकखण्डको मर्मतसम्भार कार्य १५ दिनभित्र सम्पन्न गरिसक्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो। 

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काममा कठिनाइ आएपछि सो सडकखण्ड मर्मतको काम १५ दिनभित्र गरिसक्न सरकारलाई सचेत गराउनु परेको समितिकी सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिइन्।

समितिले सो सडकखण्डको हालसम्मको कामको सम्पूर्ण विवरण ५ दिनभित्र समितिमा पेस गर्न पनि सरकारलाई निर्देश गरेको छ। बैठकमा समितिकी सदस्य शान्तिमाया तामाङले सो सडकखण्ड तत्काल मर्मतसम्भार गरी माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण सामग्री ढुवानीलाई सहज बनाउन सरकारसँग माग गरेही थिइन्। 

उक्त सडकखण्डको निर्माण कार्य समयमै सम्पन्न हुन नसक्दा यात्रुहरुले समेत सास्ती व्यहोर्नु परिरहेको छ।

Source link