सर्वाेच्चद्वारा नेपाल स्काउटको नयाँकार्यसमिति विरुद्धको अन्तरिम आदेश खारेज

958

काठमाडौं । सर्वाेच्च अदालतले युवा तथा खेलकूद मन्त्रालयद्वारा ६ भदौमा चन्दन कौशिकको अध्यक्षतामा बनाएको नेपाल स्काउटको १३ सदस्यीय नयाँ तदर्थ कार्यसमिति विरुद्ध परेको अन्तरिम आदेश आइतबार खारेज गरेको छ ।
सर्वाेच्च अदालतका न्यायधिशद्वय ओमप्रकाश मिश्र र अनिलकुमार सिन्हाको संयुक्त इजलाशले अन्तरिम आदेश खारेज गरेको हो ।
युवा तथा खेलकूद मन्त्रालयले नेपाल स्काउटका तत्कालिन प्रमुख आयुक्त रविन दाहालको नेतृत्वमा रहेको पुरानो कार्यसमिति गैरकानूनी रहेको उल्लेख गर्दै त्यसलाई विघटन गरि धनुषा जिल्ला स्काउटका अध्यक्ष चन्दन कौशिकको अध्यक्षतामा तदर्थ कार्यसमिति गठन गरेको थियो ।
सर्वाेच्चले अन्तरिम आदेश खारेज गरेसंगै युवा तथा खेलकूद मन्त्रालयद्वारा ६ भदौमा गठित नयाँ तदर्थ कार्यसमितिले सोमबारदेखि नै नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा गएर आफ्नो काम शुरु गरिसकेको छ ।
नयाँ तदर्थ कार्यसमिति गठन गर्ने युवा तथा खेलकूद मन्त्रालय विरुद्ध तत्कालिन प्रमुख आयुक्त रविन दाहाल, सचिव लोकबहादुर भण्डारी लगायतले ९ भदौमा सर्वाेच्च अदालतमा नयाँ तदर्थ कार्यसमिति भंग गरी पुरानै कार्यसमितिलाई कायम राख्न रिट निवेदन दर्ता गरेका थिए ।
सो रिटमाथि तत्कालिन न्यायधिश केदार चालिसेको एकल इजलाशले मुद्धाको किनारा नलागेसम्म पुरानो कार्यसमिति भंग नगर्न र सोही कार्यसमितिलाई काम गर्न दिनु भनेर युवा तथा खेलकूद मन्त्रालयको नाउँमा अन्तरिम आदेश दिएको थियो ।
युवा तथा खेलकूदमन्त्री एवम् नेपाल स्काउटका प्रमुख स्काउट राजेन्द्रकुमार केसीको अध्यक्षतामा ६ भदौमा बसेको मन्त्रीस्तरीय वैठकले जिल्ला आयुक्त कौशिकको संयोजकत्वमा केन्द्रीय तदर्थ समिति गठन गरी नेपाल स्काउटको ऐन र नियमावली अनुसार नयाँ राष्ट्रिय परिषद र केन्द्रीय कार्यकारी समितिगठन नभएसम्मका लागि काम गर्ने गरि नयाँ जिम्मेवारी तोकेको छ । तदर्थ समितिले १ वर्षभित्र राष्ट्रिय परिषद र केन्द्रीय कार्यकारी समितिको निर्वाचन गराउने गरि गठन गरिएको थियो ।


तर्दथ समितिमा झापाका शिव पौडेल, सुर्खेतका पार्वती गिरी, भक्तपुरका पुण्यराम गोथे, ललितपुरका केशव महर्जन, काठमाडौंका दिपेश केसी, जयराम कार्की र गौतम अधिकारी, सिन्धुपाल्चोकका देवदूत अधिकारी, चितवनका मनोज जंग रायमाझि, प्युठानका रामप्रसादशर्मा, धनुषाका रामकुमार भण्डारी र कास्कीका गोमा घिमिरे पौडेल रहेका थिए । तदर्थ समितिको सल्लाहकारमा काठमाडौंका डा.रविन्द्रप्रसाद पाण्डे थिए । डा.पाण्डे यसअघि नेपाल स्काउटको अन्तर्राष्ट्रिय आयुक्त थिए ।
मन्त्रीस्तरको निर्णयअनुसार गठन भएको नयाँ तदर्थ कार्यसमितिका पदाधिकारीहरुले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा गएर पद वहाली गरेको तीन दिन पनि बित्न नपाउँदै सर्वाेच्चद्वारा अन्तरिम आदेश जारी गरेकोेले नयाँ पदाधिकारीहरु फिर्ता भएका थिए ।