‘दुर्घटनापछि तत्काल प्रहरीको सम्पर्कमा आउनु’ : डिएसपि काफ्ले
बलराम प्यासी ।
काठमाडौं । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सवारी दुर्घटना न्यूनिकरण तथा रोकथामको लागि सोमबार प्रहरीले सवारीधनी, चालक र सहचालकलाई सहभागी गराई ट्राफिक जनचेतनासम्वन्धि प्रशिक्षण सञ्चालन गरेको छ ।
महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर, महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वर तथा सामुदायीक प्रहरी सेवा केन्द्र १०, ३१ र ३२ द्वारा संयुक्तरुपमा आयोजित सो कार्यक्रममा ठुला सवारी साधानहरु ट्रक, बस, मिनीट्रक र टाटा मोवाइलका सवारीधनी तथा चालक र सहचालकहरुको सहभागिता थियो ।
प्रशिक्षण कार्यक्रममा बोल्दै महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले धेरैजसो सडक दुर्घटना भएपछि चालक फरार हुने गरेकोले पीडितको उपचारदेखि अनुसन्धानमा समेत अप्ठेरो पर्ने भएकोले सवारी दुर्घटनापछि चालक तत्काल प्रहरीको सम्पर्कमा आउनुपर्ने बताए ।
सवारीधनीले आफ्नो सवारी साधन अरुलाई विक्री गर्दा कानुनी प्रकृया नपुर्याई आन्तरिक सहमतिको कागजबाट विक्री गर्ने गरेकोले सवारी दुर्घटना हुँदा शुरुको सवारीधनी पक्राउ पर्ने गरेको बताउँदै डिएसपि काफ्लेले सवारी साधन विक्री गर्दा यातायात व्यवस्था कार्यालयमै गएर विधिवत् नामसारी गर्न सवारीधनीलाई सुझाव दिए ।
सानो आर्थिक प्रलोभनमा परि आफ्नो सवारीसाधनमा कानूनले प्रतिवन्ध गरेका सामानहरु ढुवानी नगर्न र यौनव्यवसायसंग तथा मानव तस्करी गर्ने उद्धेश्यले वालवालिका र महिलाहरु ओसारपसार नगर्न पनि डिएसपि काफ्ले सवारी धनी र चालकहरुलाई सुझाए ।
सडक दुर्घटनामा कानूनतः जहिलेपनि ठुला सवारीसाधनको गल्ती देखिने हुँदा आफ्नो गल्ती नभएपनि साना सवारीबाट जोगिन काफ्लेले ठुला सवारीसाधनका चालकहरुलाई सुझाव दिए ।
महानगरीय ट्राफिक प्रहरी महाशाका प्रहरी नायव उपरिक्षक प्रभु ढकालले सवारी साधनको अवस्था राम्रो भएमा सवारी दुर्घटना कम हुने भएकोले सवारी साधनको अवस्था राम्रो बनाउन चालक र सवारीधनीको पहिलो जिम्मेवारी भएको बताए ।
आफ्नो दैनिक जीवन सवारी साधनमै जोडिएको छ भने सवारी साधनको अवस्था राम्रो राख्न चालकले सवारीधनीलाई घच्घच्याईराख्नुपर्ने कुरामा जोड दिँदै डिएसपि ढकालले चालकहरुलाई मादक पदार्थ सेवन गरेर र गलत लेनमा कहिल्यैपनि सवारी नचलाउन सुझाए ।
सवारी साधन र सडकको अवस्था, चालकले लेन अनुशासन कायम नगर्नु, मादक पदार्थ सेवन गरेर तीव्र गतीमा सवारी चलाउनु नै अधिकाँश सडक दुर्घटनाको कारण भएको पनि डिएसपि ढकालले बताए ।
महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक भगिरथ रेग्मीले नयाँबानेश्वरदेखि कोटेश्वर, जडिबुटी, बालकुमारी लगायतका क्षेत्रमा सडक दुर्घटनाको पछिल्लो तथ्यांक प्रस्तुत गर्दै मादक पर्दाथ सेवन नगरी, लेन अनुशासन कायम गर्दै सवारी चलाउन चालकलाई आग्रह गरे ।
निरीक्षक रेग्मीले नेपालमा सवारी यातायात ऐनदेखि सवारी दुर्घटनासम्मका विवरण पनि प्रशिक्षण कार्यक्रममा प्रस्तुत गरेका थिए ।







































