काठमाडौं – श्रावण भगवान् शिवको महिना हो । अनि सोमवार उहाँको प्रिय वार हो । शिवपुराणमा वर्णन गरिएअनुसार, शिव परमब्रह्म हुनुहुन्छ ।
वेदमा परमात्माको कल्पना एक विशाल ऊर्जास्तम्भका रूपमा गरिएको छ जसको आदि र अन्त्य ब्रह्मा र विष्णुले खोज्ने प्रयास गर्नुहुन्छ अनि असफल भएर ऊर्जास्तम्भसमक्ष नतमस्तक हुनुहुन्छ ।
शिव एक रहस्यमय देव हुनुहुन्छ । एक विराट शून्य झैं समग्र विरोधाभास शिवमा विलीन हुन्छ । प्रलयकालमा समग्र सृष्टि जसमा विलय हुन्छ र फेरि जसबाट उत्पन्न उहाँ नै शिव हुनुहुन्छ ।
निर्माणका लागि असाधारण ऊर्जा चाहिन्छ । विज्ञानअनुसार, सृष्टि एक प्रचण्ड विस्फोटबाट शुरू भएको हो । हामी सबै ऊर्जाकै मूर्त रूप हौं । सबैमा ऊर्जाको प्रवाह छ । जहाँ ऊर्जा उत्पन्न हुन्छ, त्यसको प्रवाह मास्तिर नै हुन्छ । हवन कुण्डको प्रचण्ड शिखामा शिवलिंगको प्रतीक देखिन्छ ।
कुनै पनि ऊर्जालाई माथि उठ्नका लागि आधार शिवले नै दिनुहुन्छ । शिव र शक्तिको संयोगको प्रतीक शिवलिंग हो ।
स्कन्द पुराणका अनुसार, आकाश स्वयं लिंग हो र धर्ती उसको पीठ वा आधार । लिंगको अर्थ प्रतीक हो र शिव कल्याणको द्योतक हुनुहुन्छ । सबैका प्रति कल्याणको यो भाव सर्वे भवन्तु सुखिनः को मूलभूत सिद्धान्त छ । जुन चेतनामा यो भाव
उदय हुन्छ, त्यसमा नै ज्ञानको ज्योति बल्छ । शिवलिंगको अभिषेकले उक्त ज्ञानज्योतिलाई प्रज्वलित गर्छ त्यसैले पनि ज्योतिर्लिंग भनिन्छ ।
वेदमा शिवोsहम् को नाद बारम्बार हुन्छ । शिव तपाईंमा निहित हुनुहुन्छ र तपाईंलाई त्यो कुरा थाहा छैन ।
आदिकालदेखि मानिस एक प्रश्न सोधिरहेको छ – म को हुँ ? यो प्रश्नको उत्तरमा ब्रह्मज्ञानको जिज्ञासा आरम्भ हुन्छ किनकि मनुष्यको परिभाषा मन, बुद्धि, चित्त र अहंकारमा सीमित छैन । उसको पहिचान पञ्चतत्त्वबाट सम्भव छैन । उसको एक मात्र पहिचान शिव हो ।
शिवलिंगको अभिषेक वस्तुतः शुष्क मनको अभिषेक हो । शुष्क मनलाई सरस बनाउने प्रयास हो अभिषेक । शिवलिंगको अभिषेक परमब्रह्मबाट जीवनमा रस, स्निग्धता र आरोग्यलाई कायम राख्ने आह्वान हो ।
शिवको झुकाव वैराग्यप्रति छ तर सृष्टि अनुरागबाट चल्छ । स्वयं आफूमा हेर्नुस् – मन उदासीन हुँदा प्रयासहरू पनि अधुरा रहन्छन् । पूर्ण उत्साहका गरिएको कार्य पूर्ण हुन्छ ।
शिवलिंगलाई प्रेमजलले अभिषेक गर्दा भक्तको जीवनमा यही प्रेम फल्छ अनि त्यही क्षण ज्ञानज्योतिको दर्शन हुन्छ ।






































