श्वेत भैरवको मुखबाट जाँडको धारा, २२ फोटोमा हेर्नुस् प्रसाद पिउन महिलाको तँछाड मछाड :: PahiloPost

370

उपत्यकामा उल्लासका साथ एक साता मनाइने इन्द्रजात्राको अवसरमा एक दिन हनुमानढोकामा रहेको हाथुद्यः (श्वेत भैरव) को मुखबाट निस्कने प्रसाद (जाँड) र समयबजी महिलालाई मात्र खुवाइन्छ। यसलाई स्थानीय भाषामा हाथु हायेकेगु भनिन्छ। बुधबार राति प्रसादका लागि ठूलो संख्यामा महिला उपस्थित थिए। काठमाडौँ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीको उपस्थितिमा श्वेत भैरवको विशाल मूर्तिको मुखबाट जोडिएको पाइपबाट जाँडको धारा बगाइएको थियो।

झण्डै १५ फिट अग्लो अनुहारमात्रै भएको हाथु द्यःलाई नेपालकै सबैभन्दा अनुहार ठूलो भएको देउताको मूर्तिका रुपमा पनि लिइन्छ। खासमा यो सेतो पत्थरले बनेको मूर्ति हो। अहिले भने यसलाई सुनले मोडिएको छ। राजा रणबहादुर शाहले यो मूर्तिमा सुनले मोड्‌न लगाएका हुन्। ध्यानले हेर्ने हो भने यसको भित्र रहेको पत्थरको मूर्ति देख्न सकिन्छ।

यो मूर्तिलाई इन्द्रजात्रामा मात्रै सार्वजनिक प्रदर्शन गरिन्छ। अरु बेला भने स-सानो प्वाल भएको काठको ढोकाले छोपेर राखिन्छ। यो देवताको मूर्तिको मुखबाट इन्द्रजात्राका आठै दिन जाँडको प्रसाद मुखबाट निकालिएको पाइपबाट बगाएर बाँडिन्छ। यसलाई नेपालभाषामा हाथु हायेकिगु भनिन्छ। इन्द्रजात्राको पूर्णिमाको भोलिपल्ट महिलामात्रलाई पनि यसमा सहभागी गराइन्छ। 

 

Source link