भक्तपुर
नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले एमाले र माओवादी केन्द्रबीचको एकता सैद्धान्तिक नभई भागबन्डाका आधारमा भएको आरोप लगाएका छन् । ‘एकता केबल हात्तीको देखाउने दाँतमै सीमित हुनेछ,’ भक्तपुरमा शुक्रबार आयोजित कार्यक्रममा बिजुक्छेले भने, ‘दुई पार्टीको एकता हेर्दा सैद्धान्तिकभन्दा पनि भागबन्डामा र सत्ता साझेदारको करारनामामा केन्द्रित भएकाले दीर्घकालीन देखि“दैन ।’
एकताक्रममा एसियाको ठूलो कम्युनिस्ट पार्टीका रूपमा व्याख्या गर्नुुलाई उनले ‘रुसको कम्युनिस्ट पार्टी संख्यात्मक रूपमा संसारकै ठूलो भए पनि सैद्धान्तिक पाटो आत्मसात गर्न नसक्दा भएको हविगत अहिले उदाएका नवकम्युनिस्टले भुल्न नहुने’ व्यंग्यसमेत कसे ।
‘विगतमा सरकार प्रमुखले भारत गएर देशका नदीनाला बेच्ने गरे पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल बोलाएर अरुण तेस्रोको साँचो हस्तान्तरण गर्दै वर्तमान सरकाले आफू कति राष्ट्रवादी भन्ने प्रस्टाएको छ,’ नेता बिजुक्छेले भने, ‘मोदीको नेपाल भ्रमणले उपलब्धिमूलकभन्दा पनि आर्थिक व्ययभार थप्ने काम गरेको छ ।’
वाम एकता भारतको नै इसारामा भएको आरोप लगाउ“दै उनले यो एकता भारतका लागि काम गर्ने ‘नयाँ ट्रोजन हर्स’ नै साबित हुने दाबी पनि गरे । ‘ट्रोजन हर्स’ भएकै कारण उनीहरू सम्पूर्ण सत्ता कब्जा गर्दै आफ्नो मालिकको सेवा गर्न तल्लीन हुने उनको धारणा छ ।
‘पञ्चायतले ३० वर्ष शासन गर्दा देश र जनताको हितमा काम गर्न नसकेजस्तै वर्तमान सरकारले पाँचै वर्ष सत्ता चलाए पनि कुनै उपलब्धि हासिल गर्न सक्दैन,’ बिजुक्छेले भने, ‘आफ्ना कार्यकर्तामात्र पोषण गर्ने परिपाटीले नै पञ्चायतको शासनजस्तै यो सरकार रहेको प्रस्ट देखिएको छ ।’







































