सलमान खानलाई नेपाल ल्याउने भनेर ठगी गरेको आरोपमा दुई पक्राउ

576

काठमाडौं– बलिउड अभिनेता सलमान खानलाई नेपाल ल्याउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। ओडिसी इन्टरटेनमेन्टका सञ्चालक सिमान्त गुरुङ र मेनेजर रविन केसीलाई महानगरीय अपराध महाशाखाले शुक्रबार पक्राउ गरेको हो।

उनीहरुले सलमान खानलाई नेपाल ल्याउने भन्दै टिकट बिक्री गरेका थिए। तर, उनीहरुले सलमानलाई नेपाल ल्याउन सकेका छैनन्। टिकट बेचेर पनि सलमानलाई नल्याएको भन्दै पीडितहरुले उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए।

एसएसपी सिंहका अनुसार उनीहरुले सर्वसाधरण, प्रायोजक र टिकटका होलसेल विक्रेतालाई ठगी गरेका छन्। टिकट किनेका तीन जनाले प्रहरीमा उजुरी दिएका हुन्।

प्रायोजक र टिकट विक्रेताले पनि उजुरी दिने बताएका छन्।

सलमान गत फागुन २६ मा नेपाल आउने बताइएको थियो। तर, कार्यक्रम रद्द भएको थियो। पछि जेठ १२ मा ल्याउने बताइएको थियो। तर, उनीहरुले सलमानलाई ल्याउन सकेनन्। सलमानलाई ल्याएर कार्यक्रम गर्ने भन्दै झुलाइएपछि पीडितहरु प्रहरीमा पुगेका हुन्।

पक्राउ परेका दुवैलाई प्रहरीले ठगी मुद्दामा कारबाही अघि बढाएको छ।