काठमाडौं । नेपाली सेनाले आठ महिनाअघि रोकिएको सैन्य सामाग्री खरिद गर्न हिमालय बैकमा प्रतित पत्र (एलसी) खोलेको छ । सैनिक उच्च स्रोतले दिएको जानकारी अनुसार चीनबाट २६ वटा एपीसी खरिद गर्न गत साता एलसी खोलेको छ ।
कल्याणकारी कोषबाट सेनाले ३३ मिलियन अमेरिकन डलर करीब ४ अर्ब ४२ करोड रकम बराबरको एपीसी र सैनिक सामग्री खरिद गर्ने निर्णय गरेको थियो । शेरबहादुर देउवा प्रधानमन्त्री हुदा नै सैन्य सामाग्री खरिदको निर्णय भएको थियो । तर आठ महिना अघि चिनियाँ कम्पनी नर्थ इन्डस्ट्रिज कर्पोरेसन (नोरिन्को)बाट सामान खरिद गर्ने तयारी गरेको थियो ।
संयुुक्त राष्ट्रसंघले सो कम्पनीका सैन्य सामाग्री शान्ति मिसनका लागि खरिद गर्न रोक लगाएपनि नेपाली सेनाले आठ महिनाअघि खरिद गर्न हिमालयन बैकमा एलसी खोल्न खोज्दा रोकिएको थियो । तर अहिले सोही बैकले एलसी खोल्न तयार भएपछि सैन्य सामाग्री खरिद गर्ने प्रकृया अघि बढेको हो । सेनाले ४ अर्ब बराबरको सैनिक सामग्रीका लागि ५ वटा एलसी सोमबार खोलेको हो । जसमा २ वटा एलसी राष्ट्र बैंकको स्वीकृतिको चरणमा छ । सेनाले चीनको नोरिन्कोबाट २६ वटा एपीसी र सैनिक सामग्री खरिद गर्न लागेको छ । सेनाले एपीसी र एम्युनिसन प्लान्ट समेत चीनबाट खरिदको तयारीको लागि प्रक्रिया अघि बढाइसकेको स्रोतको दावी छ ।
सेनाले भारतबाट समेत ४ वटा महेन्द्रा कम्पनीको एपीसीको एलसी खोलिसकेको छ । त्यसका साथै थप १२ वटा एचएमएलटी, ५.५६ को गोली, केस कप्स, वुलेट कप्स, बक्सर प्राइमर (१२०३), डबल बेस प्रोपेलान्ट लगायत भारतीय कम्पनी एमआईएललाई दिएको छ ।
सन् २०१९ मा केन्यामा भएको एक घटनामा विद्रोही पक्षले हमला गर्दा राष्ट्रसंघीय मिसनमा खटिएका पाँच सैनिकको मृत्यु भएको थियो । चीनको सोही कम्पनीबाट खरिद गरिएको र गुणस्तर कमजोर भएको एपिसीका कारण शान्ति मिसनमा खटिएका सैनिकको मृत्यु भएको दाबी स्रोतको छ । सेनाले यस्तो विवादित कम्पनीबाट प्रतिस्पर्धाबिनै हतियार खरिद गर्न लागेको हो । सैन्य सामग्री खरिद प्रक्रिया जिटुजीअन्तर्गत हुने दाबी सेनाको छ । सामान खरिदका लागि चिनियाँ कम्पनी नोरिन्कोले नेपाली एजेन्टसमेत तयार पारेको स्रोतले जनाएको छ ।
चीनबाट सामान आउने भएपछि नेपाली प्रतिनिधिका रूपमा राजकुमार नाइडु नामका व्यापारी त्यसको एजेन्ट रहेका छन् । एजेन्ट तय गर्नकै लागि नोरिन्कोको प्रतिनिधिमण्डल दुईपटक काठमाडौं आएर सेनालाई सामान पठाउन राजी भएको थियो ।








































